संसदमा झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार– आफ्नै वाचा र जनभावना वमोजिम स्पष्ट राजनीतिक दृष्टिकोणकासाथ अगाडी बढ्नु पर्नेमा दिशाहिन हुँदै गएको छ ।

काठमाडौं ८ साउन ।
नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशी गर्दे नेपाली कांग्रेस पार्टी विभाजनको संघारमा पुग्नुका पछाडि समयमै १५ औ महाधिवेशन सम्पन्न नगर्ने नेतृत्व र निर्वाचनको मुखमा विशेष अधिवेशनको ब्यूह रचना कार्यकतालाई विभाजित गरेर चुनावमा जान वाध्य बनाउनेहरु भएको निचोड निकालेको छ ।
अभियानका संयोजक शंकर भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘ पार्टीको नेतृत्व एवम् कार्यकर्ता पङ्तिलाई एकतावद्ध वनाएर विधानले तोकेको समय भित्र पार्टीको १५ औं महाधिवेशन गर्न असफल हुने तत्कालिन नेतृत्व र संसदीय निर्वाचनको मुखमा पार्टी विधानको अक्षर र भावना विपरित विशेष महाधिवेशनको व्युह रचना गरेर कार्यकर्तालाई विभाजित गरेर निर्वाचन जान वाध्य वनाउने वर्तमान नेतृत्व दुवैको कारण पार्टी विभाजनको डिलमा उभिएको हो भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’
विज्ञप्तिमा भनिएको छ ‘ नेपाली कांग्रेसको एकताको आधार राजनीतिक रोड करेक्सन मात्र हो । राजनीतिक रोड करेक्सन वा मार्ग परिवर्तन पार्टीको आफ्नो स्थापनाकालिन सिद्धान्त र राजनीतिक अडान, बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य–उपदेश र आफ्ना महान संस्थापकहरू सर्वोच्चनेता गणेशमान सिंह, सुवर्ण शम्शेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय आदिले समातेको राजनीतिक मार्गलाई पछ्याउँदै, सबैको धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्दै बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्रको राजनीतिक अडानसहित मौलिक नेपाली सांस्कृतिक राष्ट्रवादको सैद्धान्तिक आधारमा सबैको धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्दै वौद्ध, वोन, किराँत, लिम्बु सहितको ॐकार परिवारको भावनाको कदर गर्दै (वैदिक) सनातन (हिन्दू) राष्ट्र नेपाल स्थापनाले मात्र राष्ट्रियता वलियो भई देशको भविष्य सुनिश्चित हुन सक्छ भन्ने हाम्रो ठहर छ ।’

अभियानले वर्तमान रास्वपा सरकार दिशाहीन हुँदै गरेकोमा चिन्ता व्यक्त गर्दे गरेको छ । ‘बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले केही आशा केही निराशा, केही सफलता केही असफलता अनि केही त्रास र आशङ्का बीच हालै सय दिन पुरा गरेको छ । संसदमा झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार– आफ्नै वाचा र जनभावना वमोजिम स्पष्ट राजनीतिक दृष्टिकोणकासाथ अगाडी बढ्नु पर्नेमा दिशाहिन हुँदै गएको छ ’ विज्ञप्तिमा भनिएको छ ‘सरकारको असफलता निश्चयः नै देशका लागि सुखद् हुने छैन । राष्ट्रिय हितलाई विशेष ख्याल गर्दै मानव अधिकार र प्रजातान्त्रिक मूल्यको सम्मान र सुशासन कायम राख्दै जनताको सेवा सुविधामा विशेष ध्यान दिएर परिपक्व काम गर्न हामी सरकारलाई हार्दिक आग्रह गर्दछौं ।’

अभियानको प्रेस वक्तव्य (पूर्णपाठ)

(१) बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले केही आशा केही निराशा, केही सफलता केही असफलता अनि केही त्रास र आशङ्का बीच हालै सय दिन पुरा गरेको छ । संसदमा झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार– आफ्नै वाचा र जनभावना वमोजिम स्पष्ट राजनीतिक दृष्टिकोणकासाथ अगाडी बढ्नु पर्नेमा दिशाहिन हुँदै गएको छ । सरकारको असफलता निश्चयः नै देशका लागि सुखद् हुने छैन । राष्ट्रिय हितलाई विशेष ख्याल गर्दै मानव अधिकार र प्रजातान्त्रिक मूल्यको सम्मान र सुशासन कायम राख्दै जनताको सेवा सुविधामा विशेष ध्यान दिएर परिपक्व काम गर्न हामी सरकारलाई हार्दिक आग्रह गर्दछौं ।
