आत्महत्या किन ? अब प्रश्न होइन, उत्तर खोजौं, समाधानको बाटो रोजौं
लोकतन्त्रमा राज्यसत्ता फौजी काम कारवाहीबाट निर्देशीत हुनुहुन्न । सरकार भनेको शासक होइन सेवक हो भन्ने मनोभावबाट निर्देशीत हुनसकेको अवस्थामा कतिपय सामाजिक समस्या, समस्या रहदैनन् ।
सम्पादकीय
राजधानीको केन्द्रमा गणेश नेपालीले आत्मदाह गर्ने निर्णय गरे । आफ्नै मोटरसाइकलको पेट्रोल निकाले, शरिरमा खन्याए र आफैले आफैलाई जलन गरे । उनको आत्मदाह यतिखेर नेपाली समाजमा चर्चा, परिचर्चा र बहसको विषय बनेको छ । को दोषि ? को माथि कारबाही हुने यावत प्रश्न अनुत्तरित छन् । सरकारले छानविन समिति बनाएको छ । समितिले ढिलोचाडो प्रतिवेदन बुझाउने छ । समितिले कस्तो प्रतिवेदन तयार गर्ने हो ? समितिले कुन कुन आधारलाई केलाएर प्रतिवेदन दिने हो, प्रश्नहरुमात्र छन्।
गणेश नेपालीको आत्मदाहको घटना पछि सर्लाहीका युवा विवेक मण्डल जो शिक्षित बेरोजगार हुन उनले पनि त्यहीँ प्रयास गरे । घायल अवस्थाका उनको उपचार भैरहेको छ । अनामनगरका अश्विन रावत जो व्यवसायी हुन् उनले पनि आत्मदाह गरे । आफ्नै निवासको भान्साकोठमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका उनको उपचारको क्रममा निधन भएको छ । यी तिनवटा घटनाको प्रकृति एउटै छ, आत्मदाह । कारण, फरक फरक हुनसक्छन्,जुन खोजिनुपर्ने विषय हो ।
सार्वजनिकरुपमा, सार्वजनिक स्थानमा आत्मदाह भएकोले गणेश नेपालीको केसलाई लिऔं । आत्मदाहको तत्कालिन कारण महानगर प्रहरीसँगको विवाद,बाइकमा लक मारिनुजस्ता घटनाजन्यलाई प्रमुख आधार बनाएर बहस, चर्चा र सडकमा विरोध प्रर्दशनहरु भैरहेका छन् ।
केही तलमाथी भयो भने प्रहरीले दुःख दिन्छ, फसिन्छ भन्ने मनोविज्ञान जो जनमानसमा गडेको छ उद्धारका निम्ति अग्रसरता नदेखिनुका पछाडि त्यो पनि कारण हुनसक्छ कि ?
आत्मदाह गर्ने स्थितिसम्म पुग्न महानगर प्रहरीसँग भएका विवाद, महानगर प्रहरीको बोली, व्यवहार र कार्यशैलीनै प्रमुख कारण हो भन्ने निचोडमा पुगियो भने त्यो अपुरो हुनेहुन्छ ।कारण, आत्मदाहसम्म पुग्ने अवस्था एक्कासी बन्ने होइन । गणेशका मुगुदेखी काठमाडौंसम्मका जीवन सघर्षका कथाव्यथा र आफैले आफैलाई समाप्त गर्ने परिस्थितिका पछाडि के के कारण हुन् सक्छन् त्यसको विचेचना हुनुपर्दछ । त्यसै अनुसार सरकारी तहबाट नीति निर्माण र कामयावी कार्ययोजना अपेक्षित हुन्छ ।
महानगर प्रहरीले बाइकमा लक लगाएको र वादविवाद भएको करिव २ घण्टापछि आत्मदाह गर्ने स्थितिमा उनी पुगेका हुन् । जीवनसँग हारे भनेर आफैंले आफैलाई जलाउने परिस्थितिमा पुग्ने अवस्था तत्कालिन घटनाबाट उत्पन्न भएको हो वा उनमा पहिला देखी त्यस्तो मनोभाव विकसित भएको हो ? बाइकको किस्ता, प्रतिस्पर्धी बजारमा निरन्तरको संघर्ष, न्यून आयबीच परिवारको भरणपोषण, यावत कारण हुनसक्छन् । किन