एलपी ग्यास उद्योग सङ्घको आग्रहः आवश्यकमात्र ग्यास खरिद गरौं
काठमाडौं, २४ साउन । नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेको जनाउँदै आम उपभो्त्तालाई अनावश्यक सिलिन्डर सञ्चय (होल्ड) नगर्न आग्रह गरेको छ।
भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सङ्घले सबैमा आग्रह गरेको हो।सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ। आगामी दिनमा पनि ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव देखिने सम्भावना छैन।’
दिवानबहादुर जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमको पहलमा भारतका विभिन्न शोधनशाला (रिफाइनरी) बाट सहज रूपमा हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले वृद्धि भइरहेको उल्लेख छ। विज्ञप्तिमा पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। यस आधारमा चालू आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो। उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास उद्योग सङ्घले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्रीवितरण गर्न पनि बिक्रेतासँग आग्रह गरेको छ।

