दाङको प्रमुख पहिचान बधिया भाले स्वादीला, महंगा
घोराही दाङ०, १३ माघ ।
घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन ।
“स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ”, जानकी भन्छिन “यो सीप सिकेपछि मैले आफैँ यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ ।” जानकीका अनुसार बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको हो ।
आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आएकी किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजनामा छन् । अहिले उनको फार्ममा अहिले ६० बढी भाले रहेका छन् । एउटा भालेलाई रु तीन हजार बढी पर्ने उनको भनाइ छ । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।
जानकीले यो व्यवसायबाट वार्षिक रूपमा रु चारदेखि छ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत हुँदै आएको बताइन । कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गरेर साना भाले चल्ला किनेर ल्याउँने र ति भाले चार महिनाका भएपछि बधिया गर्दछिन। खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनको अनुभव छ । सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ । दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएकी जानकीलाई श्रीमानको पनि सहयोग मिलेको छ।
बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ । “सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन ” जानकीले भनिन् ‘अघिपछिभन्दा चाडपर्वको समयमा बधिया भालेको झन् धेरै माग आउने गरेको छ ।’“साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ”, जानकी भन्छिन, “यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन बधिया भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।
जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।
