सफा हुँदै मौसम, बिहानदेखी वर्षा कम, सामान्य बदली

काठमाडौं, १९ अशोज ।
काठमाडौं उपत्यकामा शनिबार राती ८ बजेदेखी रातभर ठूलो वर्षा हुने प्रचार मिथ्या भएको छ, उपत्यकामा रातभर मध्यम वर्षामात्र भयो ।
शुक्रबार साँझदेखी राजधानी काठमाडौं र मधेश प्रदेशका पश्चिमी जिल्ला बारा, पर्सा, रौतहटमा भारी र अतिभारी वर्षा गराएको मनसुनी जलवाष्पयुक्त वायु शनिबार साँझदेखी मधेशप्रदेशका पूर्वी जिल्ला तथा कोसी प्रदेशमा सक्रिय रह्यो ।
आइतबार बिहान ८ बजेको मौसम विभागको रेकर्ड तथा मौसमी गतिविधि अनुुसार राजधानी काठमाडौको मौसम सफा हुन थालेको देखिदैंछ । त्यस्तै रातभर ठूलो पानी परेका झापा, मोरङ्ग लगायतका पूर्वी पहाड तथा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषामा पनि वर्षा हल्काफूल्कामात्र, सामान्य बदली कायम छ ।
शनिबार रातको ८ बजेदेखी आइतबार बिहान ८ बजेसम्म १२ घण्टाको मौसमी विवरण अनुसार झापाको बाहुनडाँगीमा सबै भन्दा धेरै २३० मिलि पानी परेको थियो। त्यस्तै मोरङ्गको सुन्दरहरैचामा २०६ मिलि पानी परेको थियो । बिहान ८ बजे भने त्यहाँको अवस्था सामान्य देखिन्छ, मौसम विभागको रेकर्डका आधारमा ।
त्यस्तै, शुक्रबार साँझदेखी शनिबार साँझसम्म भारी वर्षाको रेकर्ड बनाएका बारा, पर्साको अवस्था सामान्य छ, कतै कतै छिटपुट वर्षा छ।
यता, राजधानी काठमाडौंमा पछिल्लो १२ घण्टामा सबै भन्दा बढी वर्षा ललितपुरको लेलेमा ४९ मिलि भयो भने सुन्दरीजलमा ४२ मिलि । काठमाडौंमा उपत्यकामा शनिबार राती ८ बजेदेखी रातभर ठूलो वर्षा हुने प्रचार मिथ्या भएको छ । उपत्यकामा रातभर मध्यम वर्षामात्र भयो ।
मौसम विज्ञान विभागको व्याख्या अनुसार २४ घण्टामा १० मिलि भन्दा कम पानीलाई हल्का वर्षा भनिन्छ । १० देखी ५० मिलिसम्मलाई मध्यम वर्षा भनिन्छ । ५० देखी १०० मिलिलाई भारी वर्ष १०० देखी २०० मिलिलाई धेरै भारी र २०० मिलि भन्दा धेरैलाई अतिभारी भनिन्छ ।