सन् १९४६ यताकै तथ्याङ्कलाई विश्लेषण गर्दा विगतको वर्ष विश्वव्यापी शान्ति र स्थिरताका लागि सबैभन्दा खराब र चुनौतीपूर्ण रहेको प्रतिवेदनले औँल्याएको छ।

वर्तमान विश्व इतिहासकै जटिल र संवेदनशील सुरक्षा चुनौतीबाट गुज्रिरहेको छ। नर्वेस्थित प्रतिष्ठित शान्ति अनुसन्धान संस्था ‘पिस रिसर्च इन्स्टिच्युट ओस्लो‘ ले सार्वजनिक गरेको ‘कन्फ्लिक्ट ट्रेन्ड्सस् ए ग्लोबल ओभरभ्यु (१९४६–२०२५(नामक वार्षिक प्रतिवेदन अनुसार, सन् २०२५ मा विश्वभर भएका राज्य केन्द्रित द्वन्द्वको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै उच्च विन्दुमा पुगेको छ।

ओस्लो प्रतिवेदनको यो गम्भीर विश्लेषणले वर्तमान विश्व व्यवस्था र अन्तर्राष्ट्रिय कूटनीति पूर्णतः असफलतातर्फ उन्मुख भएको सङ्केत गर्छ।

‘उप्सला कन्फ्लिक्ट डाटा प्रोग्राम’ को तथ्याङ्कमा आधारित यस प्रतिवेदन अनुसार, सन् २०२५ मा संसारका ३५ देशहरूमा ६५ वटा सक्रिय राज्य केन्द्रित द्वन्द्व (States -Based Conflicts)  रेकर्ड गरिएका छन्, जुन सङ्ख्या दोस्रो विश्वयुद्धको अन्त्यपछि अहिलेसम्मकै सबैभन्दा धेरै हो। सन् १९४६ यताकै तथ्याङ्कलाई विश्लेषण गर्दा विगतको वर्ष विश्वव्यापी शान्ति र स्थिरताका लागि सबैभन्दा खराब र चुनौतीपूर्ण रहेको प्रतिवेदनले औँल्याएको छ।

अन्तर राज्यीय द्वन्द्वमा तीव्र वृद्धि

प्रतिवेदनको सबैभन्दा चिन्ताजनक पक्ष दुई वा सोभन्दा बढी देशहरूबिच प्रत्यक्ष रूपमा लडिने ‘अन्तर राज्यीय द्वन्द्व (Interstate Conflicts) मा भएको तीव्र वृद्धि हो। सन् २०२४ को तुलनामा २०२५ मा यस्ता द्वन्द्वको सङ्ख्या दोब्बर भएर ८ पुगेको छ, जसमा मुख्य गरी रुस(युक्रेन युद्ध, इजरायल र मध्यपूर्वका शक्तिहरू इरान, सिरिया तथा येमेनबीचको बहु आयामिक टकराब, अफगानिस्तान-पाकिस्तान सीमा क्षेत्रको तनाव, भारत-पाकिस्तानबिचको झडप, तथा कम्बोडिया-थाइल्याण्डबिचका सीमा विवादहरू समावेश छन्।

यसै सन्दर्भमा पीआरआईओकी वरिष्ठ अनुसन्धानकर्ता तथा मुख्य प्रतिवेदन लेखिका सिरी आस रुस्तादले आफू प्रायः प्रतिवेदनहरूबाट केही न केही सकारात्मक पक्ष पहिल्याउने कोसिस गर्ने भए तापनि यस वर्षको तथ्याङ्क साँच्चै स्तब्ध पार्ने खालको रहेको बताएकी छन्। उनका अनुसार विश्वले लामो समयदेखि लगातार उच्च तीव्रताका द्वन्द्वहरूको सामना गरिरहेको छ, जहाँ एउटा युद्ध साम्य हुन नपाउँदै अर्को सुरु भइहाल्छ र संसारले श्वास फेर्न समेत फुर्सद पाएको छैन।

रक्तपातपूर्ण वर्ष र नागरिकमाथिको बर्बरता

शीतयुद्धको अन्त्य सन् १९८९ यताको इतिहास हेर्दा सन् २०२५ प्रत्यक्ष युद्धका कारण ज्यान गुमाउनेहरूका हिसाबले तेस्रो सबैभन्दा घातक र रक्तपातपूर्ण वर्ष बनेको छ। प्रतिवेदनका अनुसार गत वर्ष मात्रै युद्ध र राजनीतिक हिंसाका कारण विश्वभर २ लाख ४५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, जुन सङ्ख्याभन्दा बढी हताहत यसअघि सन् १९९४ को रुवान्डा नरसंहार र सन् २०२१ को इथियोपियाको टाइग्रे युद्धमा मात्र भएको थियो। सन् २०२५ को यो महाविपत्तिलाई मुख्य गरी रुसको युक्रेनमाथिको अनवरत आक्रमण, गाजा क्षेत्रमा इजरायली सैन्य अभियान र बमबारी, तथा सुडानको गृहयुद्ध र त्यहाँ भएको भीषण जातीय हिंसा गरी तीन वटा ठुला युद्धले डोर्‍याएका छन्।

