पुल्चोक(ललितपुर), १० चैत्र ।
खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरुले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिएका छन् ।
विश्व पानी दिवस २०२६ का अवसरमा स्मार्ट वास सोलुसन्सको आयोजनामा  ’पानी र लैंगिक समानता‘ विषयमा सोमवार ललितपुरमा भएको कार्यशालाका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा प्रमुख वक्ता अन्तर्राष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानकी निर्देशक डा. मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास, परम्परा महिलामैत्री बनाउन नसकिएकोले महिलाहरुको आर्थिक,सामाजिक,शैक्षिक र समग्र विकास प्रभावित भएको बताईन । उनले अझै पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानीदेखि घरेलु काममा उपयोगमा गरिने पानी संकलनको जिम्मेवारी महिलाले लिने प्रचलन देखिएकोले छोरीहरुको पढाई र अन्य सामाजिक सहभागिताको विषय प्रभावित भएको धारणा राखिन ।
खड्काले पानी संकलनका क्रममा महिलाहरुले हिंसा पनि सहनुपरेको उल्लेख गर्दै भनिन् “दलित महिलाहरुको स्थिति त भयावह छ । तराईमा होस् कि पहाडमा जातीय विभेद र छुवाछुतको विभेद भनिसाध्य छैन् ।”
कार्यक्रमकी अर्की वक्ता खानेपानी मन्त्रालयकी सहसचिव ई.मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिलाहरुको विकासको वाधक भएको बताईन । उनले केही प्रदेशका केही पालिकाहरुमा विदेशी दातृ निकाय र संंस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकोले यो पूरा भएमा पानीका कारण रोकिएको महिलाहरुको आर्थिक सामाजिक विकासको गति अगाडि बढ्न मद्दत पुग्ने बताईन।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा.कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्वलाई आत्मसात गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको बताए । ज्ञवालीले पानीको महत्व,पानीको बहुउपयोग र सदुपयोग, पानी र आर्थिक सामाजिक विकास तथा न्यायका विविध पक्षमा छलफल गर्न हरेक वर्ष राष्ट्रिय पानी सम्मेलन गर्न थालिएको र पानीका क्षेत्रमा काम गर्ने संघीय, प्रादेशिक र स्थानीय संस्था, विज्ञ, अभ्यासकर्ता, अनुसन्धानकर्ताका साथै प्राविधिकहरुबीचमा छलफल गर्न यस्तो सम्मेलन उपयोगी भएको पनि बताए । उनले जहाँ पानी बग्छ, त्यहाँ समानता मौलाउछ भन्दै पानी उपयोगमा कानूनहरुले महिलाहरुलाई विभेद नगरे पनि व्यबहारमा विभेद भएकोले यसलाई अभ्यासद्धारा सुधार्न पर्ने खाँचो औल्याए ।
कार्यक्रमका अर्का वक्ता पूर्वमन्त्री गणेश साहले पानी संसारभर सबै वर्ग,पेशा,समुदाय र उमेर समूहका नागरिकका लागि सुख र समृद्धिको माध्यम र परिचायक भएको बताए । “जसकहाँ पानी बढी छ , त्यो धनी छ । पानी नहुने गरिब छ । पानीले धनी बनाउन सक्छ”, साहले भने । पूर्वमन्त्री साहले पानीका सम्बन्धमा सहज उपलब्धता, पहुँचयोग्यता र किफायतीपन महत्वपूर्ण भएको उल्लेख गरे ।
कार्यक्रमको दोस्रो शत्रमा सामूहिक बहस(प्यानेल डिस्कसन) राखिएको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.सुनिलबाबु श्रेष्ठद्धारा सञ्चालित सो बहसमा विज्ञ,नीति निर्माता, स्थानीय निकायका प्रतिनिधि र खानेपानीका क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुले आआफ्नो क्षेत्रमा भएका असल अभ्यासका बारेमा बताए।
सामूहिक वहसमा मन्त्रालयकी सहसचिव ई मीना श्रेष्ठले खानेपानीको क्षेत्रमा महिला सहभागिता बढाउन खानेपानी उपभोक्ता समितिमा महिला प्रतिनिधित्व बढाउने गरी नीति,नियमहरुमा परिवर्तन गरिरहेको जानकारी दिईन । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष दुर्गा चापागाईँले स्थानीय उपभोक्ताहरुको प्रयासमा थालिएको मानबड खानेपानी आयोजनाको सफलताको कथा सुनाउदै महिलाहरुलाई नेतृत्वमा ल्याउन धेरै कठिनाई झेल्न परेको धारणा राखिन । त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यपक डा. इन्दिरा पराजुलीले महिलाहरु सक्षम हुँदाहुँदै पनि हाम्रा परम्परागत मान्यता र अभ्यासले पछि परेको उल्लेख गरिन । त्यस्तै धुलिखेल नगरपालिकाका पूर्वप्रमुख अशोक व्यञ्जूले आँट गरेमा नागरिकका घरघरमा खानेपानी पुर्याउन सकिने विश्वास व्यक्त गरे । उनले आफू नगरको प्रमुख हुँदा ३१ प्रतिशतबाट ९७ प्रतिशत घरमा धारा पुर्याउन सक्षम भएको खानेपानीका बारेमा नागरिकहरुमा चेतना फैलाउने कार्यक्रम ल्याएको,खानेपानीको स्रोतहरुको पहिचान गरी तथ्यांक आधार सिर्जना गरेको र तिनको संरक्षणमा स्थानीय उपभोक्ताहरुलाई परिचालन गरिएको सफलताका कथा सुनाए । अर्की वक्ता शारदा खनालले जलवायु परिवर्तनले खानेपानीको उपलब्धतामा पर्ने असर र त्यसले महिलालाई पर्ने असरमा प्रकाश पारिन।
कार्यक्रममा एसएनभी नेपालकी खानेपानी क्षेत्रकी नेतृ नादिरा ख्वाजाले नेपालको वास क्षेत्रको तथ्यांक आधार तयार पार्ने क्रममा भएका प्रगतिका बारेमा प्रस्तुति दिईन । नेपाल खुला दिशामुक्त राष्ट्र घोषणा गरिएपछि त्यसलाई निरन्तरता दिने कार्यक्रमको अभावमा कतिपय स्थानहरुमा खुला दिशा गर्ने प्रवृत्ति बढ्दै गएको क्षेत्रगत अवलोकनमा भेटिएको उनले बताईन ।
कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले स्वागत मन्तव्य दिएका थिए भने समापन मन्तव्य वाटर एड, नेपालका कविन्द पुडासैनीले दिए । कार्यक्रममा खानेपानी क्षेत्रमा काम गर्ने तीनै तहका सरकारी अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, विश्वविद्यालयका प्राध्यापकहरु, अनुसन्धानकर्ता र विज्ञहरु, खानेपानी उपभोक्ता, खानेपानीका क्षेत्रमा नविन प्रविधि विकास गर्ने उद्यमीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, खानेपानी,सरसफाई र स्वच्छता र वातावरण विषय अध्ययन गर्ने विश्वविद्यालयका विद्यार्थीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्र संघले सन १९९३ देखि विश्व पानी दिवस मनाउन थालेको हो । यस बर्षको पानी दिवस पानी र महिला विषयमा केन्द्रित छ । यस बर्षको नारा जहाँ “पानी प्रवाहित हुन्छ, त्यहाँ समानता बढ्छ” भन्ने रहेको छ ।