काठमाडौं, १५ जेठ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन्। गणतन्त्र दिवशको अवसरमा विज्ञप्ति प्रकाशीत गर्दे थापाले भनेका छन् ‘नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो ।’
थापाले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको बताएका छन् ।

विज्ञप्ति 
गणतन्त्र दिवसको शुभकामना : नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्र्थापनाका लागि भएका ऐतिहासिक जन—आन्दोलनहरूमा देशका असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गर्नुभएको छ । आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति गणतन्त्र दिवसको यस पावन अवसरमा म उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो । तत्पश्चात् वि।सं। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।

नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा, गणतन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जय नेपाल ।।

गगनकुमार थापा