झापामा मानव–हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो,२८ हात्ती मरे
क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्धन्द बढ्नुका प्रमुख कारण मानिन्छ ।
काठमाडौं १८ साउन ।
मानव— हात्ती द्धन्द प्रमुख चुनौती बनेको छ । खास गरेर झापाको उत्तरी क्षेत्रमा जो हात्तीको वंशानुगत मार्ग हो त्यसक्षेत्रमा बढी द्धन्द हुने गरेको छ । डिभिजन जन कार्यालय झापासँग उपलब्ध पछिको १६ वर्षको तथ्याङ्गले ८० जनाले हात्तीको आक्रमणबाट ज्यान गएको छ भने यही समयमा २८ वटा हात्ती मरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादव वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण भएको बताउँछन् । यादवका अनुसार झापामा वन क्षेत्र निकै कम छ ।

‘राष्ट्रिय आधारमा नेपालको कूल वनक्षेत्र ४६ प्रतिशतमा छ, तर झापामा राष्ट्रिय औसतको निकै कम ११ प्रतिशतमात्र वन क्षेत्र छ ’ यादवले भने ‘ यहाँ भारतबाट समेत ठूलो समुहमा हात्तीहरु आउँछन्, उनीहरु हिडनेबाटो मिचिनु, वन क्षेत्र मासिदै गएपछि आहारमा लागि आवादीमा पस्दछन् ।’
यादवका अनुसार हात्तीको भय झापा जिल्ला भरी नै छ । विशेष गरेर उत्तरमा बाहुनडाँगीदेखि दमकसम्मको क्षेत्र र दक्षिणमा भद्रपुर, हल्दिवारी, कचनाकलव, झापा गाविसमा हात्तीहरु बढी विचरण हुने क्षेत्र हुन् । उत्तरमा चुरे, महाभारतको वन क्षेत्र र दक्षिणमा जलथल वन क्षेत्र हात्तीका क्षेत्र हुन् ।
‘हात्ती आफ्ना वंश जहाँबाट हिड्दथे त्यहीँ बाटोबाट हिडन चाहन्छ । उनीहरु हिडने बाटोमा हिजो वन जङ्गल थियो, अहिले त्यहाँ बस्ती बस्यो’ यादवले भने ‘ मानवीय हस्तक्षेप भएको छ उसको बाटोमा । बाटो पनि छैन, आफ्नो आहार खोसिएको अवस्था हो ।’
अनुसार विसं २०६७ असार ३ गतेदेखि विसं २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका छन । कार्यालयका अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०८२÷८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए ।
मानिस मात्र होइन, मानव–हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादव बताउँछन् । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका उनी बताउँछन् । वितेको आर्थिक वर्षमा ३ वटा हात्ती मरेका थिए । एउटा डार्ट गर्दा मरेको थियो भने अरु दुई अन्य कारणले मरेका हुन् ।
कार्यलयका अनुसार २०६७ मा २ जना, ६८ मा ७ जना, ६९ मा ७ जना, ७० मा ३ जना २०७१ मा २ जना, ७२ मा ४ जना, ६३ मा ५ जना, ७४ मा ५ जना, ७५ मा १ जना, ७६ मा १ जना, ७७ मा ५ जना, ७८ मा ५ जना, ७९ मा ५ जना, ८० मा ८ जना, ८१ मा अघिल्लो आर्थिक वर्षमा ६ जनाको मृत्यु भएको छ । यसबीच १० जना गैर नेपालीको मृत्यु भएको छ ।
मानवीय क्षतीलाई न्यूनिकरणका प्रयास पनि भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको बजेटमा झापाका हात्ती विचरण गर्ने प्रमुख नाकाहरुमा विद्युतिय घेरबार गरिएको छ । यादवका अनुसार झापाका सबै क्षेत्रमा गरेर ७०, ८० किलोमीटर विद्युतिय घेरबार गरिएको छ । ‘ विद्युतिय घेरबारको राम्रो संरक्षण भएको स्थानमा हात्तीहरुको प्रभावकारी नियन्त्रण भएको छ’ यादव भन्छन् ‘ कतिपय अवस्थामा तारबार काट्ने काम भएका छन्, विभिन्न सामान सीमा वारपार गराउने तस्करहरुले घेराबार काटिदिने समस्या पनि छ ।’
यादव द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी र उद्धारका गतिविधि सञ्चालन भइरहेको बताउँछन् ।
नोट : समाचार रासस समाचारमा आधारित छ । तस्बिर : फाइल फोटो, रेडियो नेपाल अनलाइन ।

