काठमाडौं, २५ चैत ।
परराष्ट्र मन्त्रालयले सबै मन्त्रीलाई‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का बारेमा प्रस्तुती दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीहरुलाई प्रस्तुती दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित प्रस्तुतीकरणमा सबै मन्त्रीहरुलाई प्रस्तुती दिइएको हो ।
प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालका अनुसार मन्त्रीहरुलाई विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा जानकारी गराइएको छ ।
राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिएका छन् ।
सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी दिइएको छ ।
राईले नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई विशेष जोड दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।