मन , विचार फाटिसकेपछि दुवै पक्षको स्पष्टता, सहजताका निम्ति कांग्रेस विभाजित हुनुपर्छ
नेकाका संस्थापक र इतर समुह मिलेर जाने र “सम्झौता गर्ने” कुरा राम्रा सुनिए पनि ती दीर्घकालीन समाधान बन्न सक्दैनन्। किनभने यस्ता टालटुले सम्झौताले विवाद केही समयका लागि रोक्न सक्छ तर विचारको द्वन्द्व समाप्त गर्न सक्दैन।
अहिले नेपाली कांग्रेसभित्र देखिएको विवादलाई धेरैले गगन थापा र शेरबहादुर देउवा समूहबीचको शक्ति संघर्षका रूपमा व्याख्या गरिरहेका छन्। तर यस्तो विश्लेषणले वास्तविक प्रश्नलाई समेट्दैन। यो विवाद दुई व्यक्ति वा दुई समूहबीचको स्वार्थको टकराव होइन। यसको मूलमा दुई फरक राजनीतिक समयचेतना र दुई फरक राजनीतिक संस्कृतिबीचको संघर्ष छ।
फेरि जोड दिएर भनौँ, यो संघर्ष दुई समूहको स्वार्थबीचको होइन। यो दुई फरक राजनीतिक समयचेतना र दुई फरक राजनीतिक संस्कृतिबीचको टकराव हो।
एकातिर पुरानो पुस्ताको कांग्रेस छ जसको राजनीति समायोजन, शक्ति सन्तुलन र आन्तरिक व्यवस्थापनको वरिपरि घुमिरहेको छ। अर्कोतिर नयाँ पुस्ताको नेतृत्व छ जसले संगठनात्मक रूपान्तरण र नयाँ राजनीतिक अभ्यासको कुरा गरिरहेको छ। यी दुई फरक धार बीचको दूरी रणनीतिक भन्दा पनि वैचारिक हो।
यही कारणले, मलाई लाग्दछ, नेकाका संस्थापक र इतर समुह मिलेर जाने र “सम्झौता गर्ने” कुरा राम्रा सुनिए पनि ती दीर्घकालीन समाधान बन्न सक्दैनन्। किनभने यस्ता टालटुले सम्झौताले विवाद केही समयका लागि रोक्न सक्छ तर विचारको द्वन्द्व समाप्त गर्न सक्दैन।

समाज अब बीसौँ शताब्दीको जस्तो सुस्त गतिमा अघि बढिरहेको छैन। डिजिटल प्रविधि, एआई, सामाजिक सञ्जाल, डेटा-आधारित अर्थतन्त्र र विश्वव्यापी सूचना प्रवाहले समाजलाई अभूतपूर्व गतिमा परिवर्तन गरिरहेका छन्। जर्मन समाजशास्त्री हार्टमुट रोजाले यसलाई “सामाजिक तीव्रता” भनेका छन्। कुरो के भने समाज परिवर्तनको गति आज यति तीव्र भइसकेको छ कि यदि राजनीतिले त्यसलाई समयमै बुझ्न र आत्मसात् गर्न सकेन भने राजनीति आफैँ अप्रासंगिक बन्दै जान्छ। अहिले हाम्रो मुलुकमा अरु दलमा देखिएको अवस्था पनि यही हो। पुराना राजनीतिक शक्ति र दलहरूले समाजको यही तीव्र परिवर्तनलाई समयमै नबुझ्दा आजको राजनीतिक संक्रमण जन्मिएको हो जुन अझै पनि अपरिपक्वताको चंगुलबाट मुक्त हुन सकेको छैन।
पुराना शक्तिहरूले समयको चेतलाई आत्मसात् गर्दै आफूलाई बदल्न सकेनन्। अर्कोतिर नयाँ शक्तिले पनि शासन सञ्चालन गर्दै मुलुकलाई सही दिशामा लैजान सक्ने परिपक्वता र क्षमता देखाउन सकेका छैनन्। यस्तो जटिल अवस्थामा अनुभव, राजनीतिक संस्कार र दूरदृष्टि भएका व्यक्तिले जिम्मेवारीपूर्वक नेतृत्व गर्नु आजको आवश्यकता हो।
विश्वका पछिल्ला घटनाक्रमले यही कुरा प्रमाणित गरिरहेका छन्। भारतमा परीक्षा प्रणाली, रोजगारी र अवसरको समानताका विषयमा युवाहरू आन्दोलनरत छन्। बंगलादेशमा विद्यार्थी आन्दोलनले शासन परिवर्तनसम्मको बाटो खोलिदियो। केन्यामा जेन–जेड पुस्ताले कर नीतिविरुद्ध सरकारलाई झुकायो। सर्बियामा भ्रष्टाचारविरुद्ध विद्यार्थी आन्दोलित भए। फ्रान्समा पेन्सन सुधारदेखि लोकतान्त्रिक सहभागितासम्मका विषयमा युवाहरू निरन्तर सडकमा छन्।
आजको पुस्ताले जन्म, वंश वा गुटभन्दा योग्यता, अवसर, पारदर्शिता र उत्तरदायित्व खोजिरहेको छ। उनीहरूलाई नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक संस्कृति चाहिएको छ।
यी आन्दोलनका मुद्दा फरक भए पनि मूल सन्देश एउटै हो: आजको पुस्ताले जन्म, वंश वा गुटभन्दा योग्यता, अवसर, पारदर्शिता र उत्तरदायित्व खोजिरहेको छ। उनीहरूलाई नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक संस्कृति चाहिएको छ।
नेपाल पनि यस विश्वव्यापी परिवर्तनबाट अलग छैन। नेपाली युवाको आकांक्षा पनि त्यही हो। उनीहरू डिजिटल संसारमा हुर्किएका छन्। उनीहरूको प्रतिस्पर्धा अब काठमाडौं वा नेपालसँग मात्र होइन, विश्वसँग छ। यस्तो पुस्ताले गुटीय व्यवस्थापनलाई भविष्यको राजनीति मान्न सक्दैन। चाहँदै चाहन्न।
कृत्रिम एकताले पार्टीलाई बचाउँदैन। बरु लामो समयसम्म अलमल्याउँछ। एउटै संगठनभित्र दुई फरक राजनीतिक दृष्टिकोण स्थायी रूपमा सहअस्तित्वमा रहँदा हरेक सुधार आन्तरिक प्रतिरोधको बन्दी बन्छ।
यही पृष्ठभूमिमा नेपाली कांग्रेसभित्रको विवादलाई पनि हेर्नुपर्छ। म पनि गगन थापा नेतृत्वको समूहले मुलुक र पार्टी सन्चालनका सबै समस्याको उत्तर फेला पारिसकेको छ भन्दिनँ। तर उनीहरूले उठाएका प्रश्न २१औँ शताब्दीका प्रश्न हुन्: पार्टी कसरी चल्ने? निर्णय कसरी हुने? अवसर कसले पाउने? योग्यता कि भागबन्डा? भविष्य कि विगत?
