सरकारी तथ्यांकले देखाउने “रेमिट्यान्स” वास्तवमा युवाहरूको पसिना, आँसु र कतिपय अवस्थामा प्राणको मूल्य हो

नेपाल विश्वकै सुन्दर हिमाली राष्ट्र , जहाँ प्रकृतिले उदार मनले सौन्दर्य र सम्पदा छरेकी छन ।  +तर विडम्बना , यही सुन्दर देश आज गहिरो मानवीय संकटको गर्भमा छ। प्राकृतिक सम्पदा जति समृद्ध छ, मानवीय सम्पदामा त्यति नै दरिद्र हुँदै गएको छ नेपाल । आज नेपालको सबैभन्दा मूल्यवान सम्पत्ति श्रमशील युवा शक्ति , तीव्र गतिमा विदेश पलायन भइरहेको छ। गाउँ–शहरका विद्यालय, क्याम्पस, खेत–बारी, कारखाना र निर्माण स्थलहरू क्रमशः युवाविहीन बन्दै गएका छन। बाटोघाटोमा हिँड्ने मानिसहरूको चहलपहल घट्दै , समाज बिस्तारै रित्तिँदै गएको अनुभूति भईरहेकोछ ।

दैनिक हजारौँ नेपाली युवा खाडी मुलुक, मलेसिया, कोरिया, जापान, युरोप र अमेरिका जस्ता देशहरु तर्फ वैदेशिक रोजगारीका लागि उडिरहेका छन। दुःखद सत्य के छ भने, दैनिकी दर्जनौँ युवाहरूको लास बाकसमा बन्द भएर स्वदेश फर्किरहेको छ।

सरकारी तथ्यांकले देखाउने “रेमिट्यान्स” वास्तव मा युवाहरूको पसिना, आँसु र कतिपय अवस्थामा प्राणको मूल्य हो । तर यही रेमिट्यान्सलाई उपलब्धि ठानेर गर्व गरिन्छ, “मेरो कार्यकालमा यति युवा  बाहिरिए  यति प्रतिशत रेमिट्यान्स मैले  बढाए ।”कठै ! हाम्रो सोच, हाम्रो नियत अनि हाम्रा शासकिय दृस्ठिकोणको दुर्भाग्य ।

युवा पलायनको गहिरो असर

युवाशक्तिको पलायनले देशको उत्पादन क्षमतामा गम्भीर गिरावट आएको छ। कृषि, लघु उद्योग , स्वदेशी उद्यम र निर्माण क्षेत्र श्रमशक्ति अभावले संकटग्रस्त बन्दैछ । हाम्रो आर्थिक आत्मनिर्भरता को सपना दिन प्रतिदिन अझ टाढिँदै गईरहेकोछ । यससँगै परिवार ,समाज र राष्ट्रबीचको भावनात्मक सम्बन्धमा पनि गहिरो दूरी बढ्दै गएको छ । यदि यही प्रवृत्ति निरन्तर रहिरह्यो भने, आगामी दशकमा नेपाल “युवा श्रम निर्यात गर्ने देश” समेत रहन नसक्ने अवस्थामा पुगदैछ । अन्य कुनै ठोस उत्पादन वा निर्यातको आधार नभएकाले, नेपालले भबिस्यमा निम्न गम्भीर संकटहरू भोग्नुपर्ने खतरा रहेकोछ  ।

सम्भावित गम्भीर संकटहरू

#जनसंख्यागत असन्तुलन – वृद्ध जनसंख्या बढ्ने , काम गर्ने उमेरका जनशक्ति अभाव हुने,आत्महत्या को दर तीव्र रूपमा बढ्ने ।

#आर्थिक परनिर्भरता – विदेशी बजार र अर्थतन्त्रमा पूर्ण निर्भरता ।

#सांस्कृतिक विच्छेद – परिवार विखण्डन, सामाजिक सम्बन्ध कमजोर, बालबालिकामा मनोवैज्ञानिक समस्या ।

#उद्योगीकरणमा अवरोध – युवावर्गको अनुपस्थितिमा स्वदेशी उत्पादन घट्दै अन्ततः ठप्प हुने ।

