चुनाव हुन २७ दिन बाँकी छ । विस्तारै चुनावी गर्मि बढ्दै छ।अहिलेसम्मको राजनीतिक माहौलमा यतिमात्र भन्न सकिन्छ, कांग्रेस एकता र खरेलको साथसमर्थन प्रबलको मुख्य आधार हो, राप्रपाको सांगठनिक जगमा रवीन्द्रको प्रभाव उनको प्रमुख बल हो,सामाजिक संजालको हल्लिखल्लिनै रास्वपाको प्रमुख भर हो।
समाचार विश्लेषण

काठमाडौं, २३ माघ ।

दैनिकजसो राजनीतिक बहसमा सक्रिय हुने काठमाडौंका नयाँ बानेश्वर, पुरानो बानेश्वरका प्राज्ञ, पूर्वप्रशासकहरु,पत्रकार विभिन्न पेशाकर्मीहरुलाइ आसन्न चुनावको लेखाजोखा गरिरहेका हुन्छन् । उनीहरुका चिया गफको नियमित विषय भने एउटै हो, कसले जित्ला, काठमाडौं १ मा ? बाक्लो जनघनत्व, महानगरका सबैखाले पूर्वाधारहरुले सम्पन्न निर्वाचन क्षेत्र भएकोले विगतका चुनावको आलोकमा निकै प्रतिस्पर्धी मानिएको छ यसपटक । यहाँ हजारमा होइन,सयको आँकडामा जीतहारको फैसला हुने गरेकोले पनि चासो धेरै छ ।

अघिल्ला चारवटा निर्वाचनमा लगातार कांग्रेसका उमेदवार,प्रकाशमान सिंह निर्वाचित हुुँदै आएको क्षेत्र हो । यसपटक कांग्रेसकै बर्चस्व कायम हुने वा अन्य दलले बाजी मार्ने हुन् ? राजनीतिक माहौल अन्योलग्रस्त छ । प्रकाशमानको बिरासतमा कांग्रेसले प्रबल थापालाई उमेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले रवीन्द्र मिश्रलाई उमेदवार बनाएको छ । यो समेत मिश्रको तेश्रो प्रयास हो । लगातार तीन पटक प्रकाशमानको निकटतम प्रतिस्पर्धी बन्दै आएका उनी यसपटक विजयको माला लगाउने हुन् वा दोश्रो, तेश्रोमा सीमित हुने हुन् ? रास्वपाबाट रन्जु दर्शना उमेदवार छन् । दशक अघिदेखी वैकल्पिक राजनीतिमा नेतृत्वदायी भूमिकामा रहेकी रन्जु,साझा विवेकशील हुँदैं अहिले रास्वपाको केन्द्रीय नेता बनेकी छन्।

रवीन्द्रको पछिल्लो परिचय, हिंसा भड्काएर राजतन्त्र स्थापना गर्ने भन्ने देखिन्छ । गत वर्ष चैत १५ गते दुर्गा प्रसाई नेतृत्वको राजावादी अभियानमा नेतृत्वदायी भूमिकामा रहेका रवीन्द्र कोटेश्वर, बानेश्वर तोडफोड, आगजनी र हत्यामा संलग्नको अरोपमा सफाई पाएका छैनन्, कानूनी लडाई पनि लड्दै छन् ।

उमेदवारको लिस्ट लामो छ, सबैजसो राजनीतिक पार्टीले उपस्थिति जनाएका छन् । एमालेले मोहनराज रेग्मीलाई उमेदवार बनाएको छ । नेकपाबाट मेनुका भण्डारी मैदानमा छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट सबिन सिग्देछ र उज्यालो पार्टीबाट मंगललाल श्रेष्ठ पनि मैदानमा छन् । अहिलेसम्म कुनै पनि उमेदवार वा पार्टीको पक्षमा चुनावी लहर देखिएको छैन ? सबै मतदाता तान्ने राजनीतिक तानाबानामा व्यस्त देखिन्छन् । चुनावी माहौल, चोकचौबाटा र चिया पसलका गफहरु,केही मतदाता अनि बानेश्वरका केही प्रवुद्धसँगको कुराकानीका आधारमा अहिले यतिसम्म मात्र भन्न सकिन्छ मुख्य प्रतिस्पर्धा थापा, मिश्र र दर्शना बीच हुने संभावना छ ।
काठमाडौं एकमा अघिल्लो चुनावमा करिब ५१ हजार ७ सय मतदाता थिए । यसपटक करिब तीन हजार थपिएका छन् । महानगरको मध्य शहरका ५५ हजार मतदाताले यसपटक आफ्नो मन दिएर यि तीन मध्ये कसलाई माला पहि¥याउने हुन् ?