अर्कोतर्फ, पुरानो पुस्ताले राजनीतिलाई विगतले निर्माण गरेको शक्ति सन्तुलन र स्थापित हैसियतको निरन्तरताभित्रै हेर्छ। त्यसैले उनीहरूको चिन्ता पनि आफ्नै ठाउँमा अस्वाभाविक होइन। तर अहिलेको विवाद पद बाँडफाँट वा समायोजनको प्राविधिक झमेलामा सीमित छैन। यसको गहिराइमा पुग्दा यो पुरानो र नयाँ राजनीतिक चेतना, परम्परा र परिवर्तनका दुई फरक दर्शनबीचको संघर्षका रूपमा देखिन्छ।
यस्तो अवस्थामा कृत्रिम एकताले पार्टीलाई बचाउँदैन। बरु लामो समयसम्म अलमल्याउँछ। एउटै संगठनभित्र दुई फरक राजनीतिक दृष्टिकोण स्थायी रूपमा सहअस्तित्वमा रहँदा हरेक सुधार आन्तरिक प्रतिरोधको बन्दी बन्छ। निर्णयहरू स्पष्ट हुँदैनन्, परिवर्तन आधा-अधुरा हुन्छन् र पार्टी गतिशील होइन, स्थिर बन्छ। कतिपय अवस्थामा त त्यो झन् पश्चगामी पनि बन्छ किनभने परिवर्तनको प्रत्येक प्रयासलाई यथास्थितिवादी समुहको सोचले रोकिरहन्छ।
त्यसैले सुन्दा असहज तर आवश्यक प्रश्न उठाउनै पर्ने बेला आएको छ: नेपाली कांग्रेसलाई अहिले कृत्रिम एकताको भन्दा वैचारिक स्पष्टताको बढी आवश्यकता छैन र?
पक्कै पनि राजनीतिक दल विभाजन हुनु सामान्यतया वाञ्छनीय अवस्था होइन। यसले संगठनलाई कमजोर बनाउन सक्छ, मत विभाजन गराउन सक्छ र तत्कालीन राजनीतिक क्षति पनि पुर्याउन सक्छ। तर जब एउटै पार्टीभित्रका दुई धाराको मूल सिद्धान्त, कार्यशैली, संगठनको दृष्टि र भविष्यप्रतिको बुझाइ नै पूर्णतया भिन्न भइसकेको छ भने त्यस्तो अवस्थामा जबर्जस्तीको एकताभन्दा सम्मानजनक विभाजन लोकतान्त्रिक रूपमा बढी स्वस्थ हुन सक्छ।
यसरी मन नमिलेका गुट अलग्गिएर दुई स्वतन्त्र राजनीतिक दल बने भने दुवै पक्ष आफ्ना विचार, कार्यक्रम र नेतृत्व लिएर जनतासामु जान सक्छन्। त्यसपछि कसले भविष्य देखाएको छ, कसले विगतको नारा मात्र बोकेको छ, कसले समयको गति बुझेको छ र कसले बुझ्न सकेको छैन भन्ने निर्णय बन्द कोठाका नेताहरूले होइन, खुला लोकतान्त्रिक प्रक्रियाबाट जनताले गर्नेछन्।
वास्तवमा यो कसैको पराजय होइन, लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। लोकतन्त्रको सुन्दरता नै यही हो कि यसमा अन्तिम न्यायाधीश जनता हुन्छन्।
बीपी कोइरालाले पनि व्यक्तिको पूजा होइन, विचारको राजनीति गरेका थिए। यदि आज एउटै पार्टीभित्र विचार नै फरक भइसकेको छ भने बीपीको नाममा कृत्रिम एकता जोगाउनु नै बीपीको दर्शनप्रति सबैभन्दा ठूलो अन्याय हुन सक्छ।
अब यति धेरै मन र विचार फाटिसकेपछि कांग्रेस देशको भलाइ तथा दुवै पक्षको स्पष्टता र सहजताका निम्ति विभाजित हुनुपर्छ। दुबै पक्षलाई न्याय जनता र समयले दिने नै छ। दुवै पक्षलाई शुभकामना।
नोट : ढकालको फेसबुकबाट साभार ।

