आज संसदमा : राष्ट्रपतिले संयुक्त संसदलाई सम्बोधन गर्ने, प्रतिनिधिसभा उपसभामुख निर्वाचन, संसद अधिवेशन अन्त्य
काठमाडौ, २७ चैत।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन् । संसद सचिवलयले अपराह्न ३ बजे राष्ट्रपतिले सम्बोधन गर्ने सूचना गरेको छ ।
नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्न लागेका हुन् । प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो ।
संविधानको धारा ९५ -२ ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ। संयुक्त सदनमा प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ सदस्य हुन्छन् ।
शुक्रबार प्रतिनिधिसभाले उपसभामुख पदको निर्वाचन हुँदैछ । संविधानमा सभामुख उपसभामुख एउटै राजनीतिक दल र लिंगको हुनु नहुने व्यवस्था छ । सभामुख रास्वपाको डोलप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भैसकेका छन् भने उपसभामुखमा रास्पपाको समर्थन श्रम संस्कृति पार्टीलाई पाएको छ ।
श्रम संस्कृति पार्टीकी रुवी ठाकुरलाई पार्टीले उमेदवार बनाएको छ । उपसभामुखमा कुन पार्टीलाई समर्थन गर्ने भन्नेमा रास्वपाका दुई शीर्ष पार्टी अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको फरकफरक मत, राजनीति र रणनीति उपसभामुखको उमेदवारीसँगै सतहमा आएको छ । रास्वपासँगको छलफल र संवाद पछि राप्रपाले सरस्वती लामालाई उमेदवार बनाएको छ । रास्वपाको समर्थन श्रम संस्कृति पार्टीलाई भएकोले रुबी ठाकुर उपभासमामुखमा निर्वाचित हुने लगभग पक्का छ ।
राष्ट्रपतिको सम्बोधन पछि प्रतिनिधिसभाको बैंठकले उपसभामुख निर्वाचन गरेपछि शुक्रबार मध्यरात पनि संसद अधिवेशन अन्त्य हुने छ ।
तस्बिर: गोरखापत्र
