स्याङ्जा, २५ चैत्र ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं १ मा उम्मेदवार बनेका भरतराज ढकालले मतदाताहरुलाई मतदान गरेकोमा धन्यवाद र नयाँ वर्ष २०८३ को शुभकामना दिदै भेटघाटलाई तिव्रता दिएका छन् ।

निर्वाचन क्षेत्रका ५२ वटा वडामध्ये अधिकांश वडामा पुगेका उम्मेदवार ढकालले मतदातालाई मतदान गरेकोमा धन्यवाद दिएका छन् भने आउँदै गरेको नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । चुनावी प्रचारका क्रममा गरेको प्रतिबद्धता र नागरिकले भोग्दै आएको समस्यालाई निराकरण गर्न सबै पक्षसँग हातेमालो गर्ने उम्मेदवार ढकालले भेटघाटमा दोहो¥याएका छन् ।

‘चुनावी प्रचार–प्रसारका क्रममा भएका भेटघाटमा नागरिकबाट व्यक्त गरिएका समस्या धेरै छन् ।’ ढकालले भने, ‘धन्यवाद स्वरुप भएका भेटघाटमा देखाइएका समस्या समाधानमा आफ्नो तर्फबाट सबै पक्षसँग हातेमालो गर्नेछु ।’ चुनावी हारजित एउटा प्रक्रिया हो, जनताको समस्या समाधान गर्नु आफ्नो दायित्व भएको ढकालले जनाए ।

‘स्याङ्जा क्षेत्र नं. १ मा भूगोलका आधारमा समस्याहरु फरक–फरक पाइएको छ ।’ उनले भने, ‘विकास निर्माणका योजनाहरुमध्ये साना योजनालाई स्थानीय सरकार, मझौला विकास निर्माणमा प्रदेश सरकार र ठूला विकास आयोेजनालाई राष्ट्रिय योजना आयोग र संघीय सरकारसँग सम्बाद र सहकार्य गरेर समाधान गर्न हातेमालो गर्छु ।’

‘भूगालेका आधारमा हामीसँग वातावरणीय रुपमा पनि अथाहा सम्भावना छ।’ मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष समेत रहेका ढकालले भने, ‘स्थानीय नागरिकको दक्षता र क्षमता अनुसार कृषिजन्य उत्पादनमा जोडिएर सीपको प्रयोगबाट स्वरोजगार बनाउने आफ्नो अभियानलाई निरन्तर अगाडी बढाउँछु ।’ प्रत्येक नागरिकलाई उत्पादन र आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको समेत उनले भेटघाटका क्रममा बताउँने गरेका छन् ।

मतदातालाई धन्यवाद र शुभकामना दिन भेटघाटलाई तिव्रता दिएका काँग्रेस उम्मेदवार ढकालले चुनावी परिणामले सानो आकारामा खुम्चिएको काँग्रेस भएपनि काँग्रेस बिना लोकतन्त्र कमजोर हुने धारणा राखेका छन् । काँग्रेस सभापति गगन थापाको नेतृत्वमै काँग्रेसको पुस्तान्तरण र देशको रुपान्तरण सम्भव भएको उनले बताए ।

काँग्रेसमा व्यक्ति खराब भएपनि पार्टीको नीति र सिद्धान्त उत्कृष्ट रहेको बिचार अभिव्यक्ति दिदै आएका ढकालले काँग्रेसमा अग्रज र पुरानालाई सम्मान तथा युवा र नयाँलाई अवसरको सृजना गर्नु राम्रो हुने विचार व्यक्त गरे । काँग्रेसमा देखिएको समस्या समाधान संवादबाटै हलगर्न उनले नेताहरुलाई सुझाए ।

फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं.–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका धनञ्जय रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै विजयी भएका थिए । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याउँदा नेकपा एमालेका मिनप्रसाद गुरुङ्ले १६ हजार ८०४ मत ल्याएका थिए । रेग्मीको विजयलाई स्थानीय मतदाताले राष्ट्रिय माहोलसँग जोडेर हेर्ने गरेका छन् ।