सिनामंगलबाट डिल्लिबजार हुँदै पुतली सडक जाने बाटोको बागमति भन्दा उत्तर, पुतली सडक भन्दा दक्षिण,पुतली सडकबाट सिंहदरबार, शहिद गेट, बागदरबार हुदैँ भोटेबहालसम्म फैलिएको दक्षिण र पश्चिम बागमति नदीबीचबीचको भूक्षेण काठमाडौं एक हो । यो भूगोलमा पुरानोबानेश्वर, नयाँ बानेश्वर, शंखमुल,मीनभवन, अनामनगर, मैतिदेवी,डिल्लिबजार सडक पश्मिम, विजुली बजार, बबरमहल, थापाथली त्रिपुरेश्वर हुँदै भोटेबहालसम्मको पूर्वपश्चिम लाम्चो आकारको काठमाडौं महानगरका १०,११,२९ र ३१ वडाहरु पर्दछन् ।
कांग्रेसका प्रबल, बानेश्वर थापा गाउँका रैथाने हुन्, विदेशमा अध्यययन गरेर फर्किएका, आफ्नै उद्यम, व्यवसायमा लागेका उनी जो कांग्रेस राजनीति भिड्दै छन् । मिश्र २०७४ को निर्वाचनमा साझाविवेकशीलबाट उम्मेदवार थिए । बैकल्पिक राजनीतिको प्रमुख धार बनेको साझा बिवेकशीलमा राजावादी राजनीति प्रवेश गराएपछि रवीन्द्र साझाबिवेकशीलबाट पलायन हुँदै राप्रपा पुगेका हुन् । २०७४ तराजु चिन्हमा साझाविवेशीलका उम्मेदवार रवीन्द्र २०७९ मा हलो चुनाव चिन्हका उम्मेदवार थिए । यस पटक पनि उनी राप्रपाकै उम्मेदवार छन्, हलो चिन्ह लिएर । रवीन्द्रको पछिल्लो परिचय, हिंसा भड्काएर राजतन्त्र स्थापना गर्ने भन्ने देखिन्छ । गत वर्ष चैत १५ गते दुर्गा प्रसाई नेतृत्वको राजावादी अभियानमा नेतृत्वदायी भूमिकामा रहेका रबिन्द्र कोटेश्वर, बानेश्वर तोडफोड, आगजनी र हत्यामा संलग्नको अरोपमा सफाई पाएका छैनन्, कानूनी लडाई पनि लड्दै छन् ।

रन्जु २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट उमेदवार भइन, त्यसबेला उनीसँग न विवेकशील, न साझा, नत साझाविवेकशील केही पनि थिएन । उनी स्वतन्त्र उमेदवार बनेकी थिइन । सेलरोटीको चाङ्ग चुनाव चिन्हमा परेको ६ सय मतमा रन्जुले चित्त बुझाउनुपर्यो ।

रवीन्द्र र रन्जु दर्शनाको मुलजरो एउटैं हो, वैकल्पिक राजनीतिको कुरा गर्दा । एक दशकको सानो अन्तरालमा वैकल्पिक राजनीतिको उदय, एकिकरण, विभाजन र पलायनका अभ्यास भए । रवीन्द्र साझाविवेकशीबाट राप्रपामा जमेका छन् भने रन्जु केही महिना अघिमात्र साझाविवेशीललाई रास्वपामा विलय गराएपछि रास्वपाकै घण्टी चुनाव चिन्ह लिएर मैदानमा छन् । २०७४को स्थानीयतह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले करिव ६५ हजार मत ल्याएर विजयी हुँदा, कांग्रेसका राजुराज जोशी करिव ४५ हजार मतका साथ दोश्रो स्थानमा थिए । रन्जुले रास्वपाको उमेदवार बनेर २३ हजार ४ सय ३९ मत ल्याएर शानदार पराजय भोगेकी थिइन ।
त्यसबेलाको विवेशशीलको ओज र आवाजबीच २१ वर्षिय रन्जुको आकर्षण थियो । तिनै रन्जु २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट उमेदवार भइन, त्यसबेला उनीसँग न विवेकशील, न साझा, नत साझाविवेकशील केही पनि थिएन । उनी स्वतन्त्र उमेदवार बनेकी थिइन । सेलरोटीको चाङ्ग चुनाव चिन्हमा परेको ६ सय मतमा रन्जुले चित्त बुझाउनुपर्यो ।

