आफू दोहोरो दबावमा रहेको र बागमतिको सरकार अनिर्णयको बन्दी हुन नदिन कदम चालेको थापाको भनाई ।

काठमाडौं, ३ भदौ ।

बागमति प्रदेशमा एमालेलाई राप्रपाको समर्थनलाई लिएर राप्रपा केन्द्रीय नेतृत्वले बिरोध गर्दे कारबाहीको धम्की दिइरहेको बेला बागमति संसदीय दलका नेता उद्धब थापाले भने सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । थापाका अनुसार पार्टीको नीतिगत निर्णय अनुसारनै बागमतिको सरकारमा राप्रपा सहभागि भएको हो । थापाले बागमति सरकारमा राप्रपाका तीनजना मन्त्री हुने सहमति भएको बताए ।
पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त निर्णय भएको थापाको भनाई छ । पार्टीको २० साउनको कार्यसम्पादन समितिले पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी पार्टी अध्यक्षलाई दिएको बताउँदै थापाले भने ‘ हामिले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर र बागमतिको सरकार अनिर्णयको बन्दी नहोस् भनेर निर्णय गरेका हौं ।’ थापाले आफूहरुदले पटक पटक बागममितको राजनीतिक अवस्थाबारे अध्यक्षसँग कुराकानी भएको दाबि गरे ।

‘ म त दोहोरो दबावमा थिए, एकातिर सांसदहरुको दबाव, अर्कोतर्फ केन्द्रीय अध्यक्षको दबाव’ थापाले भने ‘ अब सरकार निर्माणको प्रक्रिया अगाडि बढ्छ, हामिले ३ वटा मन्त्रालय लिने भन्ने कुरा भएको छ, सबै कुरा भैसकेको छ, कुरा पारदर्शि छ ।’ को को मन्त्री हुँदैछन् भन्ने जिज्ञासमा भने उनी खुल्न चाहेनन् ।
पार्टी अध्यक्षले प्रदेश प्रमुख, सभामुख जताततै राप्रपाको समर्थन होइन भन्दै पत्राचार गरेको, प्रेस विज्ञप्ति प्रकाशीत गरेको सन्दर्भमा थापाले भने ‘प्रदेश प्रमुखले त संसदीय दललाई चिन्ने होला । प्रदेशलाई चिन्ने होला । प्रदेशको राजनीतिमा केन्द्रले भूमिका के हुने भन्ने कुरा पनि हुन्छ । हामिले यसबारे प्रदेश प्रमुखसँग कुरा उठाएका छौं ।’

लिङ्देनले औपचारिकरुपमा बागमति संसदीय दलका नेता माथि कारबाही चलाउने वक्तव्यबारे थापा भन्छन् ‘यसको पनि प्रक्रिया होला, स्पष्टीकरणकाकुरा होलान, सफाई दिने विषय होलान ।’

किन एमालेलाई समर्थन भन्ने प्रश्नमा थापाले भने ‘बागमतिको गणित अनुसार सरकार बनाउन र टिकाउन सहज छैन । हामिले निकास नदिएको अवस्थामा बागमति प्रदेश सरकार अनिर्णयको बन्दी बन्ने अवस्था छ ।’ बागमति प्रदेशमा राप्रपालाई जनताले दिएको विश्वासलाई पनि आफूहरुले हेर्नुपर्ने थापा बताउँछन् ।
बागमतिमा मात्र राप्रपामा सत्ता साझेदार नभएको उनी बताउँछन् । थापाले भने ‘कोशीमा सभामुख राप्रपाका छन्, लुम्बिनीमा उपसभामुख राप्रपाकै छन्, गण्डकीको सरकारमा हाम्रो समर्थन छ ।’
बागमति प्रदेशमा कांग्रेस एमाले समीकरण टुटेर खासमा एमाले नेकपाबीच नयाँ समीकरण बनेको र त्यसमा राप्रपा जोडिएको छ । बागमतिको संसदीय गणितमा एमाले कांग्रेस बाहेक अन्य कुनै पनि दुई दलमात्र मिलेर सरकार बन्न र चल्न सक्तैन । हाल कायम १०४ सदस्यीय प्रदेश सभामा कांग्रेस सबै भन्दा ठुलो दल हो । कांग्रेसका ३६ सांसद छन्, नेकपाका २६, एमालेका उपसभामुख सहित २५ सांसद छन भने राप्रपाका १२, नेमकिपाका ३, हाम्रो नेपाली पार्टीका २ सांसद छन् । सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक हुन्छ । एमाले र नेकपाको ५० मात्र पुग्दछ ।