तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन हुने, आबुँखैरेनीमा आजदेखि सुरु
संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको हो — शुक्र चुमान, अध्यक्ष, आँबुखैरनी गापा ।
डुम्रे (तनहुँ), २ वैशाख ।
सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न दिएको निर्देशनलाई तनहुँका दुई स्थानीय तहले स्वीकारेनन् । बन्दीपुर र आँबुखैरनी गाउँपालिकाले वैशाख केन्द्रीय निर्देशन अगावै पठनपाठन सुरु गर्ने भएका छन् ।
आबुँखैरेनी गाउँपालिकाले बुधबार अर्थात् आजदेखि र बन्दीपुर गाउँपालिकाले वैशाख ९ गतेदेखि पठनपाठन सुरु गर्ने भएका छन् । दुवै पालिकाले सोमबार सूचना प्रकाशित गरी पठनपाठन सुरु हुने मिति तोकिसकेका छन् ।
“सङ्घीय सरकारले वैशाख २१ देखि पठनपाठन सुरु गर्ने निर्णय गरे पनि नेपालको संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएबमोजिम स्थानीय आवश्यकतालाई मध्यनजर गरी यो निर्णग गरिएको हो । गाउँ कार्यपालिकाको चैत ३० गतेको निर्णयअनुसार गाउँपालिकाको शैक्षिक क्यालेन्डरबमोजिम अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान तथा पठनपाठन गर्न गराउन सूचना प्रकाशित गरिएको छ”, आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने ।
शक्र चुमान युवा जनप्रतिनिधि हुन् । स्थानीय निर्वाचनमा माओवादीबाट उमेदवार बनेर जनप्रतिनिधि बनेका उनी जुझारु स्वभावका छन् र स्थानीयतहहरुमा प्रभावशाली प्रतिनिधि भनेर कहलिएका पनि छन् ।
यसैगरी बन्दीपुर गाउँपालिकाले गाउँ शिक्षा समितिको निर्णयअनुसार आजदेखि ८ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने, शैक्षिक सत्र २०८३ को कार्ययोजना र वार्षिक कार्यतालिका निर्माण, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना र वैशाख ९ गतेबाट नियमित पठनपाठन सुरु गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ र पठनपाठन २१ गतेबाट मात्र सुरु गर्नलगायत निर्देशन दिएको छ । रासस
–––
