काठमाडौं, २१ जेठ ।

विश्वकप फुटबल प्रतियोगिता सुरु हुन मात्र एक हप्ता बाँकी छँदा विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) विरुद्ध अहिलेसम्मकै सबैभन्दा ठुलो उजुरी दर्ता गराउने उद्देश्यका साथ एउटा विशेष अभियान सुरु गरिएको छ। ‘रिबुट फिफा’ नाम दिइएको यस अभियानमार्फत फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोमाथि पदीय आचरण विपरीत काम गरेको आरोपमा छानबिन गर्न माग गरिएको छ।

मानवाधिकारवादी संस्था ‘फेयरस्क्वायर’ को नेतृत्वमा बिहीबारदेखि सुरु भएको यस अभियानलाई फुटबल अभियन्ता, लेखक तथा खेलविज्ञहरूले साथ दिएका छन्। विश्वकपका क्रममा दर्शकको सुरक्षा, टिकटको चर्को मूल्य र फिफाको आर्थिक पारदर्शितालाई लिएर विश्वभर आक्रोश बढिरहेका बेला यो सामूहिक उजुरीको तयारी गरिएको हो।

अभियानकर्ताहरूका अनुसार विश्वकप सकिए लगत्तै यो उजुरी फिफाको आचार समितिमा बुझाइनेछ। फिफा अध्यक्ष इन्फान्टिनोले संस्थाको आचारसंहिताको धारा १५ (जसले कर्मचारीहरूलाई राजनीतिक रूपमा तटस्थ रहन निर्देशन दिन्छ) लाई चार पटकसम्म उल्लङ्घन गरेको दाबी उजुरीमा गरिएको छ।
विशेष गरी, इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित ‘शान्ति शिखर सम्मेलन’ मा सहभागिता जनाएको र पछि ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेको विषयलाई मुख्य मुद्दा बनाइएको छ। फेयरस्क्वायरका निर्देशक निक म्याकगीहनले भनेस्

“एउटा विश्वकप सहभागी राष्ट्रमाथि गैर कानुनी रूपमा युद्ध थोपर्ने व्यक्तिलाई फिफाले शान्ति पुरस्कार दियो। यसबाट फुटबल प्रेमीहरू आक्रोशित छन्। हामी फिफामा अर्थपूर्ण सुधार ल्याउन यो जनआक्रोशलाई सही दिशा दिँदै दबाब सिर्जना गर्दै छौँ।”

यस अभियानलाई नर्वेली फुटबल सङ्घकी अध्यक्ष तथा फिफा सुधार अभियानकी प्रखर संवाहक लिसे क्लाभनेसले समेत समर्थन गरेकी छन्। नर्वेली फुटबल सङ्घले फिफाको आचार समितिलाई पत्र लेख्दै यस छानबिनको पक्षमा ऐक्यबद्धता जनाइसकेको छ।

फेयरस्क्वायर र यसका समर्थकहरूले फिफामा तत्काल व्यापक संरचनात्मक सुधारको माग गर्दै मुख्य तीन वटा बुँदाहरू अघि सारेका छन्। उनीहरूले फिफाले आफ्ना सदस्य राष्ट्रहरूलाई बाँड्ने अर्बौँ डलरको कडा र पारदर्शी रूपमा वित्तीय लेखापरीक्षण हुनुपर्ने कुरामा जोड दिएका छन्। यसका साथै, संस्थाभित्र कार्यकारी शक्तिको पृथकीकरण गर्दै फिफाको व्यावसायिक पाटो र नियमनकारी एवं सुशासन सम्बन्धी कार्यहरूलाई पूर्ण रूपमा अलग गरिनुपर्ने उनीहरूको माग छ। समग्र प्रणालीमा पारदर्शिता ल्याउनका लागि फिफाका सबै न्यायिक निर्णयहरू सार्वजनिक गरिनुपर्ने र मिडियासँगको पहुँचलाई बढाएर सार्वजनिक जबाफदेहिता सुनिश्चित गरिनुपर्ने कुरालाई समेत अभियानकर्ताहरूले मुख्य मुद्दा बनाएका छन्।

यता फिफाले भने आफूमाथि लागेका आरोपहरूको खण्डन गरेको छ। फिफाका प्रवक्ताले विगत एक दशकमा संस्थाले सुशासन र व्यवस्थापनमा ऐतिहासिक सुधार गरेको दाबी गरेका छन्। फिफाका अनुसार सन् २०१६ देखि नै व्यावसायिक सञ्चालन र कार्यकारी निकाय ९फिफा काउन्सिल० लाई अलग राखिएको छ र प्रत्येक वर्ष स्वतन्त्र विश्व स्तरीय अडिटर्सबाट आर्थिक जाँच हुने गरेको छ।

फिफाका प्रवक्ताले थपे, “हामीले फुटबलको विकासका लागि विश्वभर ५ अर्ब डलरभन्दा बढी रकम वितरण गरेका छौँ। अमेरिकी न्याय विभागले समेत फिफाको सुधारलाई स्वीकार गर्दै विगतको भ्रष्टाचारको क्षतिपूर्तिबापत २०१ मिलियन डलर फिफा फाउन्डेसनलाई फिर्ता दिएको छ। फिफा अहिले अन्तर्राष्ट्रिय एजेन्सी र गैरसरकारी संस्थाहरूको एक विश्वसनीय साझेदार बनिसकेको छ।”

त्यस्तै, राष्ट्रपति ट्रम्पसँगको आफ्नो सम्बन्ध र पुरस्कारको बचाउ गर्दै अध्यक्ष इन्फान्टिनोले भनेका छन्, “वस्तुगत रूपमा हेर्ने हो भने ट्रम्प यो पुरस्कारका लागि योग्य छन्। उनले धेरै द्वन्द्व समाधान गर्न र हजारौँको ज्यान जोगाउन भूमिका खेलेका छन्। विश्वकपको सफल आयोजनाका लागि अमेरिकी राष्ट्रपतिसँग निकट सम्बन्ध हुनु निकै महत्त्वपूर्ण कुरा हो।”

विश्वकपको सँघारमा सुरु भएको यो अभियान र फिफाभित्र चुलिँदो राजनीतिक विवादले आगामी दिनमा फुटबल जगतमा कस्तो मोड लिने हो, त्यो भने हेर्न बाँकी नै छ।

श्रोतः आइएनएस(स्वतन्त्र समाचार) तस्बिर :तस्बिर : एन्फा