रुवान्डा नरसंहारपछिकै चरम नागरिक त्रासदी

यस वर्ष नागरिकहरूलाई नै लक्षित गरेर गरिने ‘एकतर्फी हिंसा’ (One-sided violence) मा पनि डरलाग्दो वृद्धि भएको छ। सन् २०२४ मा यस प्रकृतिको हिंसाबाट १४,२०० नागरिक मारिएका थिए भने सन् २०२५ मा यो सङ्ख्या बढेर ७६,५०० पुगेको छ। नागरिक हत्याको यो भयावह रूप मुख्य गरी सुडानको डार्फर क्षेत्रमा अवस्थित अलफाशिर’ सहरमा भएको नरसंहार र घेराबन्दीका कारण सिर्जना भएको हो, जसलाई सन् १९९४ को रुवान्डा नरसंहारपछिकै चरम नागरिक त्रासदी मानिएको छ।

द्वन्द्वको भूराजनीति र बढ्दो जटिलता

प्रतिवेदनले औँल्याए अनुसार अहिले युद्धहरू भूगोलमा मात्र नभई स्वरूपमा पनि निकै जटिल र बहुआयामिक बन्दै गएका छन्। ६५ वटा ठुला द्वन्द्वहरू केवल ३५ देशमा केन्द्रित हुनुको अर्थ एउटै देशले एकै पटक धेरै वटा आन्तरिक र बाह्य मोर्चामा लड्नु परिरहेको छ। उदाहरणका लागि, म्यानमार र इजरायल दुवै देशले सन् २०२५ मा एकैसाथ पाँच पाँच वटा छुट्टाछुट्टै मोर्चाहरूमा द्वन्द्वको सामना गरिरहेका छन्, जहाँ इजरायलले गाजा, सिरिया, लेबनान, इरान र येमेनका हुथी विद्रोहीहरूसँग एकै पटक लड्नु परेको छ।

त्यसै गरी अफगानिस्तान, नाइजेरिया, पाकिस्तान, क्यामरुन र माली जस्ता देशहरू पनि बहुआयामिक हिंसाको चक्रव्यूहमा फसेका छन्। क्षेत्रीय हिसाबले अफ्रिका महादेश अझै पनि राज्य केन्द्रित र गैर राज्यीय दुवै प्रकारका द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ भने मध्यपूर्वमा यस वर्ष इतिहासकै सबैभन्दा बढी राज्य केन्द्रित द्वन्द्वहरू रेकर्ड गरिएका छन्। साथै एसियामा पनि द्वन्द्वको सङ्ख्या सन् १९९० को दशकको मध्यपछिकै उच्च विन्दुमा पुगेको छ।

कता जाँदै छ विश्व ?

ओस्लो प्रतिवेदनको यो गम्भीर विश्लेषणले वर्तमान विश्व व्यवस्था र अन्तर्राष्ट्रिय कूटनीति पूर्णतः असफलतातर्फ उन्मुख भएको सङ्केत गर्छ। राष्ट्रहरूबिचको बढ्दो अविश्वास, अन्तर्राष्ट्रिय कानुनहरूको खुला उल्लङ्घन र नागरिक सुरक्षाको उपेक्षाले विश्वलाई दोस्रो विश्वयुद्धकालीन अस्थिरतातर्फ धकेलिरहेको देखिन्छ।

बढ्दो बहुपक्षीय कूटनीतिक शिथिलता, संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रभावहीनता र गहिरिँदो मानवीय सङ्कटका कारण आगामी दिनमा शान्ति स्थापना, कूटनीतिक संवाद र राहत अपरेसनहरू झन् कठिन हुने चेतावनी पीआरआईओले दिएको छ। यदि विश्वका महाशक्ति र अन्तर्राष्ट्रिय निकायहरूले बेलैमा ठोस कूटनीतिक पहल कदम नचाल्ने हो भने आगामी दिनमा हिंसाको यो सूचकाङ्क अझै माथि जाने निश्चित छ।

श्रोत :आइएनएस(स्वतन्त्र समाचार)