कांग्रेसका दुवै पक्षले आफ्नो राजनीतिक निर्णयको भारी अदालतको काँधमा बिसाउनु हुँदैन
कस्तो कांग्रेस बनाउने? कसका लागि बनाउने? कुन मूल्यमा उभिने? यी प्रश्नको जवाफ कुनै इजलासबाट आउँदैन।राजनीतिक दलले आफ्ना आन्तरिक द्वन्द्व अदालतमा पुर्याउने प्रवृत्ति आफैंमा एउटा रोगको लक्षण हो।
कांग्रेसको देउवा पक्षीय राष्ट्रिय भेलाले के देखायो भने देउवा पक्षभित्र पनि एउटै स्वर छैन। देउवाको आफ्नै कठोरता, सिटौलाको गगन “भाइ” लाई सभापति मान्न नै नसकिने स्पष्ट असहमति, धेरैको एकोहोरो विरोध र पूर्णबहादुर खड्काको भद्रता, संयम र पार्टीमा जसरी होस् विभाजन नहोस् भन्ने विचार, अनि शेखर कोइरालाको लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता र सहमति–सहकार्यलाई प्राथमिकता दिने राजनीतिक संस्कारले एउटै समूहभित्र पनि फरक राजनीतिक मनोविज्ञान स्पष्टै देखाउँछ।
अदालतले वैधानिकताको प्रश्न टुंग्याउला। तर कांग्रेसभित्रको अविश्वास, पुस्तान्तरण र गुटीय संस्कारको प्रश्न टुंग्याउने छैन। त्यसैले असली परीक्षा फैसला होइन, फैसलापछिको व्यवहार हो। यस्तो बेला देउवाले संक्रमण सहज बनाउन छाती ठूलो बनाउन सके उत्तम, नसके गगनले त्यसका लागि धेरै विचार गर्नु पर्ने देखिन्छ।
किनभने अब आउने अदालती फैसलाले कुन नेतृत्व वैधानिक हो भन्ने कुरा गर्ला। तर यो मूलतः प्राविधिक र कानुनी प्रश्न हो। तर कांग्रेसभित्र गाँठो परेको असली कुरा कानुनी होइन, राजनीतिक हो। कस्तो कांग्रेस बनाउने? कसका लागि बनाउने? कुन मूल्यमा उभिने? यी प्रश्नको जवाफ कुनै इजलासबाट आउँदैन।
राजनीतिक दलले आफ्ना आन्तरिक द्वन्द्व अदालतमा पुर्याउने प्रवृत्ति आफैंमा एउटा रोगको लक्षण हो। त्यो रोग हो: राजनीतिक संवादको क्षमता क्षय हुँदै जानु। जुन पार्टीले आफ्नै घरभित्रको विवाद आफैं मिलाउन सक्दैन, त्यसले मुलुकका जटिल विवाद मिलाउने नैतिक दाबी कसरी गर्न सक्छ ?

त्यसैले पछिल्लो देउवा पक्ष राष्ट्रिय भेलाले एउटा सूक्ष्म तर महत्वपूर्ण संकेत दिए अनुसार त्यहाँभित्र पनि फरक फरक धार छन्। पछिल्ला दिनमा पूर्णबहादुर खड्काजस्ता नेताको संयमित र सन्तुलित भूमिकाले के देखाउँछ भने त्यो पक्षभित्रै पनि पार्टीलाई थप विभाजनतर्फ धकेल्नु हुँदैन भन्ने गम्भीर धारणा जीवित छ। संकटका बेला चर्को स्वरभन्दा संयमित स्वर बढी मूल्यवान् हुन्छ र त्यस्ता स्वर दुवैतिर छन् भन्ने तथ्य नै कांग्रेसका लागि आशाको आधार हो।
त्यसैले कांग्रेसको समस्यालाई ‘देउवा पक्ष कि गगन पक्ष?’ भन्ने साँघुरो चश्माले हेर्नु अबका दिनमा पर्याप्त छैन। राजनीतिमा परिसिथिति अनुसार समिकरण बदलिन्छ। स्वार्थ पहिचान हुन्छ। अबको असली प्रश्न हो: कस्तो राजनीतिक संस्कार र कस्तो कांग्रेस? गुटको जित–हारले पार्टी बदलिँदैन। संस्कार बदलिएपछि मात्र पार्टी बदलिन्छ।
सन् नब्बेको दशकमा बेलायतको लेबर पार्टीलाई नयाँ अनुहारको नेतृत्वले मात्र बदलेको थिएन। त्यो रूपान्तरणको मर्म थियो: बदलिएको समाज, बदलिएको अर्थतन्त्र र बदलिएका मतदाताको आकांक्षासँग पार्टीको पुरानो राजनीतिक विरासतलाई पुनःजोड्ने साहसिक प्रयास। लेबरले आफ्नो इतिहास फालेन तर इतिहासको भारी बोकेर वर्तमानदेखि टाढिएन पनि।