(२) नेपालको प्रजातान्त्रिक क्रान्ति र आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको सर्वथा महत्वपूर्ण र उच्चतम स्थान रहेको अकाट्य हो । यस्तो ऐतिहासिक राष्ट्रवादी प्रजातान्त्रिक दल नेपाली कांग्रेस, आज खराव नीति र अकर्मण्य एवम् कमजोर नेतृत्वको कारण विभाजनको डिलमा आइपुगेको देख्दा हामी अत्यन्त नै दुःिखत भएका छौं । स्पष्ट राजनीतिक विचार र दृष्टिकोणको साथ पार्टीलाई एकतावद्ध वनाउने र संभावित विभाजनबाट रोक्ने कारगर प्रयास नेतृत्व तहबाट नदेखिनु थप निराशाको विषय हो । पार्टीको पछिल्ला नेतृत्वको अक्षमता र असफलताले मात्र नेपाली कांग्रेस आजको कठिन एवम् यो दयनीय अवस्थामा आइपुगेको होइन । विशेष गरेर १२ वुँदे साझा समझदारी यता पार्टीले अवलम्वन गरेको नीति र सत्ता केन्द्रित सम्झौताको राजनीतिले नेपाली कांग्रेस आजको दुर्भाग्यको अवस्थामा आइपुगेको हो । पार्टीको नेतृत्व एवम् कार्यकर्ता पङ्तिलाई एकतावद्ध वनाएर विधानले तोकेको समय भित्र पार्टीको १५ औं महाधिवेशन गर्न असफल हुने तत्कालिन नेतृत्व र संसदीय निर्वाचनको मुखमा पार्टी विधानको अक्षर र भावना विपरित विशेष महाधिवेशनको व्युह रचना गरेर कार्यकर्तालाई विभाजित गरेर निर्वाचन जान वाध्य वनाउने वर्तमान नेतृत्व दुवैको कारण पार्टी विभाजनको डिलमा उभिएको हो भन्ने हाम्रो निष्कर्ष रहेको छ ।
(३) पार्टी पुराना नेताको अनुहार लिएर चुनावमा जान सक्दैन भनेर पार्टीको विवादास्पद विशेष महाधिवेशनबाट नेतृत्वमा आए पछि सय पारको नारा सहित भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर चुनावमा जाँदा समेत पार्टीले इतिहासमा सबै भन्दा लज्जास्पद पराजय भोग्न विवश भयो किन ? १२ बुँदे समझदारी यता आफ्ना मौलिक सिद्धान्त र राजनीतिक अडान विपरित पार्टी साम्यवादी दलहरूसंगको अस्वाभाविक निकटताले जनतामा पार्टीको छवि धुमिल वन्दै गएको हामीले पत्तो नै पाएनौं किन ? सत्ता केन्द्रित नेतृत्वले यी प्रश्नको जवाफ खोज्न र आत्म समीक्षा गर्न कहिल्यै आवश्यक ठानेन । जवसम्म पार्टी यो दुरावस्थामा किन र कसरी पुग्यो ? त्यसको गहिराईसम्म पुगेर जनताले के कारणले नेपाली कांग्रेसलाई यति निर्मम ढङ्गले दण्डित गरे, त्यसको इमान्दार आत्मसमीक्षा गरी सही राजनीतिक दिशा पक्रन सक्दैनौं त्यस वेलासम्म नेपाली कांग्रेसले इतिहासको आफ्नो त्यो गौरवशाली स्थान पुनः प्राप्त गर्न संभव छैन । नेपाली कांग्रेसले १२ वुँदे साझा समझदारी, शान्ति प्रक्रिया, संविधान सभा निर्वाचन र संविधान निर्माणको चरणमा पार्टीबाट भएका भुलहरूलाई स्वीकार गरेर राजनीतिक रोड करेक्सन गर्न तयार नभएसम्म राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको गुमेको साख र औचित्य पुनःस्थापित हुन सक्दैन । जनभावना र पार्टीको आफ्नो सिद्धान्त र राजनीतिक अडान विपरित संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, निर्वाचन प्रणाली लगायतको मुद्धालाई जवरजस्तीसंग वोकेकै कारण नेपाली कांग्रेसप्रति जनता निराश वन्दै गएका हुन । त्यसकै परिणाम नेपाली कांग्रेसले क्रमशः जनसमर्थन गुमाउँदै आजको कठिन अवस्थामा आइपुगेको हो भन्ने हाम्रो निचोड छ ।
(४) पार्टी एकताको आधार पद र अवसरको वाँडफाँड वा भावण्डाको राजनीतिबाट तयार हुन सक्दैन । त्यसको आधार आदर्श, सिद्धान्त र विचार हुनु पर्दछ । नेपाली कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यताका दृष्टिले देशको सवैभन्दा क्रान्तिकारी राजनीतिक शक्ति भए पनि नेपालको समग्रमा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस मुख्यतः राष्ट्रवादी कन्जरभेटिभ प्रजातान्त्रिक शक्ति थियो । यो मध्यमार्गी दल थियो । आफ्नो मौलिक एवम् आधारभूत राजनीतिक धारलाई परित्याग गरेर कम्युनिष्ट पार्टी जस्तै आवरणमा क्रान्तिकारी वन्न खोज्दा, वामपन्थी भाषमा फसेको कारण आज नेपाली कांग्र्रेसले आफ्नो मौलिक विशिष्ठता गुमाएको छ र यसबाट पार्टीले जनविश्वास गुमाउँदै कमजोर वनेको हो । यो राजनीतिक सत्यलाई जवसम्म नेपाली कांग्रेसले मनन् गर्दैन, समीक्षा गर्दैन र सच्चिएर त्यसबाट वाहिर आउने प्रयास गर्दैन, नेतृत्वको स्वार्थ मिलेर, पद बाँडफाँड गरेर एक भएर पार्टी अगाडी बढ्ने प्रयास गरे पनि राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको गुमेको साख र औचित्य पुनःस्थापित हुन सक्दैन भन्ने हाम्रो निस्कर्ष रहेको छ ।
