लेखापढी व्यवसायी पक्राउको विरुद्धमा पाटन इकाई आन्दोलित
काठमाडौं, २३ चैत ।
भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरको प्राङ्गणबाट लेखापढी व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, पाटन इकाई समितिले कडा आपत्ति जनाएको छ। समितिले एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनको उक्त कार्यको भर्त्सना गरेको हो।
आइतबार मालपोत कार्यालय ललितपुरमा सेवाग्राहीको काम गरिरहेका लेखापढी व्यवसायीहरूलाई ‘बिचौलिया’ को आरोप लगाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यवसायीहरूलाई जिल्ला प्रहरी परिसर, जावलाखेल राखेर साँझ छोडिएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, पाटन इकाईका सहसचिव विष्णुप्रसाद घिमिरे सेवाग्राहीको काम गरिरहेका लेखापढी व्यवसायीहरू, सेवाग्राही लगायत २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताउँछन् । घिमिरेले भने ‘हामी काूनन सम्मत हिसावले काम गर्ने हौं । हामी सरकारले तोकेका जाँचहरु पास गरेर,लाइसेन्स लिएर काम गर्नेहरु हौं, लाइसेन्सधारी माथि धरपडक गरिएको छ ,त्यसको बिरोध गरेका हौं, पेन डाउन गरेका छौं ।’
घिमिरे, कानून अनुसार मान्यताप्राप्त पेशाकर्मीहरुले निर्वाध कामगर्न पाउँनपर्ने बताउँदै भन्छन् ‘नियम अनुसार काम गर्न पाउँनेहरु र अन्य मालपोत, नापीमा चलखेल गर्नेहरुबीच भिन्नता छुट्याउनुपर्दछ ।’ सरकार आफैले बनाएको सफ्टवेयरमा बाहिर भूसेवाबाट सेवा लिने व्यवस्था गरेको बताउँदै घिमिरे भन्छन् ‘अनुशासित भएर काम गर्नेहरु माथि धरपकड गर्ने होइन, गलत काम गर्नेहरु माथिको कारवाहीलाई हामी पनि सहयोग गर्दछौं ।’
एसोसिएसनका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, पक्राउ परेका व्यक्तिहरू नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ बमोजिम आधिकारिक प्रमाणपत्र प्राप्त व्यवसायी हुन्।
विज्ञप्तिमा भनिएको छ
कानुनी रूपमा भूसेवा केन्द्र सञ्चालनको अनुमति लिएर सेवा दिइरहेका व्यवसायीहरूलाई बिना आधार बिचौलिया भनी अपमानजनक ढंगले पक्राउ गरिनु पेशागत मर्यादा र संवैधानिक अधिकारमाथिको प्रहार हो।
प्रहरी हस्तक्षेपको विरोधमा समितिले तत्कालका लागि सम्पूर्ण लेखापढी व्यवसायीहरूलाई तत्काल काम रोक्न निर्देशन दिइएको छ।
समितिले अनलाइनमार्फत गरिने भू(सेवा सञ्चालनका कार्यहरू समेत पूर्ण रूपमा बन्द गर्न आह्वान गरिएको छ। समितिको निर्णय विपरीत कसैले व्यक्तिगत रूपमा सेवा सुचारु गरेमा संस्थाको विधान बमोजिम कारबाही गरिने र कुनै पनि सहयोग उपलब्ध नगराइने चेतावनी दिइएको छ। एसोसिएसनले आफ्ना सदस्यहरूको पेशागत सुरक्षा र सम्मानको ग्यारेन्टी नहुन्जेल आन्दोलन जारी रहने बताएको छ।
विज्ञप्ति

