एमालेले कोशी, बागमति र लुम्बिनीमा , सुदुरपश्चिम र कर्णालीमा नेकपाको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। मधेश र गण्डकीमा भने दुई दलको सामथ्र्यलेमात्र सरकार बन्न सक्ने अवस्था छैन ।

काठमाडौं,९साउन ।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच तत्काल ५ प्रदेश सभामा सहकार्य गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुको उपस्थितिमा शनिबार बसेको बैठकले सो सहमति गरेको हो । सहमति अनुसार, प्रदेश सभाहरुमा सहकार्य गर्ने तथा संयुक्त सरकार गठन गर्ने, संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा (एमाले)ले गर्ने सहमति भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।

कोशी प्रदेश कांग्रेसको समर्थनमा एमालेको नेतृत्व छ । कोशी प्रदेश सबै भन्दा बढी राजनीतिक अस्थिरताको प्रदेशमा मानिन्छ । वर्तमान प्रदेश प्रमुख एमालेका हिक्मतकुमार कार्की नवौ हुन् । कोशीमा हाल ९३ सांसद छन् । एमालेका ४० कांग्रेसका २९ नेकपाका १७ राप्रपा ५ जसपा १ र संघीय समाजवादीका १ सांसद छन् । सरकार बनाउन ४७ जनाको समर्थन आवश्यक हुन्छ । एमाले र नेकपा दुई दलबाट सहजै सरकार बन्ने देखिन्छ।

एमालेको भागमा परेको प्रदेश बागमतिमा अहिले कांग्रेसका इन्द्बहादुर बानियाँको नेतृत्वको अल्पमतको सरकार छ । बागमतिमा हाल १०४ सांसद छन् । सरकार बनाउन ५३ सासंद आवश्यक हुन्छ । प्रदेशसभामा कांग्रेसका ३६ एमालेका २५ नेकपाका २६ राप्रपा १२ नेमकिपा ३ हाम्रो नेपाली पार्टीका २ सांसद छन् । एमाले र नेकपाबीचमात्रको सहमतिले मात्र बागमतिमा सरकार बन्न सक्तैद । सरकार बनाउन हाम्रो नेपाली पार्टी वा राप्रपाको सहयोग आवश्यक हुन्छ । एमाले र नेकपाको समीकरणलाई समर्थन गर्ने तर सरकार नजाने नीति राप्रपाको लिने संभावना छ ।

लुम्बिनीमा कांग्रेसको समर्थनमा एमालेको सत्ता कायम छ । एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेसका ६ जना मन्त्रि छन् । ८३ सदस्य कायम रहेको लुम्बिनीमा एमालेका २९ काग्रेसका २७ नेकपाका १३ राप्रपाका ४ जसपा, नेपालका ३ जनमतका ३ जनता समाजवादीका १ राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ सांसद छन् । सरकार बनाउन न्यूनतम ४२ सांसद आवश्यक हुन्छन् । लुम्बिनीमा एमालेका २९ र नेकपाका १३ जोडदा ४२ हुन्छ ।

सदुरपश्चिममा कांग्रेसको नेतृत्वको सरकार छ । एमालेको समर्थनमा बनेको कांग्रेसका कमलबहादुर शाहको सरकारबाट एमालेका मन्त्रीहरु बर्खास्त भइसकेका छन् ।सुदुरपश्चिम प्रदेशमा कांग्रेसका १८ नेकपाका २२ एमालेका ११ राप्रपा १ र स्वतन्त्र १ गरी कूल ५२ सांसद छन् । सरकार बनाउन २७ मत आवश्यक हुन्छ । एमाले नेकपा समीकरणबाट सुदुरपश्चिमा सरकार बन्नसक्छ ।

नेकपाको भागमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शनिबार राजीनामा दिएका छन् । कर्णालीमा नेकपा ११ र कांग्रेसका ५ जना सांसदहरुले कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने आवेदन सहित अश्विासको प्रस्ताव दर्ता गरेका थिए । आजै अविश्वासको प्रस्ताव माथि छलफल भएर मतदान हुने भनिएको थियो । मुख्यमन्त्रीले राजीनामा दिएपछि अब कर्णालीको राजनीतिमा नयाँ शिराबाट अगाडि बढ्ने देखिन्छ ।
कर्णालीमा कांग्रेसका १५ एमालेका १० नेकपाका १४ र स्वतन्त्र १ सांसद छन् गरी हाल कायम ४० सांसद छन् । सरकार बनाउन न्यूनतम २१ मत आवश्यक हुन्छ । एमाले र नेकपाको समीकरणबाट सहजै सरकार बन्नसक्दछ ।

मधेश र गण्डकी दुबैमा कांग्रेसको नेतृत्वको सरकार छ । मधेशमा एमाले, नेकपा दुबैको समर्थनमा ९ महिना अघि कांग्रेसका कृष्ण यादव मुख्यमन्त्री बनेका थिए । हाल कायम १०४ सदस्य रहेको मधेशसभामा जसपा र लोसपाको सैद्धान्तिक सहमति पछि जसपाका २६ एमालेका २४ कांग्रेसका २२, नेकपाका१५ जनमतका १२ संघीय समाजवादी र राप्रपाका एक एक सांसद छन् । मधेशमा एमाले र नेकपाकोमात्र सरकार बन्न सक्तैन । सरकार बन्न ५२ सांसदको मत आवश्यक हुन्छ । एमाले र नेकपाको जोडदा ३९ मात्र हुन्छ ।

यता गण्डकीमा पनि कांग्रेस नेतृत्वमा सरकार छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । गण्डकी ६० सदस्सीय सभामा कांग्रेसका २७ एमालेका २२ नेकपाका ७ राप्रपाका २ नेपाल समाजवादीका १ र स्वतन्त्र १ सांसद छन् । सरकार बनाउन ३१ सांसद आवश्यक हुन्छ ।एमाले र नेकपाका सांसद २९ मात्र हुन्छन् । यहाँ स्वतन्त्र सांसद मनाङ्गका दिपक मनाङ्गे निलम्बनको अवस्थामा छन् । एमाले नेकपा सरकार बनाउन राप्रपाको साथ समर्थन जुटाउनुपर्ने हुन्छ ।