इन्द्र बानियाँले ३८ को सामथ्र्य जुटाउनसक्नु भनेको एमाले नेकपाको ५३ नपुगोस भन्नुमा केन्द्रीत छ वा ३८ को बललाई ५३ पु¥याउने कुनै राजनीतिक अस्त्र अगाडि सारेका हुन् ?  उनले लौरोको सहारा किन लिए ? समयक्रममा  यी प्रश्न स्पष्ट हुँदै जाने छन् । 

काठमाडौं, २८ साउन ।
प्रदेशको राजनीतिमा एमाले नेकपाबीचको सहमतिलाई बागमति प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चुनौती दिएका थिए । प्रदेश राजनीतिको सत्ता समीकरण फेरबदल राजनीति चलिरहेको समयमा १४ वटा मन्त्रालय घटाएर ८ वटामा सिमित गरेका बानियाँले पछिल्लो समय अर्को प्रयोग गरेका छन् । आफै अल्पमतमा रहेका बानियाँले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान ब्रजाचार्यलाई मन्त्री बनाएका छन् । शैलेन्द्र साउन १९ मा मन्त्री बनेका हुन् । लौरो चुनावचिन्ह रहेको हाम्रो नेपाली पार्टी अहिले त्यहीँ पार्टीकाकोरुपमा छैन । हाम्रो नेपाली पार्र्टी निर्वाचन आयोगमा सोहि निर्वाचन चिन्ह सहीत देश विकास पार्टीमा रुपान्तरण भएको छ । आयोगमा देशविकास पार्टी अध्यावधिक भएको छैन भने बागमति प्रदेश कार्यालयमा हामि नेपाली पार्टी, देश विकास पार्टीमा रुपान्तरण भएको खबर पुगेको पनि छैन । हाम्रो नेपाली पार्टी रुपान्तरण हुँदै आम निर्वाचन २०८२ अघि देश विकास पार्टी बनेको हो । जुन प्रकारान्तले प्रधानमन्त्री बालेन्द्र शाहसँग नातागोता रहेको घटनाक्रमहरुले संकेत गर्दछन् ।

बागमतिको संसदमा अहिले १०४ सांसद छन्, सभामुख छैनन्, उपसभामुख अप्सरा चापागाई समेतको संख्या हो यो । उनले सभाको अध्यक्षता गर्नुपर्ने जिम्मेवारीमा भएकाले मतदान गर्न पाउँदिनन् । कांग्रेसका मुख्यमन्त्री बानियाँ, कांग्रेसको प्रदेश सभापति हुन् । उनले भदौ १ गते विश्वासको मत लिने बताएका छन् । कांग्रेस एमाले समीकरणबीच आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदच्यूत गरेर सत्तासिन भएका बानियाँलाई दिएको समर्थन एमालेले साउन ६ गते औपचारिकरुपमा फिर्ता लिएको थियो ।
एमालेले नेकपासँग नयाँ समीकरण गरेपछि बागमति प्रदेशको राजनीति नयाँ मोडमा उभिएको छ, कसरी कसकसको कस्तो समीकरण बन्ने हो, सरकार बनेपछि कसरी टिक्ने हो, एकिन  दृश्य सामुन्नेमा देखिन्न ।
कांग्रेसका बानियाँ, पार्टीको वर्तमान केन्द्रीय संरचना भन्दा फरक विचार राख्ने नेता हुन् । सहमतिको नारा दिएर जता पनि उभिनसक्ने कांग्रेसको उदारपनाको संस्कारमा उनले कांग्रेस केन्द्रीय समिति बैंठकमै बागमतिको सत्ता समीकरणमा पार्टीले भूमिका खेल्नुपर्ने आग्रह गरेका थिए केही दिन अघिमात्र। उनको आग्रहलाई सत्ताकालागि कोहीसँग गठबन्धन नगर्ने बरु प्रतिपक्षमा बस्ने कांग्रेस नीति बागमतिकोहकमा कसरी र कुनरुपमा प्रयोग हुने हो ? हेर्न बाँकी छ ।
प्रदेशको गणितमा कांग्रेस सबै भन्दा ठूलो दल हो । उसका ३६ सांसद छन् । एमालेका उपसभामुख सहीत २५ र नेकपाका २६ सांसद छन् । त्यस्तै, राप्रपाका १२ नेककिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
के देखिन्छ भने लौरोको समर्थन पाएपछि पनि कांग्रेसको बल जम्मा ३८ को हुन्छ । सरकार बनाउन, टिकाउन कम्तिमा ५३ मत आवश्यक हुन्छ । इन्द्र बानियाँले ३८ को सामथ्र्य जुटाउनसक्नु भनेको एमाले नेकपाको ५३ नपुगोस भन्नुमा केन्द्रीत छ वा ३८ को बललाई ५३ पु¥याउने कुनै राजनीतिक अस्त्र अगाडि सारेका हुन् ?  उनले लौरोको सहारा किन लिए ? त्यो समयक्रममा  यी प्रश्न स्पष्ट हुँदै जाने छन् ।

