प्रधानमन्त्री चीनियाँ राजदूतबीच भेटवार्ता : साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड
चीनियाँ राजदूत माओमिङले प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
काठमाडौं, २५ साउन ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बनेपछि नेपाल स्थित विदेश राजदूत तथा नियोग प्रमुखहरुलाई सामुहिक भेट गरेपछि एक वर्षसम्म कुनै पनि कुटनीतिक भेटघाट नगर्ने अडान लिएका शाहले आफ्नो नीतिलाई अचिलो बनाउँदै नेपालका छिमेकी मुलुक भारत र चीनका राजदूतदलाई एकै दिन भेटघाट गरेका छन् । प्रारम्भमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटघाट गरेका प्रधानमन्त्रीले सोमबार अपराह्न चीनियाँ राजदूत माओमिङसँग भेटवार्ता गरेका हुन् । दुबै भेट प्रधानमन्त्रीको निमन्त्रणामा भएका हुन् ।
प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको हो।
भेटवार्ताका क्रममा नेपाल,चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भेटकात्रममा चीनियाँ राजदूत माओमिङले प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