विगतको समीक्षा
विगतको निर्वाचन परिणाम समग्रमा कांग्रेसको पक्षमा छ । संघीय निर्वाचनमा प्रकाशमानले लगातार चारपटक बाजी मारेको यो क्षेत्रमा प्रदेशसभा र स्थानीयतहमा कांग्रेसकै बोलवाला देखिन्छ । प्रदेशका दुबै क्षेत्रमा काग्रेसका सुरजचन्द्र लामिछाने र दिपेन्द्र श्रेष्ठले राम्रो मतान्तर सहित जितेका छन् । बडा न. १० मा राजकुमार केसीको अध्यक्षताको पुरै सेट कांग्रेसको छ, त्यस्तै ११ वडामा हिराकाजी तण्डुकार अध्यक्षताको पुरै सेट कांग्रसको भने र २९ कुश ढकाल अध्यक्षतामा पुरै सेट काग्रेसको छ । वडा नं ३१ सबै भन्दा ठूलो वडा हो, यहाँ एमालेका सरोज ढकालको अध्यक्ष्यतामा एमाले र कांग्रेसका सदस्यहरु छन् ।
संघीय चुनावमा २०७४ मा प्रकाशमानले १० हजार ९ सय ३६ मत ल्याएर बिजयी भएका थिए । साझाविवेशीलका रवीन्द्र १० हजार १ सय १८ ल्याएर पराजित भए । त्यसबेला ८ सय ८ मतले पराजित भएका हुन् रवीन्द्र। एमाले र माओवादी एकिकृत थिए त्यसबेला ।माओवादीका अनिल शर्माले ५३३६ मत पाएका थिए ।
२०७९ को निर्वाचनमा भने प्रकाशमानले ७ हजार १ सय ४३ मत ल्याएर विजयी भए । रवीन्द्रले ७ हजार १८ अर्थात १२५ मतले  पराजित भए । यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार १ सय १५ मत पाएका थिए । एमालेका किरण पौडेलले ३ हजार ५ सय ३२ मत पाएका थिए । नेपाल सुशासन पार्टीका उमेदवार रमेश खरेलले ३ हजार १ सय २४ मत पाएका थिए ।
२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एकिकृत समाजवादीको चुनावी गठबन्धन थियो । गठनबन्धनकाबीच प्रकाशमानले बालबाल जितेका हुन् । कांग्रेसको कतिपय मत रास्वपा र खरेललाई गएको अनुमान गर्दछन्, बानेश्वरका कांग्रेसजन । पछिल्लो निर्वाचनमा राजनीतिक दलले समानुपातिकमा प्राप्त गरेको मत भने यस्तो छ :  काग्रेस ६ हजार ९ सय ९१, रास्वपा ५६१८, राप्रपा ५ हजार ७२, एमाले ३ हजार ७ सय ९३ , नेपाल सुशासन पार्टीको १ हजार ३ सय ६५, माओवादीको ९ सय ६५ र एकिकृत समाजवादीको ४३५ मत पाएका थिए ।
प्रत्यक्ष निर्वाचनमा ३ हजार बढी र समानुपातिकमा १ हजार ३ सय ६५ मत ल्याएका रमेश खरेल यसपटक खुलेर कांग्रेसका प्रबलको प्रचारमा छन् । बानेश्वर क्षेत्रमा काभ्रे पुर्खोली घर भएका खरेल, उप्रेती, मैनालीहरुको प्रभावशाही उपस्थिति छ, संख्यात्मक, सामाजिक, राजनीतिक  अर्थ राख्दछन् उनीहरुले । खरेलकोसाथ प्राप्त गर्नु प्रबलका लागि गहकिलो उपलब्धी मान्दछन् कांग्रेसजन ।