कांग्रेस, एमाले र नेकपा बाहेकका दलहरु मध्ये नेमकिपा सत्तामा नजाने र कसैलाई समर्थन पनि नगर्ने उसको मौलिक नीति हो । सक्रिय राजतन्त्र र मुलुक हिन्दूधर्मवादी हुनुपर्दछ भन्ने मुख्य राजनीतिक माग बोकेको राप्रपा कसको पक्षमा हुने हो ? कसले समर्थन जुटाउने हो उसको ? संभवत कांग्रेस पार्टी नेतृत्वले कुनै चासो र भूमिका नखेल्ने, प्रदेश प्रमुख बानियाँकै जिम्माका छोड्ने नीति लिन सक्छ । बानियाँ, राजनीतिक सामथ्र्यमा बागमतिमा बलिया देखिन्छन्, कांग्रेस राजनीतिमा । क वर्गका ठेकेदार उनले राप्रपाको साथ समर्थन लिने संभावना औंल्याउँछन् कतिपय राजनीतिककर्मी । त्यसो त सिंगो राप्रपालेसाथ दिँदा पनि कांग्रेसले सरकार बनाउन र टिकाउन पुग्दैन । त्यो भनेको ५० को सांसद संख्यामात्र हो । कसैलाई समर्थन नगर्ने तर सरकार नबन्ने अवस्थामा भने आफ्नो भूमिका हुने रणनीतिक पाजिसनमा छ, राप्रपा यतिखेर ।
राप्रपा आफै पनि विभाजनको दुश्चक्रबाट गुज्रिएको छ । धवल शम्सेर र दुर्गा प्रसाइको ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । त्यस अर्थमा बागमतिको राप्रपा अहिलेकै अवस्थामा सिंगो रहनसक्ने हो वा होइन ?

एमालेमा अविश्वास प्रस्ताव
यता, एमालेको संसदीय राजनीति पनि सङ्लो छैन । प्रतिपक्षी नेता हुन्जेल पार्टी संसदीय दलको नेताको पगरी गुतेका जगन्नाथ थपलियालाई पार्टी अध्यक्ष केपि शर्मा ओलीले रुचाएनन् । अप्ठारो अवस्थामा पार्टी अध्यक्षलाई गुण्डुमा बसोबासका निम्ति आमन्त्रण गर्ने, बसोबासको व्यवस्था गर्ने महेश बस्नेतको चाहना आफ्नो टिमका किरण थापालाई मुख्यमन्त्री बनाउने योजनामा ओलीले समर्थन गरेका छन् । साउन १८ मा ओली निवास गुण्डुमा मुख्यमन्त्रीको कमान कसले सम्हाल्ने भन्ने विषयको छलफलकै क्रममा थपलिया अचेत भएर ढलेका थिए । डाइबिटिजका बिरामी उनलाई तत्काल अस्पताल लगियो । ठिमी स्थित मध्यपुर अस्पतालमा उपचार पछि  थप उपचार आवश्यक भन्दै वीर अस्पतालमा लगिएको थियो । उनी स्वास्थलाभ गर्दे डिस्चार्ज भएका छन् । साउन २७ मा अस्पतालबाट डिस्चार्ज भएर स्वास्थलाभ गरिरहेका थपलियालाई सोही दिन पार्टीका तर्फबाट उपहार दिइयो — ओलीका अनुयायी १८ जना सांसदले थपलिया विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरे । थपलिया सहित ७ जनाको हस्ताक्षर छैन त्यसमा । के देखिदैछ भने एमालेका थपलियाको स्थानमा किरण थापा संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने छन् । यता, कांग्रेसका संसदीयदलका नेता बानियाँ, अविश्वासको मतमा पराजित भएर प्रतिपक्षिय भूमिकामा सीमित हुनेछन् ।

संभावित समीकरण : एमाले, नेकपा,राप्रपा
अहिलेसम्मको राजनीतिक परिदृश्यले औल्याउँदै छ ,बानियाँले विश्वासको मत लिन सक्तैनन्, उनलाई लौरोको भरथेगले सत्तासिन भैरहन साथ पुग्दैन । राजनीति संसयपूर्ण र रहस्यमय देखिदैछ,   कारण लौरौको उत्पत्ति र देश विकास पार्टीसम्ममा रुपान्तरणको राजनीति पारदर्शि देखिन्न ।
सामान्य राजनीतिक हिसावमा बानियाँ पछि एमालेका किरण थापा मुख्यमन्त्री हुनेछन् । उनले एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ, त्यत्तिन्जेसम्ममा राप्रपा सिंगो रहेर वा फुटेर भएपनि उनलाई साथ दिनसक्छ ? अथवा, त्यत्तिन्जेलसम्म लौरो एमाले तिर लाग्ने र राप्रपाबाट सभामुख बनाएर फकाउन सकियो भने विश्वाको मतका लागि ५३ पुग्दछ । एमाले, नेकपा ५१, लौरो २ वा राप्रपाको सहयोग ? एमालेका किरण थापाको राजनीतिक पृष्ठभूमि पनि राप्रपानै हो ।