विशेष महाधिवेशनबाट आएका गगन चुनावमा २० लाख जनताबाट अनुमोदित
निर्वाचन आयोगका अनुसार शेरबहादुर देउवा अब नेपाली कांग्रेसका पूर्व सभापति हुन् । कांग्रेस अब विशेष महाधिवेशनबाट पछाडि फर्कन सक्दैन । अबको यात्रा पहिला कांग्रेस शुद्धीकरण अनि संगठन सुदृढीकरण । अनि मात्रै १५ औँ महाधिवेशन ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेपछि मात्रै पार्टी भित्रैबाट असहयोगका बाबजुद पनि प्रतिनिधि सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फबाट २० गरी ३८ सिट ल्याउन सफल भएको हो । विशेष महाधिवेशनको जगामा बनेको नयाँ नेतृत्व, नीति, कार्यक्रम र एजेन्डाको कारणले मात्रै यो परिणाम आएको हो । यसका लागि हार्दिक सम्मान छ सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई ।
कम्तीमा आज नेपाली कांग्रेस चुनावमा स्पष्ट धारणा, दृष्टिकोण र एजेन्डा लिएर जनतामा जान सक्यो । मुलुकको दोस्रो ठूलो राजनीतिक शक्ति भएको छ । आफ्नैले धोका दिँदा पनि ८४ स्थानमा उपविजेता बनेको छ । अब खाँचो छ नेपाली कांग्रेस पार्टी शुद्धीकरण, सुदृढीकरण अनि १५ औँ महाधिवेशन सम्पन्न गर्न । समेट्ने र मेलमिलाप गर्ने नाममा अब कांग्रेस विशेष महाधिवेशन भन्दा पछाडि फर्कन सक्दैन ।
भ्रष्टाचार र कुशासनमा स्पष्ट जिम्मेवार रहेका ब्यक्तिहरुलाई अब कांग्रेस जिम्मामा दिन सकिँदैन । नेपाली कांग्रेस पार्टी पछिल्लो दशक धेरै ठाउँमा चुकेकै हो। निरन्तर गठबन्धन, भ्रष्टाचार, कुशासन, परिवारवादका कारण कांग्रेस आम जनता र पार्टी कार्यकर्ताबाट टाढिँदै गइरहेको थियो । विशेष महाधिवेशनले पार्टीलाई जोगाउने र बचाउने काम गर्यो र नेपाली कांग्रेस पार्टी संगठनलाई “रेस्क्यु” समेत गर्यो ।
अनि नेपाली कांग्रेसको चुनावी परिणामको कारक माघ १–फागुन २१ को क्रियाकलाप बिलकुल होइन । भदौ २३ र २४ निम्त्याउने कारक र यो नतिजाको कारक एउटै हो। भ्रष्टाचार र कुशासनमा चुर्लुम्म डुबेको कांग्रेस नेतृत्व र परिवारबाट विशेष अधिवेशनले त कांग्रेस ” रेस्क्यु ” गरेर नेता तथा कार्यकर्तालाई जनतामाझ जाने ठाउँ दिएको हो ।
देउवा पक्षको असहयोगका बाबजुद कांग्रेस ३८ सिट लिएर प्रतिनिधि सभामा प्रवेश गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा झण्डै १८/२० लाख जनताको साथ, सहयोग र समर्थन पाएर अहिले नेपाली कांग्रेस मुलुकको दोस्रो ठूलो राजनीतिक शक्ति बनेको छ ।
यसपालि चुनावी घरदैलोका दौरान सोधिएका प्रश्नहरू गगन थापा लक्षित थिएनन्, पूर्व नेतृत्व लक्षित थियो । समय यति थोरै भयो कि फेरिएर आएको सन्देश सबै जनतामाझ पुर्याउन नयाँ नेतृत्वले सकेन । एक दशक लगाएर बिगारिएको पार्टीको छवि डेढ महिनामा सुधार्न सम्भव नभएकै हो।
अझ विशेष अधिवेशन पनि नभएको भए हालत के हुन्थ्यो भन्ने हरेक सच्चा कांग्रेसीले बुझेका छन् । अहिले ३८ स्थान लिएर घण्टी रास्वपा मुनि रहेको नेपाली कांग्रेस पुरानो नेतृत्व देउवा /आरजूलाई लिएर आम चुनावमा गएको भए श्रम संस्कृति पार्टी माटो मुनि पुग्ने चर्चा सामाजिक सञ्जालमा ब्याप्त छ ।
सत्ताको प्रलोभन दिँदा पनि ठूलो राजनीतिक जोखिम मोलेर विशेष अधिवेशन गर्ने सभापति थापा र उपसभापति शर्मा अहिले बदलिएको कांग्रेसका लागि गौरब र गर्व विषय बनेको छ । पार्टीका आम कार्यकर्ता भन्दै छन् -गगन र विश्व प्रकाश पछाडि हामी थियौँ, छौँ र निरन्तर रहने छौँ मात्रै होइन नेपाली कांग्रेसका नयाँ र युवा पुस्ता धेरै ठूलो आशा, भरोसा र विश्वास गगन थापा र विश्वप्रकाशप्रति रहेको छ ।
(लेखक गिरी कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं महासमिति सदस्य हुन्)
यो लेख NC Media Centre बाट लिइएको हो ।
