अधिवेशनबाट आएको नयाँ, टिका लगाएर टिकिरहने कसरी नयाँ ? : सदीक्षा कार्की
पुसको कठ्याङ्ग्रिदो जाडोमा विशेष अधिवेशन आयोजना गरेर मेची महाकाली जोडने काम भयो,
त्यहाँबाट जुन उर्जा प्राप्तभयो, त्यो उर्जा नसेलाओस्।
काठमाडौं, ४ माघ ।निर्वाचनको माहौलमा ज्वलन्तरुपमा उठेको र उछालिएको एउटा नारा हो, नयाँ र पुरानो । को नयाँ ? को पुरानो ? राजनीतिक पार्टीहरुको आआफ्नो ब्याख्या छ । नयाँ र पुरानाको एक किसिमको पक्ष विपक्ष बनेको छ, यतिखेर राजनीतिक वृतमा। सामाजिक अभियन्ता, दुर्गम पर्यटनको प्रचारक, इलामको चिया देखि काठमाडौंको फोहर व्यवस्थापनमा सक्रिय एउटा नाम हो सदीक्षा कार्की । झापाली कार्की जसले कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालाई २०७४ को निर्वानचनमा पराजित गर्न योगदान गरेकी थिइन । नेपालको राजनीतिक परिवर्तनहरुलाई, राजनीतिक आरोह अवरोहरुलाई मसिनोसँग केलाएकी सदीक्षाले नयाँ र पुरानोको सटिक उत्तर दिइन ।सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कांग्रेस डबलीमा कांग्रेस २.० (जेनजि कांग्रेस, टु प्वाइन्ट ओ)का सदस्य अनुकुल रेग्मीले प्रश्न राखे— मतदातामा अन्यौल छ, कसलाई नयाँ भन्ने कसलाई पुरानो ? सदीक्षाको उत्तर थियो ‘जो वैधानिक हिसावले अधिवेशन गरेर आएको छ, त्यहीँ नयाँ हो ।’ कुनै पनि राजनीतिक पार्टीको नाम लिइनन् उनले । ‘जसले स्थापनाकालदेखी अधिवेशन गरेको छैन्, टिका लगाएर टिकिरहेको छ, यसलाई यो पद, उसलाई यो पद भनेर बाँडेको छ । त्यो कसरी नयाँ हुनसक्छ’ कार्कील भनिन् ‘नयाँ भन्दैमा सबै नयाँ राम्रा हुँदैनन्, पुराना भन्दैमा सबै पुराना नराम्रा पनि हुँदैनन्।’
अनुभव, योग्यता अनि प्रश्नहरु गर्नसक्ने र प्रश्नहरुको उत्तर दिनसक्ने नै नयाँ हो ।आफू कांग्रेस नभएको,अहिलेसम्म कांग्रेसको कुनै सदस्यता नलिएको, पहिलो पटक कांग्रेस केन्द्रीय कार्यालयमा आएको स्पष्टीकरण दिदैं सदीक्षा कांग्रेसलाई सुझाव दिन भने पछि परिनन्। ‘पुसको कठ्याङ्ग्रिदो जाडोमा विशेष अधिवेशन आयोजना गरेर मेची महाकाली जोडने जुन काम भयो, त्यहाँबाट जुन उर्जा प्राप्तभयो, त्यो उर्जा नसेलाओस्’ सदीक्षाले भनिन् ।कांग्रेसले के के हुनुपर्दछ ? सदीक्षाले कांग्रेसले मुलुकभर १०६ जना युवाहरुलाई उमेदवार बनाएको, टिकट वितरण पारदर्शी भएको, कुनै किसिमको लेनदेनबाट मुक्त भएको चर्चा गरिन् ।भदौं २३ को जेनजि आन्दोलन र त्यसपछिको विध्वंशबारे सदीक्षाको विश्लेषण थियो—हामी नेपालीमा चाडै बिर्सिने बानि छ । कोही कहीँ केही भएको छैन भनेर झयाल, ढोका थुनेर बस्नेहरु पनि छन् । कोही जेनजि आन्दोलनको रगत खरानीमा होली खेलिरहेका छन् ।र, कोही मध्यमार्गी बाटो लिएर जेनजि आन्दोलनको जिम्मा पनि लिदैंछन् र जेनजि आन्दोलनलाई हिंसात्मक बनाउने माथि कानूनी कारवाहीको माग पनि गरिरहेका छन्।