#सार्वभौमिकता र सुरक्षामा चुनौती – सेना, प्रहरी तथा राष्ट्रिय सुरक्षामा नेपाली युवाको न्यून उपस्थितिको अवस्थामा पुग्ने ।

#विकास निर्माण ठप्प – राष्ट्रिय गौरवका आयोजना र पूर्वाधार निर्माण  श्रम  अभावले प्रभावित हुने ।

#नीति निर्माणमा बाह्य प्रभाव – दक्ष स्वदेशी जनशक्ति अभावमा विदेशी वा अङ्गीकृत जनशक्ति लाई भित्र्याउनुपर्नेछ जसका कारण स्वदेशी  वर्चस्व  समाप्त हुनेछ ।

अब के गर्ने ?  सुधारका उपायहरू

# वैदेशिक रोजगारी होइन, स्वदेशी सम्भावनाको खोज : कृषिको आधुनिकीकरण, पर्यटन तथा जलविद्युतको बिकास व्यवसायीकरण र सहकारी प्रणाली प्रवर्द्धन गरी युवालाई आकर्षित गर्नुपर्छ । स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतामा राज्यको लगानी बढाउँदै स्वदेशमै अवसरको वातावरण तयार गर्नुपर्छ ।

#सीपमुखी र व्यावसायिक शिक्षा हुनुपर्छ : अब कागजी डिग्री होइन , सीप आधारित शिक्षा बिकाशको  आवश्यक छ । प्राविधिक तालिम , डिजिटल सीप , अनलाइन प्लेटफर्म र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ।

#लगानीमैत्री वातावरण : भ्रष्टाचार नियन्त्रण, सुशासन, नीति पारदर्शिता र सरल कर प्रणालीमार्फत स्थानीय उद्यममा लगानी गर्न सहज वातावरण बनाइनुपर्छ।

#सुशासन र युवा सहभागिता : नीति निर्माणमा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित हुनुपर्छ। गाउँ–नगर स्तरमै व्यावसायिक तालिम र रोजगारी सिर्जना गर्ने ठोस योजना लागू गर्नुपर्छ ।

नेपाली युवाले लिनुपर्ने सोच र निर्णय ,

विदेशलाई अन्तिम विकल्प नबनाऔँ,  श्रमको सम्मान गरौँ, आफ्नै माटोमा पसिना बगाउने संस्कारको  विकास गरौँ ।नेतृत्व चयन गर्दा राष्ट्रप्रेम र विकास दृष्टिकोणलाई आधार बनाऔँ।

नयाँ पुस्तालाई सीपयुक्त, आत्मनिर्भर र देशप्रेमी बनाऔँ । भ्रष्टाचार र भ्रष्टाचारीको सामाजिक बहिष्कार गरौँ। काम सानो–ठूलो हुँदैन , श्रम सबैभन्दा ठूलो हो , “स्वदेशमै केही गरौँ” भन्ने चेतना समाज एवं रास्ट्रभरि  फैलाऔँ ।

निष्कर्ष :

भविष्य अझै सम्भावनायुक्त छ, नेपाल आज युवाशक्तिविहीन बन्दै गएको यथार्थ भए पनि , समस्या बुझ्ने चेतना र सुधारको इच्छाशक्ति अझै बाँकी छ । सरकार , नागरिक समाज, परिवार र सम्पूर्ण नेपालीको साझा संकल्प भएमा यो संकटलाई अवसरमा बदल्न सकिन्छ । रेमिट्यान्समा निर्भर राष्ट्रबाट उद्यमशील र आत्मनिर्भर राष्ट्र बन्ने सपना असम्भव होइन , अभाव केवल हिम्मत , सही नीति र दृढ कार्यान्वयन को हो । नेपालको भविष्य स्वदेशमै युवालाई सुरक्षित , सम्मानित र स्वावलम्बी बनाउनुमा निहित छ । आफ्नै परिवार, समाज र माटोसँग रमाउँदै, सत्य र न्यायका पक्षमा साहसपूर्वक उभिँदै , झुटा भाषण होइन, साँचो संकल्प लिएर ,अबको राजनीति र राष्ट्रनिर्माण युवाशक्तिको हातमा सुम्पिनु आजको आवश्यकता हो।

अहोभाव, प्रेम देखि परमात्मा सम्म, जय श्रीकृष्ण 🙏