(५) नेपाली कांग्रेसको एकताको आधार राजनीतिक रोड करेक्सन मात्र हो । राजनीतिक रोड करेक्सन वा मार्ग परिवर्तन पार्टीको आफ्नो स्थापनाकालिन सिद्धान्त र राजनीतिक अडान, बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य–उपदेश र आफ्ना महान संस्थापकहरू सर्वोच्चनेता गणेशमान सिंह, सुवर्ण शम्शेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय आदिले समातेको राजनीतिक मार्गलाई पछ्याउँदै, सबैको धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्दै बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्रको राजनीतिक अडानसहित मौलिक नेपाली सांस्कृतिक राष्ट्रवादको सैद्धान्तिक आधारमा सबैको धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्दै वौद्ध, वोन, किराँत, लिम्बु सहितको ॐकार परिवारको भावनाको कदर गर्दै (वैदिक) सनातन (हिन्दू) राष्ट्र नेपाल स्थापनाले मात्र राष्ट्रियता वलियो भई देशको भविष्य सुनिश्चित हुन सक्छ भन्ने हाम्रो ठहर छ । यिनै राजनीतिक अडानको आधारमा नेपाली कांग्रेसले पार्टीको वृहत्तर एकताको आधार निर्माण गरोस् र यो एकताको आधारशिला निर्माण गर्न मुलुकभरका पार्टीका निष्ठावान कार्यकर्ता पङ्तिले पार्टी भित्र व्यापक स्तरमा दवाव सिर्जना गरौं भन्ने हाम्रो हार्दिक आग्रह छ । हाम्रो यो सार्वजनिक आह्वानलाई राष्ट्रको हित र पार्टी वचाउने सुत्र ठानेर पार्टी भित्रका विभिन्न गुट र समूहमा विभाजित नेतृत्व पंतिले समयमै गंभीरतापूर्व ग्रहण गर्दै एकतावद्ध भएर राजनीतिक रोड करेक्सन गरेर अगाडी बढ्ने सार्थक पहल गरोस भन्ने हार्दिक अपील गर्दछौं ।
(७) साथै, नेपाल इतिहास कै सबैभन्दा संकट घडीमा छ । नेपाललाई कमजोर वनाउन कै लागि षड्यन्त्र कै तहमा राजसंस्था उखेल्ने काम भयो । यसै चरणमा देशको पुरानो राष्ट्रवादी एवम् प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसलाई कमजोर वनाउने काम भैरहेको छ । वाह्य शक्तिको योजनामा भएको यो षड्यन्त्रको खेलमा जानेर नजानेर हामी क्रमशः फस्दै गएका छौं । हाम्रो आफ्नै अक्षमता, असफलता र गंभीरताको अभाव र परराष्ट्र मामिलामा हाम्रो अपरिपक्वता र कमजोर कूटनीतिको कारण हाम्रो राष्ट्रिय राजनीति भूराजनीतिक जटिलताभित्र नराम्रोसंग फस्दै गएको देखिएको छ । वितेको वर्ष भाद्र २३÷२४ को कहाली लाग्दो अकल्पनीय राजनीतिक घटना पछि देशमा एउटा स्वतन्त्र राष्ट्रिय अभिभावकको खाँचो सबैलाई अनुभूति भएको छ । नेपाल राष्ट्र निर्माण गर्ने राजा पृथ्वीनारायण शाहको वंशपरम्परा नेपाली राजसंस्था भएको भए निश्चयः नै २४ गतेको त्रासदिपूर्ण अकल्पनीय घटना घट्दैन थियो, देशले त्यति ठुलो मानवीय एवम् भौतिक विनाश भौग्न पर्दैन थियो भन्ने सबैलाई अनुभूति भएको छ । नेपाललाई सुरक्षित एवम् अक्षुण्ण राख्ने हो भने नेपालमा राजसंस्था अपरिहार्य छ भन्ने कुरा समयले पुष्टि गरेको छ । अतः हामी सत्तारूढ दल सहित सबै राजनीतिक दल र नेताहरूलाई दलीय स्वार्थ र राजनीतिक आग्रह–दुराग्रहभन्दा माथि उठेर राष्ट्रप्रेमको भावनाबाट ‘राष्ट्र बचाउँ, धर्म जोगाऔं’ भन्ने सङ्कल्पकासाथ एउटा वृहत राजनीतिक सहमति निर्माण गरेर संवैधानिक राजसंस्था पुनःस्थापना गर्न एकजुट हुन समेत यसै अपील मार्फत हार्दिक आग्रह गर्दछौं ।
– जय नेपाल !
शंकर भण्डारी संयोजक