युक्रेन युद्ध अन्त्यका लागि जेलेन्स्कीसँगको भेटवार्ताको औचित्य छैन : पुटिन
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बिहीबार पुटिनलाई एक खुला पत्र पठाउँदै प्रत्यक्ष वार्ताको आह्वान गरेका थिए । जवाफमा पुटिनले भनेका छन् “पहिले विज्ञहरूलाई काम गर्न दिऔँ र केही समाधान निकालौँ, त्यसपछि मात्र हामी भेट्न सक्छौँ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग आमनेसामने वार्ता गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पारेका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दुई देशबिच जारी युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बिहीबार पुटिनलाई एक खुला पत्र पठाउँदै प्रत्यक्ष वार्ताको आह्वान गरेका थिए। सन् २०२२ मा रुसले युक्रेनमाथि सुरु गरेको पूर्ण(स्तरको आक्रमणपछि सिर्जित यस युद्ध अन्त्यका लागि अमेरिकाको मात्र मुख ताकेर “पर्खिरहनु गलत हुने” जेलेन्स्कीले पत्रमा उल्लेख गरेका थिए। पत्रमा उनले युद्ध विरामको माग गर्नुका साथै रुसी नेतृत्वमाथि कडा र केही हदसम्म व्यङ्ग्यात्मक शैली प्रस्तुत गरेका थिए।
रुसको सेन्ट पिटर्सबर्गमा आयोजित वार्षिक आर्थिक मञ्चमा बोल्दै राष्ट्रपति पुटिनले जेलेन्स्कीको पत्र “शिष्ट नरहेको” टिप्पणी गरे। उनले तत्काल भेटवार्ताको सम्भावनालाई अस्वीकार गर्दै कुनै पनि युद्ध विराम अघि शान्ति सम्झौताका सर्तहरू तय हुनुपर्ने आफ्नो पुरानो अडान दोहोर्याए।

पुटिनले भने, “अहिलेका लागि म यस्तो भेटघाटको कुनै औचित्य देख्दिनँ। यो पत्र प्रत्यक्ष वार्ताको वातावरण बनाउनका लागि पठाइएको हो कि वार्ता भाँड्नका लागि ? मलाई लाग्छ यो दोस्रो उद्देश्यका लागि थियो।”
पुटिनको जवाफपछि जेलेन्स्कीले रुसले “पुनः युद्ध नै रोजेको” आरोप लगाएका छन्। उनले टेलिग्राममा लेखेका छन्, “पुटिन युद्ध अन्त्य गर्न चाहँदैनन्। मलाई लाग्छ उनको यो जवाफबाट विश्वका धेरै मानिसहरू निराश भएका छन्।”
राष्ट्रपति पुटिनले युद्ध विरामले युक्रेनलाई आफ्ना सेना पुनर्गठित गर्ने मौका मात्र दिने दाबी गरे। उनले मस्कोले राखेका सर्तहरू किभले पूरा नगरेसम्म युद्ध नरोकिने सङ्केत गरे। “युक्रेनी पक्षले हाम्रा सशस्त्र बलहरूको अगाडि बढ्ने प्रक्रियालाई रोक्न मात्र यो प्रस्ताव गरेको हो। तर हामीलाई तीन वा छ महिनाको होइन, दीर्घकालीन सम्झौता चाहिन्छ,” पुटिनले थपे, “पहिले विज्ञहरूलाई काम गर्न दिऔँ र केही समाधान निकालौँ, त्यसपछि मात्र हामी भेट्न सक्छौँ।”
रुसले युद्ध अन्त्यका लागि युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रहरू खाली गर्नुपर्ने र नेटोमा आबद्ध हुने प्रयास त्याग्नुपर्ने अडान राख्दै आएको छ। यता युक्रेनले भने आफ्नो कुनै पनि भूभाग नत्याग्ने स्पष्ट पारेको छ।
जेलेन्स्कीले आफ्नो पत्रमा पुटिनको २६ वर्षे शासनकाल र उनको उमेरलाई लिएर पनि टिप्पणी गरेका थिए। साथै उनले बिहीबार सेन्ट पिटर्सबर्गमा भएको युक्रेनी आक्रमणलाई पुटिनलाई “भेट्न आएको” भन्दै व्यङ्ग्य गरेका थिए। यसै कारण पुटिनले पत्रको भाषा अभद्र भएको बताएका हुन्।
श्रोत: आइएनएस (स्वतन्त्र समाचार)
कभर तस्बिर : तासन्यूज एजेन्सी