चुनावी जोडघटाउ

कांग्रेस भित्र विशेष गरेर प्रकाशमान पक्षधर केही नेताहरु खुलेर प्रबलको प्रचारमा लागि नसकेको अनुभव एकखाले कांग्रेसको छ । प्रकाशमान फ्याक्टरलाई मनाएर कांंग्रेस एक ढिक्का भएको सन्देश दिने प्रयासहरु भैरहेका छन् । क्षेत्र नं १ का कांग्रेसका चुनावी कमाण्डर गुणनिधी न्यौपाने भन्छन्, ‘पार्टीमा त्यस्ता समस्या छैनन्, सानातिना समस्या मिल्दै गएका छन्, मिल्छन् ।’
काग्रेस एक ढिक्का भएको अवस्थामा क्षेत्र नं १ कति मत जुट्न सक्ने हो ? रास्वपाकी उमेदवार रन्जु दर्शनाले अघिल्लो चुनावमा रास्वपाले प्राप्त गरेको मतमा कति थप्न सक्ने हुन् ? सामाजिक संचालमा रास्वपाको प्रक्षमा लहर आएको प्रचार गरेजस्तै मत प्राप्त हुने हो भने रन्जुले बाजी मार्ने सभावना नभएको होइन ? अहिलेकै अवस्थामा राप्रपाका रवीन्द्र अघिल्लो चुनावको तुलनामा अगाडि बढ्ने बलियो आधार देखिन्न । पटकपटक पराजितलाई मौका दिनुपर्दछ भन्ने केही सहानुभूतिको मत, राप्रपाको परम्परागत मतमा थपिन सक्छ ।

कांग्रेसमा अन्तर्घात एउटा महारोग हो, यस पटक यो रोगले कति असर गर्ने हो ? बद्लिएको कांग्रेसलाई कुन हदसम्म काठमाडौं एकले क्यास गर्नसक्छ ?नवयुवा पुस्ताको मत आफ्नो तर्फ आकर्षित गर्नेसक्ने अवस्थामा छ कांग्रेस यतिखेर, तर भरपर्दो विश्वास जगाउन सकिरहेका छैनन् उमेदवार र पार्टी संगठनले  ।

राप्रपा र एमालेबीच तालमेल हुनसक्ने चर्चा राजनीनिक वृतमा चल्न थालेका छ । झापा ५ मा एमालेका अध्यक्ष केपि ओली उमेदवार छन्, झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन उमेदवार छन् । अघिल्लो निर्वाचनमा ओलीले लिङ्गदेनलाई जिताएका हुन् भने ओलीको शानदार विजयका पछाडि लिङ्गदेनको योगदान थियो । काठमाडौं एकको हकमा एमाले कमजोर मानिन्छ । मुख्य प्रतिस्पर्धामा आउन पनि धौधौ परेको एमालेको मतको उपयोग हुनसक्छ ?
काठमाडौ एकमा एमालेलाई आफ्नै मत जोगाउन चुनौती छन् । पार्टीले कमजोर उमेदवार मैदानमा उतारेको चर्चा एमाले वृतमा घनिभूत छ । करिव ४ हजार मत एमालेसँग रहेको मान्न सकिन्छ, विगतका चुनावहरुको आधारमा । राप्रपासँग झापा ५ का उमेदवार ओलीको मूल्यमा कुनै सहमति भएको अवस्थामा रबिन्द्रलाई भरथेग हुनसक्छ । त्यस्तो अवस्थामा कति मत थप्न सक्छन् रबिन्द्रले ? के एमालेको सोलोढोलो सबै मत हलोमा जाला ? संशय छन् । उल्लेख्य मत रास्वपाले लिनसक्छ, थोरबहुत कांग्रेसको पोल्टामा आउँन पनि सक्छ । काठमाडौ एकको बागमति किनाराका सुकुम्बासी बस्तीहरुको ३ हजार बढी मत छ । अधिकांश मत पार्टीहरु भन्दा पनि उमेदवारहरु कसले लिन सक्ने भन्ने देखिदैं आएको छ ।
राष्ट्रियस्तरमै एमालेको मत उल्लेख्यमात्रामा रास्वपाले काट्ने राजनीतिक विश्लेषण भैरहेको छन् । कमजोर संगठन संरचनाको रास्वपाले पाउँने मुख्य मत भनेको अन्य दलका अवसर नपाएका पिडित,असन्तुष्ठ र विद्रोहीहरुको हो मत हो । यो निर्वाचनमा प्रमुख दलहरुबीच चुनावी गठबन्धन भएको छैन, अहिलेसम्म । सबै दलहरुले आआफ्नो मत समेट्न सकेको अवस्थाको असर रास्वपामा पर्ने छ ।
कांग्रेसमा अन्तर्घात एउटा महारोग हो, यस पटक यो रोगले कति असर गर्ने हो ? बद्लिएको कांग्रेसलाई कुन हदसम्म काठमाडौं एकले क्यास गर्नसक्छ ?नवयुवा पुस्ताको मत आफ्नो तर्फ आकर्षित गर्नेसक्ने अवस्थामा छ कांग्रेस यतिखेर, तर भरपर्दो विश्वास जगाउन सकिरहेका छैनन् उमेदवार र पार्टी संगठनले  । विगतका चुनावमा कांग्रेसको कती मत अन्य पार्टीमा गएको थियो ? त्यो कती पार्टीमै फर्कन्छ ? कती अन्य पार्टीमा जान्छ ? मसिनोसँग केलाउने फूर्सदमा छैनन् कांग्रेसजन।

