कांग्रेस संसदीयदललाई पार्टी निर्देशन : सकुम्बासी समस्यामा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु
पाटी उपसभापति नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण समितिले सकुम्बासी समस्यालाई पार्टीहरुको साझा धारणा बनाउन र संसदमा यस बिषयमा अग्रसरता लिन भनेको छ ।
काठमाडौं, ३० असार ।
नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधानका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन पार्टी संसदीय दललाई आग्रह गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको असार २५, २६ मा बसेको बैंठकले सुकुम्बासी समस्यामा संसदमा राजनीतिक पार्टीहरुबीच समान धारणा बनाउन र त्यसको सहजीकरण गर्न भूमि व्यवस्था विशेष अभियान उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजिकरण संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ।
पार्टी उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्याबारे भनेको छ ‘ सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टि निर्माण गर्न सार्वजनिक महत्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गर्दछ । नीति प्रतिष्ठानको यो बैठक संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाएर यो विषयमा अग्रसरता लिन संसदीय दललाई आग्रह गर्ने निर्णय गर्दछ ।’
प्रतिष्ठानको बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता ठहर गर्दै विभिन्न निर्णय गरेको पार्टीमा कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ :
१.सुकुम्वासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढंगले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनैतिक दलको अलग–अलग रूपमा साझा प्रतिबद्धता थियो । तर निर्वाचन पश्चात बनेको सरकारले जे–जस्तो व्यवहार सुकुम्बासीहरूप्रति ग¥यो, त्यो अलोकतान्त्रिक मात्र नभएर अमानवीय समेत छ ।
नीति प्रतिष्ठानको यो बैठक त्यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै घोर निन्दा गर्दछ ।
२. भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्ने विषय सत्तापक्ष, प्रतिपक्ष लगायत सबै राजनैतिक दलहरूको साझा जिम्मेवारी र साझा दायित्वको विषय हो । पछिल्लो समय सरकारको रवैयाका कारण जटिल बन्न पुगेको यो विषयलाई हल गर्न फेरि पनि सरकार र दलहरू बीच साझा दृष्टि र साझा कार्ययोजना निर्माण गर्न जरुरी छ । अतः नीति प्रतिष्ठानको यो बैठक संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाएर यो विषयमा अग्रसरता लिन संसदीय दललाई आग्रह गर्ने निर्णय गर्दछ ।
३.भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अन्तर पार्टी संवादको आवश्यकता दृष्टिगत गरि प्रतिष्ठानको तर्फबाट आवश्यक सहजीकरण र समन्वय गर्न भूमि व्यवस्था विशेष अभियान उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजिकरण संयन्त्र’ गठन गर्ने निर्णय यो बैठक गर्दछ ।

