भारत अमेरिका नयाँ सरकारसँग काम गर्न उत्सुक
काठमाडौं, २२ फागुन ।
आम निर्वाचन २०८२ शान्तिपूर्ण सम्पन्न भएको भन्दै छिमेकी भारत र अमेरिकाले मतदातालाई बधाई र शुभकामना दिदैं निर्वाचन पछि बन्ने सरकारसँग काम गर्न उत्सुक रहेको बताएका छन् ।
अमेरिकाले आफ्नो फेसबुकमा भनेको छ ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई ।’ अमेरिकाले नेपालको सम्वृद्धि र सुरक्षासँग सम्बन्धित क्षेत्रमा सहकार्य गर्न उत्सुक रहेको बताएको छ । सूचनामा भनिएको छ ‘आगामी सरकारसँग हाम्रा दुबै देशका सम्वृद्धि र सुरक्षा सम्बन्धि साझा लक्ष्यहरुमा सहकार्य गर्न हामी उत्सुक छौं ।’
यता भारतको परराष्ट्र मन्त्रालयले बिहिबार साझ नेपालमा सम्पन्न निर्वाचन बारे प्रतिक्रिया जनाएको छ । मन्त्रालयले आफ्नो प्रकाशित गरेको सूचनामा नयाँ बन्ने सरकारसँग काम गर्न तत्पर रहेको उल्लेख छ । नेपालमा निर्वाचन सम्बन्धी सञ्चारकर्मीको प्रश्नको जवाफमा आधिकारिक प्रवक्ता श्री रणधीर जयसवाल को भनाई भन्दै भनिएको छ‘ हामी पारस्परिक हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर छौं।’
सूचनामा असाधारण परिस्थिति बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री सुशिला कार्की, सरकार, नेपाली जनता र विभिन्न सरोकारवालालाई बधाई दिइएको छ । प्रवत्ताले भनेका छन् ‘ गत वर्ष असाधारण परिस्थितिको पृष्ठभूमिमा भएका यी निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गरेकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, सरकार र नेपालका जनताका साथै विभिन्न सरोकारवालाहरूलाई बधाई दिन्छौं।’
प्रवक्ताले नेपाली नागरिकहरूले गरेको निर्वाचनको सफल सञ्चालन र आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोगको स्वागत गर्दछौं जसमा उत्साहजनक सहभागिता देखिएको उल्लेख गरिएको छ । प्रवक्ताले भारतले नेपालमा शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको छ र हाम्रो प्रतिबद्धता अनुरूप, यी निर्वाचनहरूको लागि नेपाल सरकारको अनुरोध अनुसार रसद आपूर्ति प्रदान गरेको बताएका छन् ।
