बालेन्द्र सरकारका १०० दिन : गगनका पाँच चिन्ता
काठमाडौं,२१ असार ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बालेन्द्र शाह नेतृत्वको सरकारका ५ प्रवृतिगत कार्यशैलीमा चिन्ता व्यक्त गरेका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा सरकारका १०० दिन १०० बुँदे कार्ययोजनको समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दे थापाले ५ वटा प्रवृति माथि चिन्ता व्यक्त गरेका हुन् ।
सरकार गठन पछिका १०० दिनलाई सामान्यतथा हनिमुन पिरियड भनिने र यस्तो प्रचलन अमेरिकी राष्ट्रपति रुजबेल्टको समयदेखी सुरुभएको चर्चा गर्दे यो समयमा प्रतिपक्षी, संसद र मिडियाले समेत आलोचना नगर्ने परम्परा रहेको गगन बताए । ‘रास्वपाले हनिमुन चाहिदैन भन्यो, १०० बुँदे कार्यसूची सार्वजनिक गर्यो, १०० दिन पछि स्वमूल्याङ्कन पनि गरेको छ ’ थापाले भने ‘हामीले यसबीच जस्तो प्रवृति देख्यौं, हामी प्रतिपक्षमा छौं, हाम्रा केही दायित्व छन् ।’
अहिले रास्वपाले पाएको जस्तो प्रचण्ड बहुमत विगतमा कांग्रेस र नेकपाले पनि पाएको बताउँदै त्यसबेला राजनीतिक दलहरुले राजनीतिक व्यवस्थालाई सघाएनन्, व्यवस्थानै खतरामा पारेको चर्चा गर्दे गगनले भने‘ समग्रमा हामी सरकार ठिक बाटो जाओस् भन्ने चाहन्छौं । उसले आफ्नो लाइन तानेको छ, त्यो लाइन हामी तान्दैनौं। त्यो भन्दा लामो लाइन तान्छौं ।’
सरकारको १०० दिनसम्मको कार्यशैलीलाई आफूले पाँच बुँदामा व्यक्त गर्ने गगनले बताए ।
१. सरकारलाई लाइफ होइन लाइक चाहिएको छ
सभापति थापाले वर्तमान सरकार नागरिकको जीवन, जीवनवृति भन्दा बढी लाइकमा केन्द्रीत भएको बताए ।सुकुम्बासीलाई डोजर लगाएर विस्थापित गराएको बताउँदै गगनले विगत सरकारको पालामा भूमि आयोग बनेर, लगत लिने कामहरु भएको, कानून निर्माण अगाडि बढेको बताए ।‘ प्रतिनिधिसभाबाट पास भएको थियो,राष्ट्रियसभाबाट पास हुन बाँकी थियो’ गगनले भने ‘कानून बनाएर वैधानिक हिसावबाट सजिलै भूमिहीन समुस्या समाधान गर्न सकिन्थ्यो, त्यसो गरिएन ।’
‘मानवीय जीवन, मानवीय संवेदनाको केही अर्थ छैन’ थापाले भने‘ यो चिन्ताको विषय हो, लाइफ भन्दा लाइकको महत्व । अझै कति लाइक थपिदै जाने हो, चिन्ताको विषय हो ।’
२. परिणाम दिन्छौ., प्रकृया गोली मार्देउ
थापाले बालेन सरकारको कार्यशैली, परिणाम दिन्छौ, प्रकृयालाई महत्व दिन आवश्यक छैन भन्ने मनस्थितिबाट अगाडि बढेको बताए । ‘परिणाम दिन्छौं, प्रकृयालाई गोली मार्देउ भन्ने शैलीमा काम गरिरहेका छन्’ थापाले भने ‘ हेर्दा सामान्य लाग्ने, प्रकृया केही होइन भन्ने कुराले कार्यकारी आदेशनै प्रमुख हो, कानून होइन भन्ने सन्देश दिएको छ ।’
‘प्रकृया केही होइन परिणामले सबै थोक दिन्छ भन्ने सोचले चिन्ता बढाएको छ’ थापाले भने ।
३.नागरिकको विश्वास गुम्यो, बजारले पत्याएन
रास्वपाले पहिलो वर्ष शासकीय सुधार र दोश्रो वर्ष अर्थतन्त्रको वर्ष भन्ने गरेको चर्चा गर्दे गगनले सरकारले विश्वास गुमाएको बताए । ‘विदेशी मुद्रा प्रशस्त छ, बैंकहरुमा धेरै पैसा छ, कर्जा लिन कोही जाँदैन’थापाले भने ‘नागरिकले विश्वास गुमाएका छन्, बजारले विश्वास गुमाएको छ ।’
जनमानसमा, उद्यमी, व्यवसायीमा व्यापक भयको वातावरण रहेको बताउँदै थापाले भने ‘कोही नयाँ व्यवसाय खोल्ने बाला छैनन्, हामीले नखुलोस भनेको होइन । विश्वासको वातावरण बनेको छैन । सरकारमा बस्नेहरुलाई चिन्ता छैन । चिन्ताको विषय हो यो ।’
४. हचुवा पारामा संविधान संशोधन
संविधान संशोधनबारे सरकारका मन्त्रीहरुबाटै फरक फरक धारणाहरु सार्वजनिक भएको बताउँदै थापाले भने ‘संविधान संशोधनको विषयलाई हल्का ढंगले लिइएको छ । संविधान संशोधन हचुवा पाराले गर्ने होइन । लफंगा पाराले संविधान संशोधन गर्ने होइन ।’
नागरिकले पाइसकेका अधिकारहरु माथि हस्तक्षेप हुन थाल्यो भने त्यसबेला नागरिक चुप लागेर नबस्ने बताउँदै थापाले भने ‘ संविधान संशोधन आवश्यक छ, तर निष्ठाकासाथ अगाडि बढ्न उत्तिकै आवश्यक छ ।’
५. भूराजनीतिलाई वेवास्ता
छिमेकी र विश्वजगतसँगको संम्बन्धलाई संवेदनशील र गंभिर भएर सरकारले नलिएको थापाको आरोप छ । राष्ट्रहितलाई राम्रोसँग प्रस्तुत गर्नसक्ने हैसियत प्राप्त सरकारका सदस्यहरु वैयक्तिक लोकप्रियता बढाउने काममा केन्द्रीत भएको थापाले बताए । ‘कसले कसलाई भेट्यो, के लगाएर भेट्यो भन्ने कुराले महत्व पाएको छ’ थापाले भने ‘यस्तो हो भने अन्य समस्या आइलाग्छन् ।’
आफूहरु राष्ट्रहीतका विषयमा साझा धारणा बनाएर अगाडि बढ्न तयार रहेको थापाले बताए ।

