शान्तिका लागि साइकल साइकल यात्रा : बुद्ध पूर्णिमाका दिन लुम्बिनी पुग्ने गरी काठमाडौंबाट १०८ साइकल गुड्दै
काठमाडौं, ३ वैशाख ।
बुद्ध पूर्णिमाको अबसरमा बौद्ध दर्शनका विश्व विख्यात विद्ववान श्याल्पा तेन्जिन रिम्पोछेको आब्हानमा ‘शान्तिका लागि साइकल यात्रा’ आयोजना हुँदैछ। वैशाख १५ गते काठमाडौंबाट सुरु हुने पाँच दिने यात्रामा १०८ ओटा साइकलको सहभागिता रहनेछ। उनीहरू २५७० औं बुद्ध पूर्णिमाका दिन लुम्बिनी पुग्नेछन्। त्यो दिन लुम्बिनी दर्शन गर्नुका साथै साँझ विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन तथा ध्यानमा सहभागि हुने कार्यक्रम तय गरिएको छ ।
यात्राको पाँचौं दिन ध्यानपछि रिम्पोछेको पुस्तक लोकार्पण गरेर उनीहरू काठमाडौं फर्कने कार्यक्रम छ । यात्राका प्राविधिक संयोजक देवेन्द्र बस्न्यातका अनुसार यात्रा काठमाडौंको स्वयम्भूबाट सुरु हुने छ । पहिलो दिनको यात्रा चित्लाङ, दामन, सिमभन्ज्याङ भएर हेटौंडा पुग्नेछ। करिब सय किलोमिटर दुरी तय गरेर उनीहरु हेटौंडामा बस्नेछन्।
दोस्रो दिन हेटौंडाबाट नारायणघाट हुँदै नवलपरासीको पिप्रहर थारु सामुदायिक होमस्टेमा पुग्नेछन्। दोस्रो दिन पनि करिब सय किलोमिटर यात्रा हुनेछ । तेस्रो दिन उनीहरू पिप्रहरबाट दाउन्ने, बर्दघाट भएर करिब सय किलोमिटर साइकल चलाएर वुटवल पुग्नेछन्।यो दिन उनीहरूको बास वुटवलमै हुनेछ।
बस्न्यातका अनुसार उनीहरु यात्राको चौंथो दिन बुटवलबाट सैनामैना हुँदै लुम्बिनी पुग्नेछन्। बस्न्यात आवश्यकता अनुसार साइक्लिङ रुट सामान्य परिवर्तन हुन सक्ने बताउँछन् । लुम्बिनीबाट पाँचौं दिनमाल उनीहरु गाडीबाट आआफ्नो गन्तव्य लाग्ने छन् ।

साइकल यात्रा कार्यक्रममा सहभागि हुन् अनलाइन फर्म भर्नु पर्ने छ ।र, तोकिएको शुल्क पनि बुझाउनुपर्ने हुन्छ । आयोजकहरुले काठमाडौं, हेटौंडा, चितवन, रजहर र वुटवलबाट सहभागि हुनेले क्रमशः ५५ सय, ४५ सय, ४५ सय, ३५ सय र १५ सय रुपैयाँ तिर्नु पर्ने नियम बनाएका छन् । शुल्क तिरेपछि जर्सी, खाना र बसोबास सुविधा हुनेछ। साथै सामान्य मेकानिकल र मेडिकल सपोर्ट पनि दिइने बस्न्यात बताउँछन् । काठमाडौं फर्कने यातायात खर्च पनि आयोजकले दिनेछन् ।
यो लिंकबाट फर्न भर्न सकिने : https://forms.gle/yTLNbr79xHgFsA1t8
को हुन् श्याल्पा तेन्जिन रिम्पोछे ?

श्याल्पा तेन्जिन रिम्पोछे बौद्ध दर्शनका विद्ववान हुन्। उनी नेपालमा लगायत युरोप, अमेरिकालगायत धेरै मुलुकमा प्रख्यात छन्। उनले चार दशक भन्दा लामो समयदेखि विश्वमा शान्तिको सन्देश र वौद्ध शिक्षा फैलाउन योगदान पु¥याउँदै आएका छन्। उनले संयुक्त राष्ट्र संघीय महासभा, ‘वल्र्ड इकोनोमिक फोरम’ लगायतमा भगवान बुद्ध, लुम्बिनी र नेपालको गरिमा बढाउन योगदान पु¥याउँदै आएका छन्।
