रविको भारत भ्रमण : राजनीतिक कूटनीतिक वृतमा चासो
प्रधानन्त्री बालेन्द्रको भ्रमणको टुंगो नलागेर दिल्लीसँगको सम्बन्धबारे प्रश्नहरु सार्वजनिक भइरहेको समयमा रविले पार्टीगत भ्रमण गर्न लागेका छन् ।
काठमाडौं १८ जेठ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दिल्ली भ्रमणमा जाँदै छन् । काठमाडौं दिल्लीबीचको सम्बन्ध चिसीएको अर्थ लागेर प्रश्नहरु मुखरित भैरहेको समयमा हुन लागेको रविको दिल्ली भ्रमण राजनीतिक, कूटनीतिकवृतमा चासोको विषय बनेको छ ।
आइबार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा अचानक उपस्थित भएर लिम्पियाधुरा, कालापानी मामलामा दिएको अभिव्यक्तिले राजनीतिकवृत तरङ्गित भैरहेको पृष्ठभूमिमा अबेर राती भ्रमण सम्बन्धी कार्यक्रमहरु सार्वजनिक भएका छन् । बालेन्द्रले कालापानी विवाद सम्बन्धी प्रतिनिधिसभाका सांसदको उत्तरमा नेपालले समेत भारतीय भूमि अतिक्रमण गरेको अभियक्तिलाई लिएर प्रतिक्रियाहरु आइरहेका छन् ।
रास्वपा सभापति रवि भारतको भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले निम्तामा दिल्ली भ्रमणमा जान लागेका हुन् । भाजपाको निम्तामा दिल्ली जान लागेका रविका जेठ १८ देखि २२ सम्मका कार्यक्रम तय गरिएको छ । रवि रामजन्म भूमि अयोध्या भ्रमणमा जानसक्ने बताइएको छ ।
भाजपाले आइतबार राती १० बजेपछि भ्रमण सम्बन्धि कार्यक्रम सार्वजनिक गरेपछि रास्वपाले पनि आफ्नो तर्फबाट कार्यक्रम सार्वजनिक गरेको हो ।
पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक, कूटनीतिक भेटवार्ता गरर्ने भनिएको छ । रविले विशेष गरेर सत्ताधारी भाजपा नेतृत्वसँग भेटघाट तथा छलफल गर्नेछन् । उनले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
लामिछानेको साथ भ्रमणमा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन् ।
रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको बताइएको छ । रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबिचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको पृष्ठभूमिमा यो भ्रमण हुन लागेको हो । महाधिवेशन २०८३ असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने कार्यक्रम छ ।
कालापानी विवादमा प्रधानमन्त्री बालेन्द्र शाहले भारतलाई वैशाख २० मा प्रेस नोट पठाएपछि दुई देशको राजनीतिक कुटनीतिक सम्बन्ध चिसिएको थियो । यसैबीच भारतीय विदेश सचिव विक्रम मिश्रीको तय भैसकेको नेपाल भ्रमण वैशाख २६ मा रद्द भयो । प्रधानमन्त्री बालेन्द्रले कालापानीकै प्रश्नलाई विषयान्तर गर्ने गरी नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य अर्थमा लिन मिल्दैन । सतहमा देखिएका क्रियाप्रतिक्रियाबीच प्रधानमन्त्रीको अभिव्यक्तिको गहिरो अर्थ र अन्तर्य देखिन्छ ।
बालेन्द्रको आकस्मिकरुपमा संसदमा उपस्थित भएर संसदमा दिएको अभिव्यक्ति प्रचण्ड बहुमत सहित सत्तासिन रास्वपा जुन नेपालको राजनीतिमा आफैमा नयाँ अभ्यास हो । प्रधानन्त्री बालेन्द्रको भ्रमणको टुंगो नलागेर दिल्लीसँगको सम्बन्धबारे प्रश्नहरु सार्वजनिक भइरहेको समयमा रविले पार्टीगत भ्रमण गर्न लागेका छन् ।
तस्बिर : गोरखापत्रबाट साभार