यही कारण गगन थापाका लागि पनि यो कठिनतम् राजनीतिक छनोटको समय हो। कृष्णप्रसाद सिटौलाले गगनको नेतृत्व स्वीकार गर्न नसक्ने आफ्नो असहमति सार्वजनिक गरिसकेका छन्। त्यहाँ स्पष्ट राजनीतिक असहमति छ र लोकतान्त्रिक पार्टीभित्र असहमतिको पनि सम्मानजनक स्थान हुनुपर्छ। तर यसको अर्थ के होइन भने गगनले आफ्नो सम्पूर्ण ऊर्जा पुराना प्रभावशाली नेताहरूलाई फकाउने, रिझाउने र आफ्नो पक्षमा तान्ने काममा खर्च गरून्। विगतको योगदानको सम्मान गर्न सकिन्छ, सहकार्यका ढोका सधैं खुला राख्न सकिन्छ तर ‘नयाँ कांग्रेसको परियोजना’ पुराना सम्बन्धको व्यवस्थापनमा अडिनु हुँदैन। जुन नेतृत्व पुरानो शक्ति–सन्तुलनको हिसाब–किताबमा अल्झिन्छ त्यसले नयाँ राजनीतिक कल्पनाका लागि समय र साहस दुवै गुमाउँछ। नयाँ नेतृत्वको वैधता पुराना नेताको आशीर्वादबाट होइन, जनताको भरोसा र कार्यसम्पादनबाट आउँछ।
तर यसको अर्को पाटो पनि उत्तिकै महत्वपूर्ण छ र यहीँनेर सन्तुलित दृष्टि आवश्यक पर्छ। देउवा पक्षमा उभिएका सबैलाई पुरानो, जीर्ण कांग्रेसका प्रतिनिधि र गगन पक्षमा उभिएका सबैलाई नयाँ, रूपान्तरित कांग्रेसका प्रतिनिधि ठान्नु तथ्यसंगत छैन। पुरानो भनिएको समूहभित्र पनि परिवर्तनको तीव्र चाहना बोकेका ऊर्जावान् युवाहरू छन् जो हिजो गगन थापासँगै नयाँ काँग्रेस बनाउन तल्लिन भएर लागेका थिए। नयाँ भनिएको समूहभित्र पनि पुरानै गुटीय अभ्यास र अवसरवादी गणित बोकेर आएका छन् । त्यसैले नयाँ–पुरानोको रेखा गुटको सिमानामा होइन, प्रवृत्तिको धरातलमा कोरिनुपर्छ।
यहीँनेर टोनी ब्लेयरको ‘न्यू लेबर’ एउटा उपयोगी सन्दर्भ बन्न सक्छ। सन् नब्बेको दशकमा बेलायतको लेबर पार्टीलाई नयाँ अनुहारको नेतृत्वले मात्र बदलेको थिएन। त्यो रूपान्तरणको मर्म थियो: बदलिएको समाज, बदलिएको अर्थतन्त्र र बदलिएका मतदाताको आकांक्षासँग पार्टीको पुरानो राजनीतिक विरासतलाई पुनःजोड्ने साहसिक प्रयास। लेबरले आफ्नो इतिहास फालेन तर इतिहासको भारी बोकेर वर्तमानदेखि टाढिएन पनि। विरासत र नवीकरणबीचको त्यो सन्तुलन नै ‘न्यू लेबर’को सफलताको सूत्र थियो।
कांग्रेसका लागि पनि प्रश्न त्यही हो: बीपीको समाजवादी विरासत, लोकतान्त्रिक आन्दोलनको इतिहास र त्यागको परम्परालाई एक्काइसौं शताब्दीको नेपाली समाज, त्यसका नयाँ पुस्ताका आकांक्षा र आजका आर्थिक–सामाजिक यथार्थसँग कसरी पुनःजोड्ने? नाम फेरेर, अनुहार फेरेर वा नारा फेरेर मात्र त्यो सम्भव छैन।
गगनका लागि सबैभन्दा ठूलो जोखिम पनि यहीँनेर छ। आफू वरिपरि धेरैभन्दा धेरै मानिस जम्मा गरेर शक्ति विस्तार गर्नु तुलनात्मक रूपमा सजिलो काम हो। नेपाली राजनीतिमा त्यसको सिद्ध विधि छ: पद, आश्वासन र समीकरण। तर भीड बढ्दैमा पार्टीको चरित्र बदलिन्छ भन्ने कुनै ग्यारेन्टी छैन। संख्या संगठनको गणित हो। राजनीतिक रूपान्तरण भने नेतृत्वको साधना हो। पुरानै गुटहरूलाई नयाँ नेतृत्वमुनि पुनःव्यवस्थित गरेर ‘नयाँ कांग्रेस’ बन्दैन।
अदालतले कांग्रेसको वैधानिकता निर्धारण गर्ला तर कांग्रेसको भविष्य कांग्रेसले नै निर्धारण गर्नुपर्छ।
त्यसैले अहिलेको निष्कर्ष के हो भने कुनै पक्षका लागि अदालतको निर्णय पर्खनु व्यावहारिक आवश्यकता होला, तर दुवै पक्षले आफ्नो राजनीतिक निर्णयको भारी अदालतको काँधमा बिसाउनु हुँदैन। अदालतले कांग्रेसको वैधानिकता निर्धारण गर्ला तर कांग्रेसको भविष्य कांग्रेसले नै निर्धारण गर्नुपर्छ। फैसला जता आए पनि त्यसपछिको बिहानमा कांग्रेसका अगाडि उभिने प्रश्न उही हुनेछ: यो पार्टी नेपाली समाजको बदलिँदो आकांक्षाको वाहक बन्न सक्छ कि सक्दैन ?
त्यो प्रश्नको जवाफ न इजलासमा छ न त भेलाका भाषणमा। त्यो जवाफ कांग्रेसका नेता–कार्यकर्ताले आफ्नो राजनीतिक संस्कार, साहस र दूरदृष्टिबाट लेख्नुपर्नेछ। इतिहासले कांग्रेसलाई धेरैपटक दोस्रो मौका दिएको छ तर इतिहासको धैर्य पनि असीमित हुँदैन।
नोट: डिकेन्द्र ढकालको फेसबुकबाट साभार ।

