प्रजातन्त्र पुर्नस्थापना दिवशमा पुष्प अर्पण, दीप प्रज्वलन
सिंहको नेतृत्वमा २०४६ सालको फागुन ७ बाट सुरु भएको जनआन्दोलन २०४६ चैत २६ गते निचोडमा पुगेको थियो । तत्कालिन राजा वीरन्द्रविक्रम शाहले चैत २६ गते दलहरु माथि आफ्ना पिता महेन्द्रले २०१७ साल पुष १ गते लगाएको प्रतिवन्ध फूकाउँदै मुलुकमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए।
काठमाडौं, २६ चैत ।
आज चैत २६, निरंकुश पंचायती व्यवस्थाको अन्त्य गर्दे मुलुकमा प्रजातन्त्र स्थापना भएको दिनको अवसरमा जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको पूर्णकदको शालिकमा पुष्प अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
गणेशमान सिंह वाटिका, सूर्यविनायक, भक्तपुरमा आयोजित कार्यक्रममा कांग्रेसजनको बाक्लो उपस्थिति थियो । दीप प्रज्वलन कार्यक्रम गणेशमान सिंह वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं पूर्व सांसद दुर्लभ थापा, पूर्व प्रदेश मन्त्री कृष्ण्लाल भँडेल, क्षेत्रिय सभापति भेषबहादुर कार्की लगायत भक्तपुर कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेका नेता, कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति थियो ।
२०४६ सालको जनआन्दोलनको कमाण्डर गणेशमान सिंह थिए । नेपालको प्रजातान्त्रिक राजनीतिमा लौह पुरुष भनेर चिनिने गणेशमान सिंहलाई सर्वोच्च नेता भनिथ्यो । सिंहकै नेतृत्वमा २०४६ सालको जनआन्दोलन भएको थियो ।
नेपाली कांग्रेस तथा सात वामपन्थी दलहरुको संयुक्त आन्दोलनले तीस वर्ष लामो निरंकुश पंचायती व्यवस्था अपदस्त गर्दे नेपालबाट २०१७ सालमा खोसिएको प्रजातन्त्र पुर्नस्थापित भएको थियो । २०४६ सालको फागुन ७ बाट सुरु भएको जनआन्दोलन २०४६ चैत २६ गते निचोडमा पुगेको थियो । तत्कालिन राजा वीरन्द्रविक्रम शाहले चैत २६ गते दलहरु माथि आफ्ना पिता महेन्द्रले २०१७ साल पुष १ गते लगाएको प्रतिवन्ध फूकाउँदै मुलुकमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए।
जनआन्दोलन पछि नेपाल संवैधानिक राजतन्त्र सहितको संसदीय लोकतन्त्रिक राजनीतिक अभ्यासमा करिव एक दशकसम्म चलेको थियो । माओवादी ‘जनयुद्ध’ र राजा ज्ञानेन्द्रको अधिनायवादी चरित्रका कारण प्रजातन्त्र लामो समय चल्न सकेन ।दोश्रो जनआन्दोलन २०६२÷६३ पछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढेको हो ।