भदौ २३, २४ को आन्दोलनको २, ३ दिन पछि त्यसबेलाका कांग्रेसका महामन्त्री गगन थापाले जेनजि आन्दोलनमा भएको क्षतीमा क्षमायाचना माग्दै आन्दोलन हुनपछाडि आफूहरुको पनि जिम्मेवारी भएको वक्तव्य आउँनुलाई गगनको ठूलो आँट र साहस हो भन्छिन् सदीक्षा ।कांग्रेस के हो ? भन्ने प्रश्नमा सदीक्षाले छोटो उत्तर दिइन् । भनिन् ‘ इतिहास भोगेको, भविष्य देखेको पार्टी।अहिलेको राजनीतिक माहौलमा तीनखाले व्यवहार देखिएको चर्चा उनले गरिन् । ‘जनजिविकाका प्रश्नहरुमा कोही उत्तर दिदैनन्‘ सदीक्षाले भनिन् ‘ एमालेका उमेदवारहरुलाई उत्तर दिन ग्राहो भै रहेको छ, कांग्रेस छाति फूँलाएर जान सकिरहेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा २००७ सालदेखि २०४६ सालसम्म कांग्रेस एक्लै लडेको भिडेको, २०४६ देखि दोश्रो जनआन्दोलनसम्म अन्य दललाई नेतृत्व दिदैं लोकतन्त्रका लागि भिडेको र त्यसपछि आन्दोलनलाई सस्थागत गर्न संविधान निर्माणमा कांग्रेसले नेतृत्व लिएको चर्चा गर्दे सदीक्षाले भनिन् ‘अब कांग्रेसले अहिलेको सविधान किन आवश्यक छ भन्ने चुनौती चिर्न सक्नुपर्दछ।’
नेपालको राजनीतिमा लोकप्रियतावाद हाबि भइरहेको वर्तमान अवस्थाबारेको प्रश्नमा सदीक्षाले गहकिला सुझाव दिइन।‘सामाजिक मिडियाको प्रभावले चेतनाको अपहरण भएको छ।आजका लागि यो समस्या बनेको छ, भोलीका दिनमा झन बढ्दै जाने खतरा छन्’सदीक्षाले भनिन्‘अब आउँने सरकारले यसमा काम गरोस् ।’युरोपियन देशहरुले सामाजिक साक्षरतामा काम गर्न थालिसकेको,१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक संजालबाट टाढा राख्ने र त्यो माथिकालाई नियमन गर्ने नीति बनाइरहेको चर्चा गर्दे उनले भनिन् ‘बेलैमा हामीले चेतना फैलाएनौ भने हामी भड्खालोमा पर्ने छौ।’
राजनीति बाहेक सदीक्षाले नेपालको पर्यटन, उद्यमधन्दा, कृषि लगायतका विषयमा कामयावी, गहकिला सुझावहरु दिइन् । ‘ विदेशीहरु यहाँ भौतिक विकास हेर्न आउँने होइन’ सदीक्षाले भनिन् ‘नेपालमा नेपाल नै हेर्न आउँने हो, हामीले नेपाललाई ब्राण्डिङ्ग गरौं ।’
भारतले इयुसँग गरेको पछिल्लो संझौताको चर्चा गर्दे सदीक्षाले भनिन्‘भारतले युरोपियन देशहरुमा बजारीकरण गर्देछ।त्यस्तो अवस्थामा हाम्रा किसानले कसरी लाभ लिन सक्छन् भनेर नीति बनाउनुपर्यो । उनले भनिन् ‘अब मल, बीउ,सिंचाई जस्ता मुद्धा अब पुराना भए ।’
नेपालले ग्रिन टि,अलैची,अदुवा सबैको ब्राण्डिङ्ग गर्नुपर्ने सुझाव उनको छ।
