काठमाडौ. ७ असार ।

चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौँस्थित पर्यटन बोर्डको सभाहलमा एक समारोहको आयोजना गर्दै समाजले २०८१ र २०८२ सालका विजेतालाई संयुक्त रूपमा अवार्ड प्रदान गरेको हो । विसं २०७१ देखि नेपाली चलचित्रको गुणात्मक विकास गर्न समाजले अवार्डको आयोजना गर्दै आएको छ ।

यस वर्षको ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ तर्फ चलचित्र ‘ऊनको स्वीटर’, निर्देशक नवीन चौहान (ऊनको स्वीटर), अभिनेता हरिवंश आचार्य (भूठान), अभिनेत्री आना शर्मा (रमिताको पिरती), पटकथा तथा लेखन नवीन चौहान र सुरज कटुवाल (ऊनको स्वीटर), छायाङ्कन सुशन प्रजापति (भूठान), सम्पादन अञ्जय खड्का (भूठान) र पाश्र्व सङ्गीत कोविद बज्र (ऊनको स्वीटर)लाई अवार्ड प्रदान गरिएको छ ।
समारोहमा ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ तर्फ चलचित्र ‘शाम्बाला’, निर्देशक मीनबहादुर भाम (शाम्बाला), अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो), अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला), पटकथा तथा लेखन सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार), छायाङ्कन आलोक शुक्ला (आँखा), सम्पादन जे हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज), पाश्र्व सङ्गीत किशोर आचार्य (गाउँ आएको बाटो)लाई अवार्ड प्रदान गरिएको छ ।
यस्तै, २०८१ सालमा चलचित्र ‘बोक्सीको घर’ बाट बालकलाकार सुपला सापकोटालाई अभिनय र चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’बाट कला निर्देशनमा रोशन दिवानालाई ‘स्पेसल मेन्सन अवार्ड’ प्रदान गरियो ।

समरोहमा ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ तर्फ चलचित्र ‘शाम्बाला’, निर्देशक मीनबहादुर भाम (शाम्बाला), अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो), अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला), पटकथा तथा लेखन सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार), छायाङ्कन आलोक शुक्ला (आँखा), सम्पादन जे हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज), पाश्र्व सङ्गीत किशोर आचार्य (गाउँ आएको बाटो)ले अवार्ड ग्रहण गर्नुभयो ।

यस्तै, २०८१ सालमा चलचित्र ‘बोक्सीको घर’ बाट बालकलाकार सुपला सापकोटालाई अभिनय र चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’बाट कला निर्देशनमा रोशन दिवानालाई ‘स्पेसल मेन्सन अवार्ड’ प्रदान गरियो ।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले समीक्षाको चलनले चलचित्रहरुले गुणस्तरलाई महत्व दिने वातावरण बन्ने बताए । तिमल्सेनाले चलचित्रको समीक्षा गर्नु त्यसको व्यावसायिकताको सम्भावनालाई खुम्च्याउनु नरहेको पारे । “समीक्षा र चलचित्रबीच ‘लभ एन्ड हेट’को सम्बन्ध रहने गरेको छ । समीक्षक व्यावसायिक चलचित्रको दुश्मन हुन् भन्ने भावना व्याप्त छ । तर, हामी विश्वास गर्छौँ, समीक्षक र सर्जकबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, सहयात्राको हो’ । तिमल्सेनाले भने ‘स्वस्थ समीक्षा कुनै सृजनामाथिको आक्रमण होइन, त्यो अझ उत्कृष्ट सृजनातर्फ डोहोर्याउने एउटा इमानदार संवाद हो ।’

समारोहका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यावसायिक सफलताले चलचित्रलाई राम्रो वा नराम्रो भन्न नमिल्ने धारणा राखे । हलमा चलेका चलचित्रमात्रै राम्रा नहुने भन्दै उनले कतिपय राम्रा चलचित्र पनि नचल्ने गरेको बताए । प्रचारको अभावलगायत कारणले कतिपय राम्रा चलचित्र हलमा नचल्ने गरेको उनको भनाइ थियो । त्यसैले राम्रा चलचित्रले अवार्ड पाएको अभिनेता श्रेष्ठले बताए ।

“समीक्षकले दिने अवार्डमा चलचित्र व्यवसायिक पाटो नहेरी कलात्मक पक्षलाई जाँच्ने गरिन्छ, यसले चलचित्रकर्मीलाई हौसला प्रदान गर्छ । सबै राम्रा चलचित्र चलेका छैनन् । चलेन भनेर हरेस मान्नु पर्दैन, किनकि व्यावसायिक पक्षले कलात्मक पक्षलाई ओझेलमा पार्न सक्दैन”, कलाकार श्रेष्ठले भने ।

कलाकार श्रेष्ठले नेपाली चलचित्रलाई अझ सशक्त, विश्वसनीय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सर्जक तथा समीक्षक दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुनेमा जोड दिए । उक्त समारोहमा चलचित्र ‘भूठान’बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता हरिवंश आचार्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ पाउने व्यक्ति ‘राम्रै हुने’ विश्वास व्यक्त गरे ।

“फिल्ममा यो भएन, त्यो भएन, यसो गरेको भए हुने थियो । यसरी बनाएको भए राम्रो हुने थियो भनेर दोषैदोष देखाउने व्यक्तिले दिएको अवार्ड भनेपछि पक्कै राम्रै होला । उहाँहरूबाट अवार्ड पाउनु भनेको गौरव हो, यो गरिमामय अवार्ड हो भन्ने लाग्छ”, अभिनेता आचार्यले भने ।

महालक्ष्मी चक्की आटा, नेपाल भलिबल लिगको फ्रेन्चाइज टिम अन्नपूर्ण स्पाइकर किङग्स, ओएसआर डिजिटल र नेपाल फिल्म क्याम्पसको सहकार्यमा अवार्ड सम्पन्न भएका हो ।
–––