विजुली झ्यापझ्याप किन ? मन्त्रालय भन्छ : माग बढ्यो, वितरण प्रणाली प्रमुख चुनौती
सेवाग्राहीका गुनासोप्रति बेवास्ता गर्ने, आफ्नो जिम्मेवारी निर्वाहमा लापरवाही गर्ने वा तोकिएको दायित्व पूरा नगर्ने कर्मचारीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिदै सूचनामा मन्त्रालयमै गुनासो गर्न सकिने व्यवस्था गरिएको छ ।
काठमाडौं, १६ असार ।
मुलकुका विद्युत उत्पादन मागको तुलनामा पुग्दो छ भनिन्छ , तर राजधानी काठमाडौं लगायत मुलुकका धेरै स्थानमा विद्युत झ्यापझ्याप गइरहेको छ । किन यस्तो अवस्था ? उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले सोमबार सामाजिक संजालबाट सूचना जारी गरेको छ जसमा कमजोर वितरण प्रणालीनै प्रमुख समस्या हो भनेको छ ।
मन्त्रालयको सूचनामा भनिएको छ ‘ गर्मीको मौसममा पंखा, एयर कन्डिसनर ,एसी, फ्रिजलगायत विद्युतीय उपकरणहरूको एकैसाथ बढ्दो प्रयोग तथा विद्युतीय सवारी साधनको चार्जिङका कारण विद्युत् माग उल्लेख्य रूपमा वृद्धि भएको छ। यसबाट केही क्षेत्रमा हालको वितरण प्रणालीमा अतिरिक्त चाप पर्न गएको अवस्था छ।’
मन्त्रालयले देशका विभिन्न भागमा अत्यधिक गर्मी, हावाहुरी, वर्षा तथा अन्य प्रतिकूल मौसमीय अवस्थाका कारण बेला–बेलामा विद्युत् आपूर्तिमा असन्तुलन तथा अवरोध सिर्जना भइरहेको स्वीकार गर्दे परिस्थितिलाई यथाशीघ्र व्यवस्थापन लागि परेको बताएको छ । सूचनामा भनिएको छ ‘ नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, जीर्ण ट्रान्सफर्मरहरूको प्रतिस्थापन, आवश्यक स्थानमा उच्च क्षमताका नयाँ ट्रान्सफर्मर जडान तथा ब्रेकर प्यानलहरूको स्तरोन्नतिलगायतका कार्यलाई उच्च प्राथमिकताका साथ तीव्र रूपमा अघि बढाइरहेको छ।’
‘गर्मीको मौसममा पंखा, एयर कन्डिसनर ९एसी०, फ्रिजलगायत विद्युतीय उपकरणहरूको एकैसाथ बढ्दो प्रयोग तथा विद्युतीय सवारी साधनको चार्जिङका कारण विद्युत् माग उल्लेख्य रूपमा वृद्धि भएको छ’ मन्त्रालयले भनेको छ ‘यसबाट केही क्षेत्रमा हालको वितरण प्रणालीमा अतिरिक्त चाप पर्न गएको अवस्था छ। उक्त अवस्थालाई व्यवस्थापन गर्न विद्युत् प्रवाहको सन्तुलन, वितरण सञ्जालको सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका कार्यहरू निरन्तर सञ्चालनमा रहेका छन्।’
विद्युत् आपूर्तिमा देखिने अवरोध तथा असन्तुलनका विषयमा सेवाग्राहीलाई समयमै सूचना उपलब्ध गराउन र विद्युत् अवरोध (नोलाइट) सम्बन्धी गुनासोको तत्काल सम्बोधन गर्न देशभर करिब १,२०० कर्मचारी परिचालन गरिएको उल्लेख गरिएको । मन्त्रालयले सेवाग्राहीका गुनासोको शीघ्र सुनुवाइ सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणका नो–लाइट इकाई, सबस्टेशन प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा वितरण शाखाका जिम्मेवार अधिकारीहरूलाई आवश्यक निर्देशन तथा परिपत्र जारी गरिसकेको बताइएको छ ।
सम्बन्धित निकायबाट समयमै आवश्यक जानकारी प्राप्त नभएको वा गुनासोको उचित सुनुवाइ नभएको अवस्थामा सेवाग्राही महानुभावहरूलाई मन्त्रालयको हटलाइन नम्बर ११५१ मा आफ्नो विवरणसहित जानकारी गर्न आग्रह गरिएको छ । सूचनामा भनिएको छ ‘सेवाग्राहीका गुनासोप्रति बेवास्ता गर्ने, आफ्नो जिम्मेवारी निर्वाहमा लापरवाही गर्ने वा तोकिएको दायित्व पूरा नगर्ने कर्मचारीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ।’
‘विश्वसनीय, गुणस्तरीय, सुरक्षित तथा उत्तरदायी विद्युत् सेवा उपलब्ध गराउनु नेपाल सरकारको उच्च प्राथमिकता र दृढ प्रतिबद्धता हो’ सूचनामा भनिएको छ ‘सेवाग्राही महानुभावहरूले देखाउनुभएको धैर्य, सहयोग तथा विश्वासप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हार्दिक आभार व्यक्त गर्दछ। साथै, विद्युत् सेवा थप प्रभावकारी, भरपर्दो र सहज बनाउन मन्त्रालय निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछ।’
