काठमाडौ,२३ असार ।
प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डाबीचको भेटवार्ता पछि नेपालले एडिबीबाट ठूलो परिणाममा आर्थिक सहयोग पाउँने भएको छ ।
भेटपछि अध्यक्ष कान्डाले सामाजिक संजालमा सन् २०२९ सम्ममा नेपाललाई दुई अर्ब ४० करोड अमेरिकी सहयोग गर्ने वाचा सार्वजनिक गरेका छन् । सो रकम नेपालीमा ३ खर्ब ६२ अर्ब भन्दा बढी हुने हुन्छ ।
कान्डाले एडिबीको सहयोग प्रधानमन्त्रीको भिजनलाई व्यवहारमा उतार्न र त्यसको प्रतिफल जनतासम्म पुर्‍याउन मद्दत गर्ने बताएका छन् । सहयोग हुने रकमको मोडालिटी भने सार्वजनिक भएको छैन र कति अनुदन कति ऋण त्यसको टुंगो पनि लागेको छैन ।
यता प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको समाचार विवरणमा नेपाल सरकार र एडिबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।
‘जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।

भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडिबीदीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएको समाचारमा उल्लेख छ ।

‘उहाँले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ’ प्रधानमन्त्री कार्यालयले भनेको छ ‘नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उहाँको भनाइ छ।’