आत्मदाहको स्थितिमा पुगे उनी ? यही प्रश्नको उत्तर खोजिनु पर्दछ अब । भय सृजित परिवेशबाट हुनसक्छ उनको आत्मदाह । जीवननिर्वाहको भय, किस्ताको भय, कानूनको भय । सामाजिक जीवनमा जसरी अहिले गरिखानेहरु माथिको फौजी कारवाहीले निम्त्याएको भयग्रस्त अवस्था छ त्यसको प्रभाव पनि हुनसक्छ । गणेश नेपाली के उनी मानसिक समस्याबाट पिडित थिए ? अहिलेका प्रशस्त युवाहरुमा एन्जाइटी, डिप्रेसनका लक्षणहरु रहेको जानकारहरु बताउँछन् । यावत प्रश्न केलाएर उत्तरहरु खोजिनु अहिलेको आवश्यकता हो ।
प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी जो कोही सचेत, संवेदनशील हुन आवश्यक हुन्छ, जमान आवेगको, आक्रोसको हो, युवाहरुको हो । खुला समाजमा लोकतन्त्रमा कडिकडाउ, आदेश, निर्देशनले काम गर्देनन् । मीठो बोली र नम्र व्यवहारले धेरै कुरा जित्न सकिन्छ ।
त्रिुपरेश्वरको मध्य शहरमा जहाँ पसलहरु छन् । मानिसहरुको भिडभाड, चहलपहल छ र प्रहरी, नगर प्रहरी पनि छन् । त्यस्तो भिडभाडबीच एकजना युवा आफैले आफैलाई जलाउँछन् । भिडभाड र खुला सडकमा जलिरहेका गणेशको उद्धारका निम्ति जस्तो तप्परता आवश्यक थियो, त्यो देखिएन ? के नेपाली समाज निर्दयी भएको हो, संवेदनाहीन हुँदै गएको हो ? जलनको घायललाई कसरी उद्धार गर्ने त्यसको सामान्य ज्ञान पनि हामीमा रहेनछ । केही तलमाथी भयो भने प्रहरीले दुःख दिन्छ, फसिन्छ भन्ने मनोविज्ञान जो जनमानसमा गडेको छ उद्धारका निम्ति अग्रसरता नदेखिनुका पछाडि त्यो पनि कारण हुनसक्छ कि ? नेपाली समाज भयमा बाँचेको छ यतिखेर । फौजी कारबाहीलाई समाधानको प्रमुख अस्त्र बनाइएका वर्तमानका केही घटनाहरु सार्वजनिक बहसमा छन् ।
सडकमा थरिथरीका मानिस हुन्छन् । प्रहरी, ट्राफिक प्रहरी, नगरप्रहरीसँग सडकमा ठोकिने जो सुकै हुनसक्छन्, जस्तो सुकै मानसिक अवस्थाका हुनसक्छन् । फरकफरक परिवेश, पात्र र परिस्थितिसँग जोडिनुपर्ने हुन्छ सडकमा खट्ने प्रहरी, ट्राफिक प्रहरीहरुले । खास गरेर उनीहरु सेवा दिन सडकमा खटेका हुन् । सडकमा आउँने अड्चनहरुमा समाधान दिने प्रमुख जिम्मेवारी हो उनीहरुको । नेपाल प्रहरीको नारा नै छ ‘मुस्कान सहीतको सेवा’ तर व्यवहार त्यस्तो छ त ? सडकमा फौजी शैलीमा जरिवाना तिराउने उदेश्यले निर्देशित देखिन्छन् उनीहरु । सेवा होइन कारबाही प्रमुख जिम्मेवारी बनेको जस्तो देखिदैंछ । प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी जो कोही सचेत, संवेदनशील हुन आवश्यक हुन्छ, जमाना आवेगको, आक्रोसको हो, युवाहरुको हो । खुला समाजमा लोकतन्त्रमा कडिकडाउ, आदेश, निर्देशनले काम गर्देनन् । मीठो बोली र नम्र व्यवहारले धेरै कुरा जित्न सकिन्छ ।
