लामिछानेका निर्वाचन प्रमुख समेत रहेका  गौतम रास्वपाले निर्वाचनको बेला जारी गरेको वाचापत्रमा नै निजी क्षेत्र मैत्री नीति लिने उल्लेख गरेको जनाउँदै अब लगानीको वातावरण बन्नेमा ढुक्क छन् ।
चितवन, ३० फागुन ।
निरन्तर सरकार परिवर्तन भएर अस्थिरता हुँदा निराश बनेको निजी क्षेत्र अब बन्ने स्थिर सरकारबाट आशावादी बनेको छ । विगत लामो समयदेखि एउटै पार्टीको बहुमत नहुनु र भएपनि बीचमा नै सरकार परिवर्तन हुनु जस्ता समस्याले निजी क्षेत्र हतोत्साहित हुँदै आएको छ ।
 लगानीको वातावरण बन्न नसक्दा बैङ्कहरूमा निक्षेप (तरलता) थुप्रिएर बसेको छ । बैङ्क व्याज पनि न्यून छ । यद्यपी लगानी गर्न निजी क्षेत्र सकारात्मक देखिएको छैन । जेनजी आन्दोलनसँगै निर्वाचन सम्पन्न भएर एउटा पार्टीलाई झण्डै दुई तिहाई मत पाउँदै गर्दा अब बन्ने सरकार स्थिर हुने र लगानीको वातावरण बन्नेमा निजी क्षेत्र ढुक्क छ ।
उद्योग वाणिज्य महासङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतम अबका दिन निजी क्षेत्र मैत्री बन्नेमा ढुक्क देखिन्छन् । गौतम भन्छन् “स्थिर सरकारको निश्चिततासँगै शेयर बजारले निजी क्षेत्रलाई ढुक्क हुने अवस्था देखाएको छ ।”
नीतिगत समस्याहरू समाधान गरेर लगानीको वातावरण सिर्जना गरी रोजगारी सिर्जना गर्नुपर्ने अब बन्ने सरकारको मुख्य दायित्व हुने गौतमले बताए । उद्योग वाणिज्य महासङ्घ, बागमती प्रदेशका पूर्व उपाध्यक्ष गौतमले भन्छन् “निर्वाचनको बेला युवाहरूलाई आकर्षित गरिएको छ, उनीहरूलाई रोजगारी दिन पनि निजी क्षेत्रमैत्री सरकार बन्नै पर्छ ।” लगानीमा सोच्नु पर्ने अवस्थाको अन्त्य हुनेमा उनी विश्वस्त छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नं.२ मा लामिछानेका निर्वाचन प्रमुख समेत रहेका  गौतम रास्वपाले निर्वाचनको बेला जारी गरेको वाचापत्रमा नै निजी क्षेत्र मैत्री नीति लिने उल्लेख गरेको जनाउँदै अब लगानीको वातावरण बन्नेमा ढुक्क छन ।
स्थायी सरकार हुँदै गर्दा प्रत्यक्ष रूपमा पर्यटन व्यवसाय फस्टाउने व्यवसायीहरूको तर्क छ । देशमा अशान्ति हुँदै गर्दा भ्रमण नजान विभिन्न देशले ‘ट्राभल एड्भाईजरी’ जारी गर्ने गरेको भन्दै उनले अब त्यस्तो अवस्था नआउनेमा विश्वास व्यक्त गरे । वार्षिक १०–११ लाख पर्यटक नेपाल आउने गरेको भन्दै यो संख्या २० लाख पु¥याएर पर्यटनलाई मुख्य स्रोत बनाउनु पर्ने उनको भनाइ छ । पर्यटन क्षेत्र फस्टाएसँगै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव हुने भन्दै नीतिगत रूपमा परेका अप्ठ्याराहरू हटाएर सहजीकरण गर्न उनको  सुझाव छ ।
उद्योग वाणिज्य महासङ्घका मानार्थ केन्द्रीय सदस्य राजु श्रेष्ठ स्थायी सरकार बन्ने भएसँगै उत्साहित बनेको बताउँछन् । बहुमत पु¥याउन नसक्दा विभिन्न दलहरू मिलेर सरकार बन्ने र बीचमै परिवर्तन हुने हुँदा निराश बनेका व्यवसायीहरू अब आशावादी बनेको उनले बताए ।
निर्वाचनको परिणाम आएसँगै शेयर बजारमा देखिएको उत्साहले पनि निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको उनले बताए । बैङ्कबाट १६ प्रतिशत व्याजमा ऋण लिएर लगानी गरेका व्यवसायीहरू अहिले ६ प्रतिशतमा झर्दा समेत लगानी गर्न नसकेको अवस्थामा अब बन्ने सरकारले लगानीको वातावरण बनाउने उनी बताउँछन् ।
 स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरेर आयात घटाउन अरबौं लगानी गरेका औषधि उत्पादकहरू पनि अब बन्ने सरकारबाट आशावादी छन् । नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का पूर्व अध्यक्ष जीनारायण बहादुर क्षेत्री स्थिर सरकार बनेसँगै लगानीको वातावरण बन्ने बताउँछन् । स्वदेशमा लगानी गर्नेहरूप्रति सरकारले सकारात्मक ढंगले हेर्ने वातावरण भएमा लगानी थपिने उनको भनाइ छ ।
सुशासन र भ्रष्टाचारमुक्त भएमा लगानीको वातावरण आफै बन्ने बताउँदै केही नीतिगत समस्या भने सम्बोधन गर्नुपर्ने उनको धारणा छ । रास्वपाको झण्डै दुई तिहाई बहुमत आएको जनाउँदै सङ्गठित रूपमा अघि बढेमा देशमा समृद्धि आउने उनको भनाइ छ ।
 आत्मनिर्भर पेशा अंगालेका नेपालका पोल्ट्री व्यवसायी पनि अब बन्ने सरकारबाट आशावादी छन् । रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा भारतीय अवैध पोल्ट्रीजन्य पदार्थ रोकिएसँगै लाभान्वित बनेका यहाँका किसानहरू अब बन्ने सरकारबाट आशावादी रहेको बताउँछन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेल स्थीर सरकार बनेसँगै निजी क्षेत्र लाभान्वित हुने बताउँछन् । अवैध आयात नरोकिदा व्यवसायी धरापमा परेको भन्दै उनले
सरकारका गृहमन्त्रीलाई समस्या भन्न नपाउँदै परिवर्तन हुने कारणले विगतमा समस्या झेल्दै आएको बताए । आफूले लगानी गरेको मूल्य समेत नपाउँदा धेरै किसान विस्थापित भएको भन्दै पोखरेलले अबका दिनमा यस्ता समस्या हटेर जानेमा विश्वास गरे।