विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्ने आवश्यकता : राष्ट्रपति रामचन्द्र
काठमाडौं, २४ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयबाट प्रेसित समाचारमा राष्ट्रपतिले परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेकोमा जोड दिएका छन् । विद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दे पौडेलले भने ‘आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ, विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ, यस्तो अवस्थामा हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्छ ।’

‘प्रविधि जति शक्तिशाली हुँदै जान्छ, मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि त्यति नै बढ्दै जान्छ, त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्न आवश्यक छ”, राष्ट्रपति पौडेलले भने।
विद्यालय ज्ञान, शिक्षा, चेतना, जागरणसँगै राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत संस्था रहेको उनको भनाई थियो । विद्यालयका कक्षा कोठामा केवल पाठ्यपुस्तकको ज्ञान मात्र प्रदान हुँदैन, त्यहीँबाट अनुशासन, इमानदारिता, परिश्रम, सहिष्णुता, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता जीवनका महत्वपूर्ण मूल्यहरू सिकाइन्छ भन्दै उनले आजका विद्यार्थी नै भोलिका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा राष्ट्रका जिम्मेवार नागरिक भएको उल्लेख गरे।
‘शिक्षा दिने भनेको विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क प्राप्त गर्ने मात्र होइन, समस्या समाधान गर्न सक्ने, नयाँ सोच विकास गर्न सक्ने, प्रविधिको सदुपयोग गर्न सक्ने र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने आधार तयार गर्नु पनि हो, यसमा सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबैको सहकार्य आवश्यक छ”, राष्ट्रपति पौडेलले भने।

