इतिहासकार ज्ञानमणि नेपाल स्मृतिग्रन्थ लोकार्पण
काठमाण्डौ, २ जेठ ।
नेपालका प्रतिष्ठित इतिहासविद् ज्ञानमणि नेपालको स्मृतिमा ‘ इतिहास पुरुष ज्ञानमणि नेपाल’ स्मृतिग्रन्थ लोकार्षण गरिएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी तथा न्यायशताब्दी पुरुष कृष्णप्रसाद भण्डारी लगायतका प्राज्ञहरुले संयुक्तरुपमा ग्रन्थको लोकार्पण गरे ।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठामा बिहिबार आयोजित विशेष कार्यक्रमबीच लोकार्पण गरिएको ग्रन्थमा इतिहासकार ज्ञानमणि नेपालको आफ्नै इतिहास र उनले नेपाली समाजलाई पु¥याएको योगदानबारे लेखकीय सामाग्रि समावेश छन् ।
(.१९८९ माघ १७ —२०८१ जेठ १० )को दोस्रो स्मृति दिवसका अवसरमा वैयाकरण नेपाल स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य र न्यायशताब्दी पुरुष कृष्णप्रसाद भण्डारीको विशेष आतिथ्यमा सञ्चालित यस कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले गरेका थिए ।
कार्यक्रममा स्मृतिग्रन्थका लेखक लेखिका तथा प्राज्ञिक क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थिाो । समारोहमा इतिहास, संस्कृति र साहित्यका क्षेत्रमा अनेकौँ चर्चित र उपयोगी ग्रन्थहरूको रचना र प्रकाशन गरी नेपाली समाजलाई ज्ञानमणि नेपालले पुर्याउनुभएको प्राज्ञिक सेवा अतुलनीय र गौरवशाली रहेको कुरा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गरिन ।

समारोहमा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइराला, इतिहासविद् प्राध्यापक दिनेशराज पन्त, प्रा.डा. हरिप्रसाद पराजुली, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत लगायतका वक्ताहरूले स्मृतिग्रन्थ र ज्ञानमणि नेपालको प्राज्ञिक योगदानबारे चर्चा गरे ।
प्रतिष्ठानका सचिव एवं स्मृतिग्रन्थका सम्पादक कोषराज न्यौपानेले विषय प्रवेश र स्वागत गरिएको समारोहमा ज्ञानमणिजस्तो उद्भट प्रतिभाशाली आधिकारिक विद्वान्, खोज र अनुसन्धानको गहिराइमा पुगेर इतिहासको प्रामाणिक तथ्यलाई अकाट्य रूपमा प्रस्तुत गर्न सक्ने अनुसन्धाता, साहित्यका क्षेत्रमा पनि तथ्यगत, तार्किक र गहिरो विश्लेषणयुक्त निर्भीक प्रस्तुति दिने समीक्षक एवं नेपाली राजनीतिक अवस्थाको केन्द्रविन्दु तथा संस्कृतिक चिन्तनको जरासम्म पुगेर प्रस्तुति दिने व्यक्तित्वका बारेमा एउटा स्थायी दस्तावेजका रूपमा यो स्मृतिग्रन्थ पठनीय र सङ्ग्रहणीय बन्न पुगेको चर्चा गरियो ।
एक्काइसौँ शताब्दीको समकालीन नेपाली सामाजिक परिवेशभित्र ऐतिहासिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा परैबाट टड्कारो रूपमा देखिने एउटा विराट् बौद्धिक धरोहर ज्ञानमणि नेपालका जीवनका, व्यक्तित्वका र ज्ञानका विविध पाटालाई प्रस्तुत ग्रन्थले प्रतिनिधित्व गरेको कुरा स्मृतिग्रन्थका अर्का सम्पादक प्रह्लाद पोख्रेलद्वारा जानकारी दिइयो ।
स्मृतिग्रन्थका व्यवस्थापक, प्रतिष्ठानका सहसचिव एवं ज्ञानमणि नेपालका सुपुत्र सन्तोषमणि नेपालद्वारा स्मृतिग्रन्थको प्रकाशन र यसमा समाविष्ट विविध विषयबारे विशद् रूपमा जानकारी दिँदै सबैमा धन्यवाद दिएक थियो । समारोहमा गरिमामय उपस्थितिका लागि पूर्वराष्ट्रपति लगायत सबैमा आभार प्रकट गर्दै इतिहास पुरुष ज्ञानमणि नेपालको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्ने कार्यमा स्मृतिग्रन्थ उपयोगी हुने कुरा अध्यक्षको आसनबाट एकमणि नेपालले व्यक्त गरे।

