निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, ३ वैशाख। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलीटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलीटर ५ रुपैयाँ मूल्य बढाएको छ ।

बढेको मूल्यअनुसार, अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलीटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलीटर २५६ रुपैयाँ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको र इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार अहिले भाउ बढाउँदा पनि अझै अत्यधिक घाटा रहेको दावी निगमले गरेको छ ।

लागत मूल्य बढी र विक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलीटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलीटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा प्रतिलीटर ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा रहेको दावी निगमले गरेको छ ।