एमालेमा एकताको सन्देश, असारमा केन्द्रीय समिति, बल्खुमा मुख्यालय बनाउने
काठमाडौं, १० जेठ ।
चार दिनसम्म चलेको लगतारको सचिवालय बैंठकपछि एमालेले पार्टीमा एकता रहेको सन्देश प्रवाह गरेको छ भने निर्वाचनको आँकलन र पार्टीको समिक्षात्मक अध्ययन र संविधान संशोधन अध्ययन समिति गठन गरेर सम्पन्न भएको छ । असार दोश्रो साता केन्द्रीय समिति बैंठक बस्ने निर्णय गर्दे सम्पन्न सचिवालय बैंठकले एमाले अध्यक्ष केपि शर्मा ओलीलाई सक्रिय राजनीतिबाट विश्राम दिन चाहने नेताहरुको आकाक्षा सफल हुन सकेन ।
आम निर्वाचन सम्पन्न भएको करिव ३ महिना पछि निर्वाचनको आङ्कलन र पार्टीको समिक्षात्मक अध्ययनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरु पद्मा अर्याल, छविलाल विश्वकर्मा र आठ प्रदेशका ईन्चार्जहरु सदस्य रहनुभएको छ । समिक्षाको अवधि एक महिना रहेको एमाले उपमहासचिव लेखराज भट्टले बताए ।
यसैगरी, बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुली कुमारी महतो, अग्नि खरेल, महेश बर्तौता, कृष्णभक्त पोखरेल, टीकाराम भट्ट्राई, पासाङ शेर्पा, रमेश बडाल, अमर थापा सदस्य छन् ।
बैठकले पदाधिकारीको वरियता निर्धारण गरेको छ । जस अनुसार अध्यक्ष ओली पहिलो नम्बरमा छन् दोस्रोमा उपाध्यक्ष राम बहादुर थापा, तेस्रो उपाध्यक्ष विष्णु पौडेल, चौथो पृथ्वीसुब्बा गुरुङ, पाँचौं गोकर्ण विष्ट, छैटौं रघुजी पन्त, सातौं शंकर पोखरेल, आठौं लेखराज भट्ट, नवौं योगश भट्टराई, दशौंमा रघुवीर महासेठ रहेका छन् । एमाले पार्टीमा अध्यक्ष र महासचिव पार्टी संगठनको मामलामा शक्तिशाली मानिन्छन् । पदाधिकारी वरियतामा महासचिव शंकर पोखरेल सातौं नम्बरमा छन् । १० जना पहिलोतहको पार्टी हाइकमानममा पोखरेललाई सातौं नम्बरमा राखिएको छ ।
सचिवमा ११ औं छविलाल विश्वकर्मा, १२ औं पद्मा अर्याल, १३ औं खगराज अधिकार, १४ औं भानुभक्त ढकाल, १५ औं यमलाल कँडेल, १६ औं शेरधन राई, १७ औं राजन भट्टराई, १८ औं हिक्मत कार्की, १९ औं नम्बरमा महेश बस्नेतको वरियता निर्धारण
गरिएको छ ।
बैठकले पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन मदननगर बल्खुमा निर्माण गर्ने निर्णय भएको भट्टले जानकारी दिए ।

