कांग्रेसले डटेर सामना गर्नु पर्दछ : प्रदीप पौडेल
काठमाडौं, १९ वैशाख ।
पाल्पाबाट निर्वाचित कांग्रेसका सांसद सन्दीप रानालाई काठमाडौ.—पाल्पा सम्पर्क समितिले बधाई तथा शुभकामना दिएको छ । पाल्पा १ बाट निर्वाचित रानालाई शुभकामना दिन काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसका सांसदहरुको जिम्मेवारी अझ धेरै रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दे पौडेलले भने “झण्डै दुई तिहाइको सरकार छ, त्यसले कतिपय गलत कामलाई पनि संख्याको बलमा जबरजस्ती गर्न सक्छ। त्यसको डटेर सामना गर्नु पर्दछ, जनतालाई बुझाउन सक्नु पर्दछ। त्यसका लागि म सन्दीपजीलाई सक्रिय, अनुकरणीय र देखिने भूमिकाका लागि शुभकामना व्यक्त गर्दछु।”

पौडेलले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनु पर्ने राज्यको आधारभूत मर्मभित्रको विषय भएकाले एकपक्षीय हुनेगरी पुनर्संरचना गर्नु गलत भएको बताउँदै लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका आधारभूत मर्मलाई खलबल्याउन नपाइनेतर्फ सरकारको ध्यानाकर्षण गर्।
नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित सम्मान कार्यक्रममा पार्टीका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले झण्डै दुई तिहाइको सरकारलाई खबरदारी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझ बलियो र चुस्त हुनुपर्ने आवश्यकता रहेको बताए। श्रेष्ठले अदालत, निर्वाचन आयोगजस्ता संवैधानिक निकायले कांग्रेसको विवाद निरुपण गरिसकेकाले अब पार्टीभित्र विवाद गर्नुको औचित्य नरहेको तर्क गरे।
कार्यक्रममा सम्मानित सांसद रानाले आफू निर्वाचित हुनुमा लामो समयदेखि पार्टीमा योगदान गरेका अग्रजहरूको ठूलो भूमिका रहेको बताउँदै उनीहरूप्रति आभार व्यक्त गरे। रानाले आफ्नो जित व्यक्तिगत नभई समग्र पाल्पालीको जित भएकाले पाल्पा र देशको विकास तथा राम्रो नीति निर्माणका पक्षमा आफ्नो क्षमताले भ्याएसम्म सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
सम्पर्क समितिकी अध्यक्ष विमला बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार पाल्पाका नेताद्वय कृष्णप्रसाद अधिकारी र जमिला मियाँले पार्टीको समानुपातिकतर्फको मत कम भएकाले आफूहरू निर्वाचित हुन नपाए पनि प्रत्यक्ष निर्वाचित रानाको जितले आफूहरूलाई सन्तुष्टि र गौरव महसुस गराएको अनुभव सुनाए।