घटनापछि गल्ती स्वीकार नगर्ने दोष भने अरु माथि थोपर्ने प्रवृति फेरी पनि दोहोरियो । गृहमन्त्री सुधन गुुरुङ्गले प्रहरीले कारबाही गरेको होइन नगर प्रहरी गरेको हो भन्ने जिकिर गरेका छन् । गृहमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिले किन एकपछि अर्को आत्मदाहाका घटना भए ? त्यसको उत्तर खोज्ने हो, कुन प्रहरीले के गर्यो त्यसमा अल्झिने होइन ।
रास्वपा सांसद रञ्जु दर्शनाले सामाजिक संजालमा लेखेकी छन्‘गणेश नेपाली आफैंलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ।’
सांसद दर्शनाले सामाजिक संजालमा उठाएको प्रश्न मन्नीय छन् । सरकार भाग्नु हुँदैन उनले भनेकी छन् ‘“मैले सकिन” भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक(आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नुसम्म ठेले पछि यथार्थबाट आएको हुन्छ। मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होईन ,जिवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको ठुलो सुरक्षा हुन्छ। र,सॅंगै मानसिक स्वास्थ्यमा नेपाल सरकारको गाम्भिरयता बढ्नु पर्छ।’
पछिल्लो पाँच वर्षमा ३५ हजार बढी नेपालीले आफैले देह त्याग गर्ने बाटो रोजेको देखिन्छ । यस हिसावले दैनिक औसत १८ जना नेपालीले आफैलै आफैलाई समाप्त गरिरहेका छन् ।
अहिलेका युवाहरुमा मनोपरामर्श आवश्यक ठान्दछन्,मनोचिकित्स । पछिल्ला वर्षहरुमा युवामा इन्जाइटी, डिप्रेसन,लागुपदार्थको सेवनहरु बढ्दो क्रममा रहेको उनीहरु औंल्याउँछन् । शैक्षिक बेरोजगारी र प्राप्त रोजगारीबाट सन्तुष्ठ हुन नसकेका युवाहरुको संख्या ठूलो छ । सामान्यतया कोही पनि अपर्झट आत्महत्याको अवस्थामा नपुग्ने, तत्कालिन घटना भन्दा अगाडि देखि तनाव समाधान गर्ननसक्ने अवस्थाबाट गुज्रिरहेको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
आत्महत्याको घटनाले व्यक्ति विशेषलाई, परिवार र समाजलाई पीडा दिन्छ । परिवार, समाज र समग्र राष्ट्रसँग जोडिएको गंम्भिर विषय हो आत्महत्या प्रवृति । सरकार, नीतिनिर्माताहरुले पछिल्ला आत्मदाहका घटनालाई केन्द्रमा राखेर त्यसै अनुसार नीति,कार्ययोजना बनाएर काम गर्नुपर्दछ ।
आत्महत्याका आँकडाले भयावह चित्र देखाउँछ । पछिल्लो पाँच वर्षमा ३५ हजार बढी नेपालीले आफैले देह त्याग गर्ने बाटो रोजेको देखिन्छ । यस हिसावले दैनिक औसत १८ जना नेपालीले आफैलै आफैलाई समाप्त गर्दछन् ।
२४ घण्टाबीच घटेका यी तीन आत्मदाहका घटनालाई गम्भिर, संवेदनशील भएर राज्यले लिनुपर्दछ । किन एकपछि अर्को आत्मदाह भयो ? किन दैनिक १८जनाले आत्महत्याको बाटो लिइरहेका छन् । आत्मदाहको पछाडिका कारण के के हुन्, प्रत्येकको हकमा त्यसको उत्तर खोजिनुपर्दछ । लोकतन्त्रमा राज्यसत्ता फौजी काम कारवाहीबाट निर्देशीत हुनुहुन्न । सरकार भनेको शासक होइन, सेवक हो भन्ने मनोभावबाट निर्देशीत हुनसकेको अवस्थामा कतिपय सामाजिक समस्या, समस्या रहदैनन् ।
तस्बिर : नेपाल प्रहरीको तथ्याङ्कमा आधारित ग्राफ ।
