त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग संस्थान आइओइ र चीनको चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीबीच सम्पन्न संझौताले
अन्तरहिमाली नदी करिडोरहरूमा पूर्वसूचना प्रणालीको विकासका लागि नवीन प्रविधिको अनुसन्धान तथा विकास, प्राध्यापक तथा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान कार्यक्रम र ज्ञान तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको छ ।

काठमाडौ, २२ असोज।
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) र चीनको चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीअन्तर्गतको भू–प्रकोप रोकथाम तथा भू–वातावरण संरक्षणसम्बन्धी राज्यस्तरीय प्रमुख प्रयोगशाला (State Key Laboratory of Geohazard Prevention and Geoenvironment  Protection) बीच सम्झौता पत्र MOU मा हस्ताक्षर भएको छ । संझौताबाट नेपाल–चीनबीच प्राज्ञिक तथा अनुसन्धान सहकार्यमा महत्त्वपूर्ण उपलब्धि  हुने विश्वास गरिएको छ ।
इन्जिनियरिङ्ग अध्ययन संस्थाका डिन प्राध्यापक डा. शुशिलबहादुर बज्राचार्य र चीनको प्रयोगशाला प्रमुख प्राध्यापक डा. सुईमेइ फानबीच बुधबार आइओइमा संझौता पत्रमा हस्ताक्षर भएको हो ।


संझौताबाट विश्व विद्यालयमा अध्ययन, अनुसन्धान गर्ने सहयोग पुग्ने आइओईको विपद अध्ययन केन्द्रका प्रमुख बसन्तराज अधिकारीको भनाई छ । ‘ विपद अनुसन्धानमा चीनियाहरुले माथिबाट अध्ययन गर्दछन्, हामिहरु तल नेपालबाट अध्ययन गर्दछौ, दुई पक्षबीचका अध्ययन, अनुसन्धानबाट वैज्ञानिक तथ्यहरु संकलन गर्न सकिने हुन्छ’ अधिकारीले भने ‘ हिमाली क्षेत्रमा हुने मौसमी लगायतका अध्ययन अनुसन्धान गर्न सकिन्छ । हामिले गरेका अध्ययन, अनुसन्धानका उपलब्धीलाई सरकारले उपयोग गर्नसक्ने हुनसक्छ ।’

यस सहकार्यले वैज्ञानिक नवप्रवर्तन, सीमापार अनुसन्धान सहकार्य, विपद् जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् । अधिकारीले भनेका छन् ‘ दुई विश्वविद्यालयबीच यसअघि सम्पन्न समझदारी पत्र MOU लाई थप कार्यान्वयनमुखी बनाउँदै गरिएको यस सम्झौताले विशेषगरी अन्तरहिमाली नदी करिडोरहरूमा पूर्वसूचना प्रणालीको विकासका लागि नवीन प्रविधिको अनुसन्धान तथा विकास, प्राध्यापक तथा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान कार्यक्रम र ज्ञान तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको ।’
अधिकारील भनेका छन् ‘हाम्रो साझा उद्देश्य अनुसन्धान र प्राज्ञिक सहकार्यलाई व्यवहारिक प्रविधि तथा समाधानमा रूपान्तरण गर्दै सुरक्षित, सक्षम र विपद् उत्थानशील हिमाली समुदाय निर्माणमा योगदान पुर्‍याउनु हो।’