सूर्यविनायक कांग्रेसको कमान कसले लिने ? ‘विचार समुह’बाट विशु रामको उद्घोष
भेलाको स्वर : कांग्रेसमा सुधार आवश्यक छ, सुधारका लागि यो समुह आवश्यक छ । परिवर्तनको गतिलाई अष्ठारो पार्नेहरुलाई हामीले चुन्नु हुँदैन ।
सूर्यविनायक(भक्तपुर), ६ अशोज ।
भक्तपुर, सूर्यविनायक नगर समितिमा नेपाली कांग्रेसको सभापति को हुने ? विशेष अधिवेशन र इतरपक्ष भनेर आपसमा विभाजित कांग्रेसजनबीच दुईटा पक्ष चुनावी मैदानमा उत्रने देखिदैछ ।

अशाज ८ गते हुने नगर अधिवेशनमा विशेष अधिवेशन पक्षबाट, विशेष अधिवेशनलाई ‘विचार समुह’ को संज्ञा दिनुपर्ने धारणासहित सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि उमेदवारी उद्घोष गरिएका छन् ।
नगर समितिको जिम्मेवारी लिन आफू तयार रहेको जानकारी दिदै इन्जिनियर विशु राम थापाले उमेदवारी उद्घोष गरेका छन् । त्यस्तै, उपसभापति पदका लागि दीपा न्यौपानेले मैदानमा उत्रने बताएकी छन् । सचिवमा चिरन्जिवि राउतले उठ्ने इच्छा व्यक्त गरेका छन् भने सहसचिवमा लोकबहादुर खत्रीले घोषणा गरेका छन् ।
नगर समितिको नेतृत्वका लागि अशोज ८ मा हुने अधिवेशनको पूर्व सन्ध्यामा विशेष पक्षधरले मंगलबार आयोजित एक कार्यक्रमबीच उनीहरुले मैदानमा उत्रने घोषणा गरेका हुन् । युवा इन्जिनीयर थापाले विशेष अधिवेशन पक्षधरलाई विचार समुहकोरुपमा लिनुपर्ने बताउँदै विचार समुहले हार्न नहुने धारणा राखे । थापाले भने ‘विशेष अधिवेशन भनेको विचार समुह हो, यो परिवर्तनलाई आत्मसात गरेको समुह हो । नेपाली कांग्रेस सुढृढ भएपछि मात्र नेपाल सुध्रिन्छ ।’
विशेष अधिवेशनको भावना अनुसार रुपान्तरण आवश्यक रहेको औंंल्याउँदै थापाले भने
‘सूर्यविनायकको नगर समितिको जिम्मवारी दिनुहुन्छ भने सामना गर्ने तयारीमा छौं ।’ थापाले आफू दुई दशक अघिदेखि कांग्रेसमा सक्रिय रहेको र हजुरबुबाको पालादेखिको कांग्रेस राजनीतिमा लामो बिरासत प्राप्त भएको पनि बताए ।
कार्यक्रममा सूर्यविनायक ४ दधीकोटकी दीपा न्यौपानले उपसभापतिमा उमेदवार हुने घोषणा गरिन । सूर्यविनायक १ का चिरन्जिवि राउतले विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय हुँदै आएको बताउँदै सचिव पदमा उमेदवार बन्न चाहेका बताए । राउतले विशेष अधिवेशन पछिको १५ औं महाधिवेशनको औचित्य र गरिमालाई जोगाउन सक्ने र कांग्रेसको अहिलेको अप्ठारोलाई चिर्न सक्नेलाई जिम्मेवारी दिनुपर्ने बताए । सूर्यविनायक ४ का लोकबहादुर खत्रीले सहसचिवको उमेदवार बन्न चाहेको बताए ।
विशेष अधिवेशन पक्षले आयोजना गरेको छलफल कार्यक्रममा वरिष्ठ पत्रकार हरि अधिकारीले नगरदेखी केन्द्रसम्म विशेष अधिवेशन पक्षको भावना भन्दा बाहिर नजान सुझाए । वडानं १० बाट क्षेत्रिय अधिवेशन प्रतिनिधि अधिकारीले भने ‘परिवर्तनको गतिलाई अष्ठारो पार्नेहरुलाई हामीले चुन्नु हुँदैन।’
कार्यक्रममा वडानं ४ का प्रकाश न्यौपाने, वडानं ३ का राममणि पोखरेल तथा प्रेमबहादुर खड्का,डा.हरिराम श्रेष्ठ, कृष्णराज जोशी, अमिर न्यौपाने, इं, भिमसेनदास श्रेष्ठ लगायतले उमेदवार छनौट गर्न स्पष्ट आधार बनाउन सुझाएका थिए ।
कार्यक्रममा भक्तपुर कांग्रेसका नेता कबिर राणाले भेला आयोजनाको औचित्यबारे बताएका थिए । राणाले विशेष अधिवेशनको भावनालाई आत्मसात गर्दे विभिन्न पदमा उमेदवारी दिने सम्बन्धमा छलफल गर्न भेला आयोजना गरेको बताए । राणाले, सूर्यविनायकका ७ वटा वडाका वडा सभापतिहरुसँगको समन्वयमा कसकसले कुन जिम्मेवारीमा उमेदवारी दिनेबारे छलफल भैरहेको जानकारी दिए । राणाले १५ गते हुने भनिएको अधिवेशन कांग्रेसको नभएको बताए । राणाले भने ‘१५ गते गर्ने भनिएको अधिवेशनको अन्यौलमा नपरौं, त्यो हाम्रो होइन, त्यो रोकिन सक्छ ।’
कार्यक्रममा सुरेन्द्र केसी, विष्णुराज कार्की लगायतका नेताहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम सहजिकरणको भूमिका जिल्ला सदस्य कृष्णमुरारी न्यौपानेले गरेका थिए । ‘अहिले आम नागरिकको मन जित्न सक्ने कांग्रेस आवश्यक छ’ न्यौपानेले भने‘ कांग्रेसमा सुधार आवश्यक छ, सुधारका लागि यो समुह आवश्यक छ।’

