काठमाडौं, ६ साउन ।

नेपाली कांग्रेसले  संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा कल्याण कोष घोषणा गरेको छ । नेपाली कांग्रेसले बुधबार आयोजना गरेको ग्रीन रन कार्यक्रमकाबीच मानव सहायता कल्याण कोष स्थापनाको घोषणा  गरेको छ।
कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए। कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए ।
कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए।
कांग्रेसले भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।