पूर्णबहादुरलाई सात दिने स्पष्टिकरण,अन्तर्घात गर्नेहरुको उजुरी पठाउन एक महिना थप
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी पार्टी विधान विपरित काम गरेको भन्दै सात दिन भित्र स्पष्टिकरण दिन भनेको छ ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा वसेको बैंठकले यस्तो निर्णय गरेको हो । खड्काले आफू कार्यवाहक सभापतिको हैसियतमा रहेको भन्दै कांग्रेसको लेटरप्याडमा प्रेस विज्ञप्तिहरु प्रकाशित गर्दे आएका छन् । विशेष अधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको अस्तित्व अस्वीर गर्दे आफूनै कांग्रेसको अधिकारीक जिम्मेवार भएको अर्थमा खड्काले प्रस्तुत हुँदै आएका छन् । उनी पूर्व सभापति शेरबहादुर देउवाको गुटको प्रतिनिधि मानिन्छन् ।
निर्वाचन आयोगले विशेष अधिवेशनबाट आएको गगनकुमार थापाको नेतृत्वलाई आधिकारिता दिएर गगनकै नेतृत्वमा कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा होमिएको हो । निर्वाचन आयोगले दिएको वैधता माथि प्रश्न उठाउँदै पूर्व सभापति शेरबहादुर देउवा र खड्काले सर्वोच्चमा हालेको मुद्धाको छिनोफानो भएको छैन ।
अनुशासन समितिको बैंकलले खड्कालाई पहिलो पटक सचेत गराएको उल्लेख गर्दे दोश्रो पटक पनि सोहि प्रकृतिको मनसाय व्यक्त भएको विश्लेषण गर्दे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । कांग्रेस निर्णयमा भनिएको छ ‘ नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत बक्तब्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो । यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सातं) दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ ।’
अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वा चन २०८२ का क्रममा अन्तर्घात गर्ने पार्टीका सदस्यहरुको बारे उजरी दिने समय एक महिना लम्ब्याएको छ । समितिको निर्णयमा भनिएको छ ‘ पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्दछ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही गरिने छैन ।’
