सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान : राष्ट्रसङ्घ
अफगानिस्तान तालिवानको सत्ता छ जसले बालिकाहरुलाई ६ कक्षा त्यो पनि सामुदायिक विद्यालयहरु माथि पढ्न दिदैंन ।
काबुल,१६वैशाख
पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । वालिका तथा केटीहरूको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ ।
युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो सङ्कटको रूपमा वर्णन गर्दै महिलाहरुलाई उच्च शिक्षामा बन्देज गरेर उनीहरूलाई शैक्षिक पहुँच बिहिन हुनुबाट रोकेको जनाएको छ । प्रतिवेदनका अनुसार चालु दशकको अन्त्य सम्ममा देशले २० हजार महिला शिक्षक र पाँच हजार चार सय स्वास्थ्यकर्मी गुमाउन सक्ने अनुमान गरिएको छ ।
सन् २०२१ सेप्टेम्बरबाट अफगान सरकारले वालिकाहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाए पछि, १० लाख भन्दा बढी वालिकाहरु आफ्नो सिकाइ अधिकारबाट वञ्चित भएको युनिसेफले जनाएको छ । यदि यो प्रतिबन्ध सन् २०३० सम्म कायम रह्यो भने २० लाख भन्दा बढी बालिका प्राथमिक तहकै विद्यालय पहुँच भन्दा बाहिर रहने चेतावनी युनिसेफले जनाएको छ ।
अफगानिस्तानमा केटीहरूलाई हाल कक्षा–छ भन्दा माथिको शिक्षाको लागि प्रतिबन्ध लगाइएको छ भने महिलाहरूलाई अर्को सूचना नआए सम्म विश्वविद्यालयहरूमा उपस्थित हुन निषेध गरिएको छ ।
प्रतिवेदनले अफगान सरकारलाई केटीहरूको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध तुरुन्तै हटाउन आग्रह गरेको छ, भने अन्तर्राष्ट्रिय समुदायलाई अफगान वालिकाहरूको शिक्षाको मौलिक अधिकारको सरक्षणमा सहयोग गर्न आह्वान गरेको छ ।
अफगानिस्तान ५ दशक यता विभिन्न आन्दोलन र धार्मिक र जातिय द्धन्दमा फसेको मुलुक हो ।अहिले त्यहाँ इस्लाम धर्मको आधारमा समाज र सरकार चल्नुपर्दछ भन्ने मान्यता लागु छ । पितृसतात्मक सामाजिक संरचनाको बलियो पकड रहेको अफगानि समाजमा महिला शिक्षाबारे समय समयमा परिवर्तन भएका छन् ।
पछिल्लो तीन दशकमा तीन खाले अभ्यास भएको छ, महिला शिक्षाबारे । सन् १९९६ देखि २००१ सम्म तालिवानीको कब्जामा थियो । त्यसबेला बालिका शिक्षामा बन्देज गरिएको थियो । सन् २००१ मा तालिवानीहरु कमजोर भए । उनीहरुका स्थानमा नागरिक सरकारले चलायो । सन् २००१ देखि २०२१ सम्म महिला शिक्षामा उदार नीति लिइएको थियो । स्कुल र कलेजहरुमा महिलाहरु अध्ययन गर्ने वातावरण बन्यो । सन् २०२१ मा दोश्रो पटक तालिवानीको हातमा सत्ता आएपछि महिला शिक्षामा फेरी बन्देज गरिएको छ ।
तालिवान विहीन दुई दशकको अवधिमा खास गरेर सहरी क्षेत्रमा महिला शिक्षाको जागरण फैलियो । त्यसैबेला ठूलो संख्याका बालिकाहरुले पढ्ने, कलेज अध्ययन गर्नेसम्मको अवसर पाएका थिए ।
रासस/सिन्ह्वाको समाचारमा सामान्य सम्पादन
तस्बिर :ह्युम्यन राइटस्वाच

