सशस्त्रका टोलीमा दक्ष खोज तथा उद्धारकहरूका साथै मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन विज्ञ, शिविर समन्वय तथा व्यवस्थापन विज्ञ र प्राथमिक उपचार विज्ञहरू रहेका छन्।

काठमाडौं, १३ भदौ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले थप २ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ ।
विपद् प्रतिकार्यका लागि हिजोसम्म १ हजार ८४५ सशस्त्र प्रहरी परिचालन भएकामा शुक्रबारदेखी संख्या बढाएर ४ हजार ८२८ पुर्‍याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक संजालमा राखेको विवरणमा सशस्त्रले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष वेश क्याम्प स्थापना गरी प्रभावित क्षेत्रहरूमा विज्ञसहितका अलग अलग टोली खटाइएका छन्।

परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकहरूका साथै मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन विज्ञ, शिविर समन्वय तथा व्यवस्थापन विज्ञ र प्राथमिक उपचार विज्ञहरू रहेका छन्। यसका साथै भत्किएका संरचनामा खोज तथा उद्धार ९सीएसएसआर० का लागि ४४ जनाको टोली खटाइएको छ ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको के९ टोलीअन्तर्गत ७ कुकुरसहित २१ जनालाई विभिन्न क्षेत्रमा खटाइएको जनाइएको छ।
५ वटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाड पनि परिचालन गरिएको छ । डोरीबाट उद्धार गर्नका लागि छुट्टै १३ जना खटाइएका छन् । ठाउँठाउँमा गोताखोर पनि परिचालन गरिएको दाहालको विवरणमा छ ।
देशका विभिन्न क्षेत्रबाट थप ३५५ जना सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।
भोटेकोशी हुँदै त्रिशुली नदीतटीय भेगमा प्रभावित विभिन्न ४८ वटा वडाहरुमा रहेका सशस्त्र प्रहरी बलले सूचिकृत गरेका १२ सय विपद् सूचकहरु मार्फत सूचना संकलन गरिरहेको छ।

यसका अतिरिक्त प्रभावित नागरिकहरूको सहयोगका लागि आश्रयस्थलको व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रियतापूर्वक खटिएको छ।

घटनाको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर स्थापना गरी निरन्तर सेवा दिइरहेको उल्लेख छ । विपद्मा घाइते भएकाहरूको आकस्मिक उपचारका लागि काठमाडौँस्थित नेपाल ए।पी।एफ। अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा १००र१०० बेडको तयारी अवस्थामा राखिएको छ।
यसैगरी, सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न ८ वटा जेनेरेटर, आवश्यक इन्धन, ५ वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामग्रीहरू प्रभावित स्थानमा सुरक्षित रूपमा पुर्‍याएको छ।