काठमाडौं, ८ साउन ।
अष्ट्रेलियाली डिपार्टमेण्ट फर फरेन अफेयर्स एण्ड ट्रेड DFAT को दक्षिण तथा मध्य एशिया महाशाखाका प्रथम सहायक सचिव सेरा स्टोरीको नेतृत्वमा आएको अष्ट्रेलिया सरकारको वरिष्ठ प्रतिनिधिमण्डलले नेपालको तीन दिने भ्रमण सम्पन्न गरेको छ। भ्रमणका क्रममा दुई देशबीचको विद्यमान बलियो र दीर्घकालीन साझेदारीलाई जोड दिंदै व्यापार, लगानी, शिक्षा, जलवायु परिवर्तन तथा दिगो विकास लगायतका क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू पहिचान गरिएको छ।

भ्रमणका क्रममा स्टोरीले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राइसँग संयुक्त रूपमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्र BCM  को तेस्रो बैठकको सहअध्यक्षता गरे। साथै, उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीसँग संयुक्त रूपमा व्यापार तथा लगानी रूपरेखा व्यवस्था TIFA समिति को पहिलो बैठकको पनि सहअध्यक्षता गरे। यी सचिवस्तरीय समिति बैठक दुई देशबीचको आर्थिक सहकार्य विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम रहेको अष्ट्रेलियन दूतावासले जनाएको छ ।

बैठकहरूमा द्विपक्षीय सम्बन्धलाई अझ गहिरो बनाउने तथा क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझा हितहरू अघि बढाउने विषयमा दुवै सरकारको साझा प्रतिबद्धता ब्यक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । अष्ट्रेलियाले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण योगदान प्रति सम्मान प्रकट गरेको छ। उनीहरूको सीप, उद्यमशीलता, लगानी तथा मेहनती स्वभावले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन योगदान पुर्‍याइरहेको छ।

द्विपक्षीय संयन्त्रका बैठकहरुका साथै स्टोरीले परराष्ट्रमन्त्री माननीय शिशिर खनाल तथा अर्थमन्त्री माननीय डा। स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका छन्।

 

द्विपक्षीय सम्बन्धमा शिक्षाको विशेष महत्वलाई ध्यानमा राख्दै, स्टोरीले एक स्वागत समारोहमा अष्ट्रेलियाली विश्वविद्यालयहरूबाट अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीहरूसँग अन्तरक्रिया गरे। उनले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी, शिक्षाविद्, युवा नेताहरू तथा वैदेशिक नीति क्षेत्रका विज्ञहरूसँग पनि भेटघाट गर्दै अष्ट्रेलिया–नेपाल सम्बन्धको भावी दिशाबारे छलफलको नेतृत्व गरे। कार्यक्रममा बोल्दै स्टोरीले अष्ट्रेलिया–नेपाल साझेदारीको आधारभूत मूल्यहरूबारे प्रकाश पारे।

“लोकतान्त्रिक मूल्य तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति हाम्रो साझा प्रतिबद्धताहरु हाम्रो सम्बन्धको महत्वपूर्ण आधारस्तम्भ हो। यसले साझा हितहरू प्रवर्द्धन गर्नका निमित्त मिलेर काम गर्ने बलियो आधार प्रदान गर्छ,” स्टोरीले भने।

स्टोरीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ICIMOD अन्तर्गतको गोदावरी स्थित लिभिङ माउन्टेन ल्याब को पनि भ्रमण गरे। ICIMOD सँग अष्ट्रेलियाको साझेदारी तथा जलवायु परिवर्तनका प्रभावहरू सम्बोधन गर्न अष्ट्रेलियाको प्रतिबद्धताबारे चर्चा गर्दै उनले प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा क्षेत्रीय सहकार्य र ज्ञान आदानप्रदानलाई अष्ट्रेलियाले निरन्तर साथ रहिरहने बताए ।
यस भ्रमणले अष्ट्रेलिया–नेपाल बिचको सुमधुर सम्बन्धलाई थप गतिशील बनाउनुका साथै आगामी वर्षहरूमा अझ गहिरो सहकार्यका अवसरहरू सृजना गरेको विज्ञप्तिमा उल्लेख छ ।