कस्ता छन्, प्रमुख प्रतिस्पर्धी 

पाटीं संगठनसँगै उमेदारको जातपात,योग्यता,प्रभाव, सामाजिक, राजनीतिक परिचय, पारिवारिक नेटवर्क जस्ता कुराले प्रभाव पारिरहेको हुन्छ चुनावमा ।रवीन्द्र राप्रपाका उपाध्यक्ष हुन्, पत्रकारिता,सामाजिक, राजनीतिक फराकिलो दायरा छ उनको । राष्ट्रिय राजनीतिमा चर्चित पात्र हुन, वाकपटु छन् उनी । राजनीतिक दलहरुको आलोचनामा आगो ओकल्न सक्ने, बिरोधका स्वर उचाल्नसक्नेहरु राजनीतिक नेतृत्वमा हाबि भैरहेको कालखण्डमा छौ हामी । रन्जु खासमा राजनीतिक सेलिब्रिटी थिइन दशक अघिसम्म । सामाजिक संजालमा उनको पकड राम्रो छ । रन्जुको फेसबुकमा १ लाख ७६ हजार फ्यानफलोअर्स छन् । मिश्रको फेसबुकमा ९ लाख ११ हजारको विशाल फ्यानफलोअर्स छ । प्रबल पक्ष यस मामलामा कमजोर देखिन्छ, मात्र ४ हजार ५ सय फया्नफलोअर्स ।
राजनीतिक धरातल भने प्रबलको बलियो मानिन्छ । कांग्रेस प्रमुख राजनीतिक दलहरुबीच बलियो मानिन्छ काठमाडौंको संगठन संरचनामा । राप्रपाको संगठन सीमित छ, ठूलो आधार र आकार लिएर फैलिएको देखिन्न । यता रास्वपाको संगठनले स्पष्ट आकार लिइसकेकै देखिदैंन । थापा लोकल, टोले हुन् । उनको पारिवारिक नातागोता, मावली र सुसुराली खलकको लहरो लामो देखिन्छ, जुन क्षेत्र नं १ मा राजनीतिक, सामाजिक हिसावले प्रभावशाली मानिन्छ ।
चुनाव हुन चार साता बाँकी छ । विस्तारै चुनावी गर्मि बढ्दै छ । अहिलेसम्मको राजनीतिक माहौलमा यतिमात्र भन्न सकिन्छ, कांग्रेस एकता र खरेलको साथसमर्थन प्रबलको मुख्य आधार हो, राप्रपाको सांगठनिक जगमा संगठन रवीन्द्रको प्रभाव उनको प्रमुख बल हो, सामाजिक संजालको हल्लिखल्लिनै रास्वपाको प्रमुख भर हो ।