साउने संक्रान्ति तथा सिसेःक्पा तङ्नामको शुभकामना : भिष्भराज आङदेम्बे
काठमाडौं, १ साउन ।
नेपाली कांग्रेस संसदीय दलका नेता भिष्भराज आङदेम्बेले साउने सक्रान्ति तथा किराँत लिुम्बु समुदायले मनाउने सिसेःक्पा तङ्नाम को शुभकामना व्यक्त गरेका छन् ।
बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दे आङदेम्बेले भनेका छन् ‘सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पावन अवसर साउने संक्रान्ति तथा यही दिन किराँत(लिम्बू समुदायले श्रद्धापूर्वक मनाउने सिसेःक्पा तङ्नामको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
विज्ञप्तिमा उनले भनेका छन् ‘ साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई विदा गरेझैँ अब हामीले लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि विदा गर्नुपर्छ ।’
शुभकामना सन्देश विस्तृतमा
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पावन अवसर साउने संक्रान्ति तथा यही दिन किराँत(लिम्बू समुदायले श्रद्धापूर्वक मनाउने सिसेःक्पा तङ्नामको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय पहिचान र गौरव हो । हिन्दू धर्मावलम्बीले साउने संक्रान्तिलाई स्नान, दान, पूजाआजा तथा लुतो फाल्नेु परम्परासहित स्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै मनाउँछन् । कृषि कर्मबाट थकित जनजीवनलाई नयाँ उत्साह र ऊर्जा प्रदान गर्ने यो पर्वले शुद्धता, नवआरम्भ र सकारात्मक परिवर्तनको सन्देश दिन्छ । मगर समुदायले पनि यही साउने संक्रान्तिलाई आफ्नो सांस्कृतिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदै प्रकृतिप्रति सम्मान, सामुदायिक एकता, कृषि जीवनको निरन्तरता र सुख(समृद्धिको कामना गर्ने परम्परालाई जीवन्त राख्दै आएका छन् । त्यसैगरी लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नाममा नयाँ फलफूल तथा अन्नबाली तागेरानिङ्वा फुमाङ लाई अर्पण गरी प्रकृतिप्रति कृतज्ञता प्रकट गरिन्छ भने साक्नास्प्मामार्फत भोकमरी, अभाव र दुःखलाई प्रतीकात्मक रूपमा विदा गर्दै सम्पन्नता र समृद्धिको कामना गरिन्छ ।
यी पर्वहरूले समाजका विकृति, अन्याय र नकारात्मक प्रवृत्तिलाई त्यागेर उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिन्छन् । तर विडम्बना, आज नेपाली राजनीतिमा निरंकुश शासकीय प्रवृत्ति, अधिनायकवादी सोच, नागरिक अधिकारमाथिको हस्तक्षेप तथा निमुखा र निर्धन जनताको आवाज दबाउने चरित्र बढ्दै गएकोप्रति लोकतन्त्रप्रेमी सबै सचेत हुनुपर्ने अवस्था छ।
साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई विदा गरेझैँ अब हामीले लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि विदा गर्नुपर्छ । जनता नै सार्वभौमसत्ताको स्रोत हुन् भन्ने लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणमा साउने संक्रान्ति र सिसेस्क्पा तङ्नाम पर्व प्रतिबद्धताको दिन पनि बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

