पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
काठमाडौं, २४ वैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पत्रकारिता दिवशको अवसरमा पत्रकारिता, लेखन पेशामा सक्रिय ५ पत्रकारलाई सम्मान गरेका छन् । सम्मानित हुनेहरुमा ‘भुई मान्छेका कथा’ लेख्ने, विश्लेषक चन्द्रकिशोर झा र नम्रता शर्मालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको छ । त्यस्तै पत्रकार उमेश श्रेष्ठ, भोला पासवान र रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार सम्मान र पुरस्कार समारोहमा पौडेलले सम्बोधन गरेका छन् ।पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे।
पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गदै भने ‘हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनैछ भन्ने मैले विश्वास लिएको छु ।’
पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निष्पक्ष पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताए । पौडेलले श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको पनि बताए ।
सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहिन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यमसामु थपिएको चुनौति रहेको भन्दै यो चुनौतिको सामना गर्न नेपाली प्रेस सक्षम हुनेमा आफू विश्वस्त रहेको बताए ।
राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकारित सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारहरूले दशकौंदेखि कलमका माध्यमबाट समाजलाई देखाउनुभएको बाटो र पु¥याउनुभएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको बताउदै पुरस्कृत सबैलाई बधाइ दिए । पुरस्कृत पत्रकारहरूको साधनाले नयाँ पुस्ताका पत्रकारहरूलाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लागिरहन सँधैं उत्प्रेरित गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन्।

